प्रधानमन्त्री ओली बेलायतमा

प्रधानमन्त्री ओली बेलायतमा


■ प्रकाश केसी, लण्डन

बेलायती प्रधानमन्त्री टेरेसा मेईको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने भ्रमणको लागि सोमबार (१० जुन) लण्डन आएका छन् । लण्डनको हिथ्रो विमानस्थलमा बेलायतका सशस्त्र सेनाका लागि राज्यमन्त्री मार्क लांकास्टर र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले प्रधानमन्त्री ओलीको स्वागत गरेका थिए ।

सोमबार बेलुका अक्सफोर्ड युनिभर्सिटीमा अक्सफोर्ड युनियनले आयोजना गरेको विशेष समारोहमा प्रम ओलीले सम्बोधन गरे । नेपालको सफल शान्ति प्रक्रिया, प्रजातन्त्र, वर्तमान राजनीतिक अवस्था, पार्टीगत एकतालगायत देशमा भइरहेको द्रुतगत रुपमा विकासका कार्यक्रमहरूको बारेमा आफ्नो मन्तव्यमा मुख्य बुँदाको रुपमा बोलेका थिए ।

विद्यार्थी, अध्यापक, शोधकर्ता, ज्ञातालगायत लगभग चारसय जनाको उक्त भेलामा प्रम ओलीले विभिन्न दर्शकका प्रश्नको उत्तर पनि दिएका थिए । प्रश्नहरू मुख्यतः नेपालको शान्तिप्रक्रिया र त्यसको वर्तमान अवस्था, राजनीतिक गठबन्धन र एकतालगायत भविष्यको कार्यगत शैली आदिका बारेमा सोधिएका प्रश्नको उत्तर प्रम ओलीले संक्षिप्तमा दिएका थिए ।

प्रम ओलीका साथमा यस तीन दिने भ्रमणमा श्रीमती राधिका शाक्य, विदेशमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रमका वैदेशिक सल्लाहकार डा. राजन भट्टराई, विदेश सचिव शंकरदास बैरागी अनि केही उच्चपदस्थ सरकारी अधिकारीहरूको संलग्नता रहेको छ ।

प्रम ओलीको आज (११ जुन) बेलायती प्रम मेईसँग भेटवार्ता हुने भएको छ । प्रमले नेपालको कुन पक्षको बारेमा विशेष गरेर बोल्नेछन् भन्ने यहाँ खासगरी नेपाली समाजमा चर्चाको विषय भएको छ । दुई सय वर्षसम्मको विशेष गुर्खा सम्वन्धको चर्चा चलेको अवस्थामा हाल केही उही गुर्खाका केही पक्षले असमान आयले गर्दा गुर्खा भर्ती नै बन्द गर्ने आन्दोलन गरिरहेको र अर्को पक्षले समान आयको लागि अद्यावधि आन्दोलनरत छन्, सो पक्षमा चर्चा चल्छ कि चल्दैन, प्रम ओलीले नेपालको सबैभन्दा बलियो सरकारको नेतृत्व गरिरहेको क्रममा आफूले गरेका विभिन्न वाचाहरुको पूरा गर्नेतर्फ बेलायतसँग सहयोग माग्छन् कि माग्दैनन् र मुख्यतः बेलायती प्रम मेई जो कामचलाउ प्रम हुन्, उनीसँगको आधिकारिक भेटको खास महत्व र त्यसको फलदायी रूप कस्तो रहला भन्ने आम नेपालीमा यतिखेर चर्चा चलेको छ ।