‘दुई तिहाई मतको घमण्डले संविधान खाने आशङ्का !’

‘दुई तिहाई मतको घमण्डले संविधान खाने आशङ्का !’


  • रेजिना गौतम

नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान झापाका केन्द्रीय प्रतिनिधि नारायण शर्मा पौडेलले प्रधानमन्त्रीले जनमतको अवमूल्यन गरेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा सम्पन्न पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले वाइडबडी खरिद, बालुवाटारको जग्गा प्रकरणमा संलग्नलाई संरक्षण गरेर जनमतको दुरुपयोग गरेको आरोप लगाउनुभयो ।

‘प्रधानमन्त्रीको काम जनताको सम्पतिको संरक्षण र पूँजीको व्यवस्थापन गर्ने हो’, पौडेलले भन्नुभयो– ‘उक्त दायित्व बिर्सेर भ्रष्टाचारमा संलग्नलाई संरक्षण गर्ने काम प्रधानमन्त्रीबाटै भएको छ । यसमा कमिसनको ठूलो गाँठो छ ।’

मेलम्ची खानेपानी आयोजना, बुढी गण्डकी आयोजना अलमलमा पर्नुसमेत कमिसनकै चक्कर हुन सक्ने पौडेलको भनाई छ ।

‘ठट्टैठट्टाले राज्य चल्दैन’– प्रधानमन्त्रीले प्रत्येक विषयमा दिने गरेको ठट्ट्यौलो अभिव्यक्तिप्रति इङ्गित गर्दै पौडेलले भन्नुभयो– ‘दुई तिहाइ मतको घमण्डले संविधान नै खर्लप्प खाला कि भन्ने आशंका जन्मिएको छ ।’ बहुदलीय व्यवस्था कम्युनिष्टको चरित्र नभएको बताउँदै पौडेलले व्यालेटबाट कम्युनिस्टलाई सत्ता प्राप्ति हुनु विश्वकै नयाँ इतिहासको उदाहरण भएको टिप्पणी गर्नुभयो ।

सरकारका गलत कामको भण्डाफोर गर्दै प्रतिपक्षको भूमिका सक्रिय पार्न कांगं्रेसले देशभर पहिलो चरणको जागरण अभियान समाप्त गरेको जानकारी दिँदै पौडेलले यसले कार्यकर्तामा नयाँ उर्जा थपेको दाबी गर्नुभयो । कांग्रेसभित्र पदीय इच्छाशक्तिले गुटगत राजनीति देखिएपनि १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा पदीय आकांक्षा राख्नु ठूलो विषय नभएको र पार्टीभित्र नीतिगत असहमति समेत नरहेको दाबी गर्दै यसले पार्टी संगठनलाई खासै असर नपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, पूर्व जिल्ला सदस्य पदम प्रसाई लगायतको उपस्थिति रहेको कार्यक्रम प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षता र दिपेश पनेरुको सञ्चालनमा सम्पन्न भएको थियो ।

विर्तामोड २६ जेठ/नेपाली कांग्रेस विर्तामोड नगरसमिति अन्तरगत वडा नं.–६ को सुन्दरनगर टोल समिति गठन गरिएको छ ।

हरि दियालीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा दिपकराज आङ्देम्वे, सचिवमा भवानी शिवाकोटी, सहसचिवमा तेजबहादुर अधिकारी र कोषाध्यक्षमा विमला नेम्वाङ चयन हुनु भएको छ ।

समितिको सदस्यहरुमा छविलाल खरेल, कुमार योङहाङ, विष्णु ठटाल, तारा खरेल, तारा थापा, रेणु गुरुङ, पहलमान अधिकारी र लक्ष्मी चौधरी रहनु भएको छ । सोही भेलाले ज्ञानेन्द्र भेट्वालको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा दधिराम नेपाल, गिता गुरुङ, राजकुमार जैसवाल, धनबहादुर विश्वकर्मा र मनु विश्वकर्मा रहनु भएको छ ।

वडा नं.–६ का सभापति कमल दाहालको अध्यक्षता र नगरसभापति भोजराज सिटौलाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा महाधिवेशन प्रतिनिधि कृष्ण हुमागाँई, महाधिवेशन प्रतिनिधि कृष्ण हुमागाइँ, वडाध्यक्ष सूर्य कन्दङ््वा, हरि दियाली लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन दिपक दिनेश दाहालले गर्नुभएको थियो ।