ज्ञानेन्द्र शाहीको रिहाई, यातना दिने प्रहरीमाथि कारवाहीको माग

ज्ञानेन्द्र शाहीको रिहाई, यातना दिने प्रहरीमाथि कारवाहीको माग


साइबर अपराधको मुद्दा लगाएर १५ जेठमा प्रहरी नियन्त्रणमा लिइएको सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई अदालतले रिहाईको आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरेर चरम यातना दिएको र निन्दनीय शैलीको ब्यवहारका साथ सुर्खेतबाट काठमाडौं ल्याइएको सन्दर्भपछि नागरिक तप्का आक्रोशित भएको थियो । भ्रष्टाचारविरुद्धको अभियन्ताका रुपमा चिनिएका ज्ञानेन्द्रको रिहाईको मागसहित नागरिकहरु दिनहुँ ट्रमा सेन्टरमा भेला हुँदै आएका थिए । सडकमा पनि उनको रिहाईको माग उठाएर सभा जुलुस शुरु भएको थियो ।

आज (शुक्रबार) फैसला सुनाउँदै न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई रिहा गर्न आदेश दिएको हो ।

नेपालका लागि नेपाली अभियानका अभियन्ता शाहीलाई अब साइबर क्राइम वा अभद्र व्यवहारमा सरकारले मुद्दा चलाउन नपाउने भएको सो अभियानका एक अभियन्ता एवम् शाहीमाथिको मुद्धामा कानुन सहयोगीको भूमिका निर्वाह गरेका डा. सुरेन्द्र भण्डारीले बताएका छन् । उनका अनुसार अब ज्ञानेन्द्र शाहीलगायत सुर्खेतमा नौ जनालाई गिरफ्तार गरी यातना दिने प्रहरी अधिकृतहरुमाथि कारवाहीका लागि नागरिक ऐक्यबद्धताको निम्ति जेठ २० गते माइतीघर मण्डलामा सभा आयोजना गरिने छ ।