ॐ नमः मार्क्सवादाय स्वाहा !

ॐ नमः मार्क्सवादाय स्वाहा !


  • प्रा. श्याम लम्साल

पृष्ठभूमि :

यम एवम् नियमको अर्थ बुझेर त्यसलाई पालन गर्नु नै धर्म होहिन्दू ग्रन्थहरू
यदि क्राइस्ट यहाँ हुन्थे भने उनी कदापि क्रिस्चियन बन्ने थिएनन् मार्क ट्वेन
जहाँबाट ज्ञानको अन्त हुन्छ त्यहीँबाट धर्मको शुरुवात हुन्छबेन्जामिन डिजराइली
ईश्वरको कुनै धर्म (सम्प्रदाय) छैनमहात्मा गान्धी
धर्म दबिएका मानिसलाई चुप लगाउने सबैभन्दा उत्तम उपाय हो नेपोलियन बोनापार्ट
स्वतन्त्र मानिसले त्यति सजिलै खराबी काम गर्दैनन् जति धर्मले मागेको खण्डमा धार्मिकहरूले खुसी साथ गर्दछन्ब्लेज पास्कल
जब म राम्रो गर्छु, म राम्रो अनुभूत गर्छु । जब म नराम्रो गर्छु, नराम्रो अनुभूत गर्छु । मेरो निम्ति यही धर्म होअब्राहम लिङ्कन
मेरो धर्म एकदमै सरल छ, त्यो हो दयालु हुनुदलाई लामा
हामीसँग एक–अर्काप्रति घृणा उब्जाउने प्रशस्त धर्महरू छन्, तर एक–अर्काप्रति प्रेम गर्न सिकाउने एउटै छैनजोनाथन स्विफ्ट
धर्म जनताका निम्ति अफिम हो कार्लमार्क्स र लेनिन
धर्म भनेको अफिम र विष होमाओ त्से तुङ

सन्दर्भ :

मेरा एकजना नातेदार दाजु ‘अखिल’को केन्द्रीय नेता रहँदा तत्कालीन पञ्चायती शासकद्वारा करिब दुई वर्ष नख्खु जेलमा थुनिएर घर फर्किएको करिब ३५ वर्षअघिको दशैँमा मेरो बुबाले दिएको आशीर्वाद म अझै सम्झिन्छु । ‘नानी घरबार राम्रो गर्नु, यो धर्म नमान्ने पार्टीमा नलाग्नू ।’ मचाहिँ दाइलाई बुबाले किन त्यसो भनेको होला भनेर अचम्ममा परेँ । मेरो आठवर्षे बालमनले जिज्ञासा राखिरह्यो, र बिस्तारै थाहा भयो कि केही स्थानीय युवाहरूले आफूलाई कम्युनिस्ट भएको प्रमाणित गर्न गाउँका देवीदेउवाका स्थानमा सौचसमेत गरेका रहेछन् ।

‘धर्म अफिम हो, यसले शोषक र सामन्तीलाई गरिबमाथि राज गर्न मद्दत गर्छ, भगवान् हुँदैनन्, सर्वहारा र गरिबको राज ल्याउन धर्मको नशा समाप्त गर्नुपर्छ’ भन्दै देवस्थलमा शौच गर्दै हिँड्थे रे केही जोसिला भोजपुरे क्रान्तिकारी युवाहरू । तिनैमध्येका एक, राजद्रोही, घरभेदी र धर्मभेदी फरार अभियुक्त भनेर पञ्चायती प्रशासनले भन्ने गरेको हामीले सुनिआएका का. प्रदीप नेपाल थिए । देवस्थलमा सौच गर्नेमा उनी थिए–थिएनन्, म भन्न सक्दिनँ ।

समयचक्र घुम्ने क्रममा नेपालको राजनीति पनि अगाडि बढ्दै गयो । मेरो परिवार काङ्ग्रेस राजनीतिमा लागेको अर्थमा म पनि नेविसङ्घतिर लागेँ, पारिवारिक वातावरण र कम्युनिस्टले धर्म मान्दैनन् भन्नेबाहेक कम्युनिस्ट नहुनुपर्ने र काङ्ग्रेस हुनुपर्ने केही कारण मसँग थिएन ! मेरो राजनीतिक चेतना बढ्दै जाँदा ०४६ सालको जनआन्दोलन आसपास ‘काङ्ग्रेसमा कोइरालाहरूले पनि बाआमाको १३ दिन किरिया गर्दैनन् रे, अर्को जातमा पनि बिहे गर्छन् रे’ भन्नेचाहिँ सुन्ने गरेको थिएँ । राजाका हरेक सन्देशहरूमा ‘श्री पशुपतिनाथले सबैको कल्याण गरून्’ भन्ने त कण्ठ नै भइसकेको थियो ।

०४६ सालको आन्दोलन सम्पन्न भयो, धर्मको त्यति चर्चा भएन, ‘प्रजातन्त्र’ भन्ने शब्द कण्ठ गर्नेतिर लागियो । पञ्चायतकालमा मेरो परिवार बसाइँ सरेको सुनसरी जिल्लाको मेरो घरमा पटकपटक आउनुभएका विजय गच्छदार सञ्चार राज्यमन्त्री भएपछि ‘प्रजातन्त्र’ भनेको ‘हिजो भागी–भागी हिँड्नेहरूले मन्त्री बन्न पाउने, हिजो मन्त्री भएका कमल थापाहरू लुक्नुपर्ने व्यवस्था रहेछ । साँच्चिकै हाम्रो पहाड गाउँका मन्दिरहरूमा सौच गर्दै हिँड्ने कम्युनिस्ट दाजुहरूले भनेकोजस्तो गरिबको शासन पो आउने रहेछ’ जस्तो लाग्यो । आफू काङ्ग्रेसको भिडमा हिँडे पनि भाषण गर्न सधैँ अनकनाउने काङ्ग्रेसी नेताभन्दा भाका मिलाएर स्वरनली नै फुट्ने गरी राजा र सामन्तीलाई गाली गर्ने कम्युनिस्ट नेताहरूको भाषणको म फ्यान थिएँ । ०४६ सालको आन्दोलन ताकाको पद्मरत्न तुलाधरको भाषणको टेप रेकर्ड र आन्दोलन पछाडि मदन भण्डारीको भाषण मैले आफ्नो पढाइ छोडेर पनि सुन्ने गरेको अझै सम्झना आउँछ ।

समयक्रममा भोजपुरे दाजु प्रदीप नेपाल पनि मन्त्री बन्नुभयो, अन्य कैयौँ कामरेडहरू मन्त्री बन्नुभयो, मन्त्री पदमा रहँदा उहाँहरूले धर्मका बारेमा बोलेको त्यति सुनिएन, भ्याएसम्म फूलको मालाको स्वागत खाएको र रातो टीका लगाएको देखिन्थ्यो ! राष्ट्रप्रमुख राजाका मन्दिर सवारीलाई उहाँहरूले कतै आलोचना गरेको सुनिएन बरु साथ दिएकै देखियो । कामरेड र काङ्ग्रेसी लगभग उस्तैउस्तै रहेछन्, भाषणको मिठास मात्र फरक रहेछ जस्तो लाग्न थालिसकेको थियो ।

एकातिर मन्दिरमा सौच गर्ने एकथरी कामरेड दाजुहरू ०४६ सालपछि रातो टीका थाप्न र मन्दिरसमेत जान थाल्नुभएको थियो भने २०५२ सालमा पीएचडी उपाधिसमेत लिएका अर्काथरी विद्वान् कामरेड दाजुको समूहले हातमा बन्दुक नै लिएर धमाधम संस्कृत पाठशालाहरू बन्द गराउन थाल्यो । भोजपुरको दिङ्लास्थित आवाल ब्रह्मचारी बालागुरु षडानन्दको गाउँमा जन्मेका मजस्ता र सनातन धर्म संस्कृति मान्ने करोडौँ नेपालीको मनमा यी पीएचडी कामरेड दाजुप्रति चिसो पसे पनि सामन्तीको अन्त्य गर्ने र गरिब तथा सर्वहाराको शासन ल्याउने कुरा संस्कृत पाठशालाभन्दा सबैलाई महत्वपूर्ण थियो ।

देशभर गोला–बारुद पड्किँदै गयो, सरकारी आँकडामा १४ हजारको ज्यान गयो, गिरिजाप्रसाद कोइरालाको राजाप्रतिको रिसले कामरेडहरूलाई ऊर्जा थप्यो, सुनेअनुरूप देशमा गणतन्त्र आयो ! साथमा धर्मनिरपेक्षता र सङ्घीयता पनि फुत्त निस्कियो ! योचाहिँ सिद्धान्तले आयो कि केको जोडले आयो तीन–चारजना देखिबाहेक यो देशमा कसैले बुझेजस्तो लाग्दैन । काङ्ग्रेसमा लाग्दादेखि ‘धार्मिक स्वतन्त्रता’ र ‘प्रजातन्त्र’ कण्ठ गरेका मजस्ता सर्वसाधारणले ‘धर्मनिरपेक्षता’ र ‘लोकतन्त्र’ पर्यायवाची शब्द हुन् कि अलग हुन् भनेर आजका मितिसम्म बुझ्न सकेको छैन । त्यसै पनि काङ्ग्रेस नपढ्ने जात हो, उहीले गिरिजाप्रसादले र अहिले शेर बहादुरले जे भन्छन् त्यही नै काङ्ग्रेसको सिद्धान्त हो ।

बालुवाटारमा सार्वजनिक हुँदा खाकी रङका सर्ट लगाएका का. बाबुराम र क्रान्तिनायक मानिएका का. प्रचण्ड सार्वजनिक हुँदाको रोमाञ्चक क्षणले १४ हजार नेपालीको मृत्यु र खण्डहर भएका संस्कृत पाठशालाको दुर्दशा सम्झिने अवस्थै रहेन । देश अब कायापलट हुनेछ भनेर मजस्ता आमनेपालीले कैयौँ महिना खुसियालीमै बिताए ।

राजनीतिक चक्र रोकिने कुरै भएन ! गाउँ कब्जा गरेर शहर पस्नुभएका लोकप्रिय कामरेडहरूको स्वाभाविक गन्तव्य भनेको सत्ता थियो । नेपाली जनताले दिल खोलेर भोट हाले, एकादेशको कथाका नायक लाग्ने कामरेडहरू धमाधम मन्त्रीको गाडीमा हिँड्न थाल्नुभयो । खुला भएको पहिलो वर्ष का. प्रचण्ड र का. बाबुरामले दशैँको टीका नथापेको, दौरा–सुरुवाल सामन्तीहरूको प्रतीक भएकोले बहिष्कार गरेको र सर्ट, पाइन्ट र टोपीचाहिँ लगाएकोजस्ता समाचार सुनेर म जस्ता आमनेपालीले ‘निरन्तरतामा क्रमभङ्गता’ भन्ने नयाँ राजनीतिक शब्दावली कण्ठ गऱ्यौँ । सामाजिक, सांस्कृतिक र धार्मिक विद्रोह गर्ने कामरेडहरूको ‘अग्रगामी छलाङ’को पर्खाइमा आमनेपाली जनता धैर्यधारण गरिरहे ।

नेपाली छापाहरूमा केही समाचार आउन थाले, ‘डा. बाबुराम भट्टराईले सुटुक्क आफ्नो बुबालाई मनकामना दर्शन गराउनुभयो र आफ्नो बुबाको ८४ पूजासमेत गर्नुभयो’, ‘डा. भट्टाराईले चाहिँ यस वर्ष दशैँको टीका थाप्नुभयो, तर का. प्रचण्डले यसपटक पनि थाप्नुभएन’, ‘केही कामरेडहरूले आफ्नै परिवारसँग दशैँको समय बिताउनुभयो, तर केही सांस्कृतिक जागरणमा’ आदिआदि । यस्ता समाचारहरूलाई मजस्ताले ‘जनयुद्धको निरन्तरतामा क्रमभङ्गता’ भनेको यही होला भन्ने बुझे । हुँदाहुँदा ‘ग्रहदशा कटाउन का. प्रचण्डले कृष्ण दासजी महाराजको सुझावअनुरूप सुटुक्क ‘भैँसी पूजा’ गरेको’, ‘साइत हेरेर प्रधानमन्त्रीको उम्मेदवारी दिएको’, ‘प्रधानमन्त्री भएपछि साइत हेरेरै बालुवाटार सरेको’जस्ता तथ्यहरू पनि जनतासमक्ष सार्वजनिक भए ।

वर्तमान सन्दर्भसम्म झापा विद्रोहको र १२ वर्षे जनयुद्धको नेपाली माटोअनुरूपको मार्क्सवादी, धार्मिक, सांस्कृतिक अवतरण हेर्ने हो भने श्री १०८ कृष्ण दासजी महाराज र त्यत्तिकै सङ्ख्यामा श्री आर्जन गर्नुभएका बालसन्त महाराजले चर्चाको शिखरमा पुऱ्याउनुभएको प्राचीन हरिद्वार चताराधामभन्दा केही पर बराहक्षेत्र मन्दिरको छेउमा मिलन भएको सप्तकोसी र कोकाहा नदीको मिलनजस्तो ठ्याक्कै देखिन्छ । चताराधाममा हालै सम्पन्न भएको अर्धमहाकुम्भका सबै स्वागत द्वारमा एकातर्फ बालसन्त महाराजजी र अर्कोतर्फ सम्माननीय प्रधानमन्त्रीको तस्बिर राखिनु र चताराधाममा हुने हरेक क्रियाकलापमा सम्माननीय राष्ट्रपतीदेखि प्रधानमन्त्री हुँदै सबै निकाय पुगेर दर्शन गर्नुका साथै सङ्घ र प्रदेश सरकारले दिल खोलेर साधन–स्रोतसमेत खर्च गर्नुले समाजवादी सत्तामा समेत स्वामीजीहरूको ठूलो महत्व देखिन्छ ।

उहिले पञ्चायती नेताहरू पाइलट बाबा आश्रम जान्थे, उनी विदेशी थिए, साम्राज्यवादी देशका बाबाभन्दा आफ्नै देशका बाबा ठीक भन्नेमा सबै नेपाली असहमत हुनुपर्ने कारण नै छैन । अझ केही बिमारी बोकेका, तर पढ्न–लेख्न जान्ने र सामान्य ज्ञानको असामान्य जानकारी भएका आदित्य दाहाललाई भगवानको अवतारकै रूपमा आधुनिक नेपाली मार्क्सवादले अङ्गीकार गरिसकेको दृश्य केही समयअघि मात्र आमनेपालीले देख्न पाए । पवित्र ‘होली वाइन’ले वर्तमान नेपाली सन्दर्भको मार्क्सवादलाई ‘अन्तर्राष्ट्रिय कूटनीति’को छलाङ होला भन्ने मजस्ता सर्वसाधारणको अनुमान छ । अबको समाजवादी राज्यसत्तामा सविता माता, कृष्णदास महाराजजी, बाल सन्त महाराजजी, ख्यातिप्राप्त ज्योतिषहरू प्रमुख सल्लाहकार रहने निश्चित देखिँदै छ ।

गत शनिबार मैले ८५ वर्ष पुग्नुभएका मेरा बुबालाई चताराधाममा अर्धमहाकुम्भ दर्शन गर्न लाग्दा स्वागतद्वारमा बाल सन्त महाराजजी सँगै झापा विद्रोहका नायक तथा सम्माननीय प्रधानमन्त्रीको फोटो देखेर मेरो बुबा भने निक्कै खुसी हुनुभयो । उहाँको अनुहार हेरेर म ३५ वर्ष अगाडि उनै दाजुलाई बुबाले दिएको आशीर्वाद सम्झिँदै थिएँ ।

यसै सन्दर्भमा हाम्रा महान् काम्रेडहरूलाई श्री कृष्णकै रूपमा आदर गर्दै श्रीमत भागवत् गीताको यो श्लोक स्मरण गर्न मन लाग्यो ।

यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारत,
अभ्युथानम् अधर्मस्य तदात्मानं सृजाम्यहम् ।

महान् कामरेड भन्नुहुन्छ– हे नेपाली जनता ! जबजब धर्मको नास र अधर्मको वृद्धि हुन्छ, तबतब म साकार रूप लिएर मानव दुनियाँमा उपस्थित हुन्छु ।

परित्राणाय साधुनाम विनाशाय चः दुष्कृताम, धर्मं संस्थापनार्थाय सम्भावामी युगेयुगे ।

साधुहरूको उद्धार गर्नको निमित्त, पाप गर्नेहरूको विनाश गर्नको निमित्त तथा राम्रोसँग धर्मलाई स्थापित गर्न म युग–युगमा प्रकट हुन्छु ।

तर, हामीजस्ता सर्वसाधारणलाई धार्मिक पथमा डोहोऱ्याउन र आफ्नो ग्रहदशाको उपचार गर्दै सत्तासीन हुन तल्लीन महान् कामरेडहरूको समाजवादी यात्रा निम्नानुसारको आशीर्वादमा अन्त्य नहोस् भनी करोडौँ नेपाली चिन्तित देखिन्छन ।

घटंभिन्द्यात् पटं भिन्द्यात्, कुर्यात् गर्दभरोहणम्,
येन केन प्रकारेण प्रख्यातः पुरुषो भवः

पँधेरामा बसेर पँधेर्नीहरूको घैँटा फेरेर होस् गाग्री कुच्याएर होस्, गधा चढी दुनियाँलाई रमाइला तमासा देखाउने भएर किन नहोस् सबैले चिन्ने हुनू ! ॐ नमः मार्क्सवादाय स्वाहा !

प्रा. लम्साल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पूर्वरजिस्ट्रार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला !
Email: [email protected]