नेपालबाट कम्युनिष्ट चाँडै सकिने दाबी

नेपालबाट कम्युनिष्ट चाँडै सकिने दाबी


नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपालमा कम्युनिष्ट सरकारले ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन् । देशमा कम्युनिष्ट सरकार सत्ता रहँदासम्म समृद्धि नआउने र सरकारले समृद्धिको बाटो नै नलिएको उनको धारणा छ ।

नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नम्बर ५ द्वारा बुधबार आयोजित जागरण अभियानलाई सम्बोधन गर्दै डा. महतले निर्वाचनका समयमा कम्युनिष्टका झूठा आश्वासन र भाषणले मात्र उनीहरू सत्तामा आएका र उनीहरूबारे अब जनताले सबै कुरा थाहा पाइसकेका बताए ।

उनले भने– ‘अहिले संसारमा कतै कम्युनिष्ट सत्ता छैन, भारतमा पनि केही थिए हालैको निर्वाचनमा सकिए र अब नेपालका कम्युनिष्टको प्रोपोगाण्डाका बारेमा पनि नेपाली जनता सचेत भइसकेका छन्, यस्तै अधिनायकवादी शासन शैली हो भने नेपालबाट पनि चाँडै सकिन्छन् ।

कम्युनिष्टको काम भनेकै पूरा नहुने सपना बाँड्नु हो, जुन अहिलेको कम्युनिष्ट सत्ताले गरेको छ, त्यसैले यो सरकारबाट देशमा समृद्धि आउँदैन भन्नेमा काङ्ग्रेस मात्र होइन, सिंगो देश नै जानकार भइसकेको छ– डा.महतले भने ।

सहमहामन्त्री डा.महतले कम्युनिष्टहरुको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै जनतालाई समृद्धिको सपना बाँडेर सरकारले देशमा भ्रष्टाचारका काण्डैकाण्ड मच्चाएको आरोप लगाए ।

उनको भनाई थियो– अहिले आएर स्पष्ट भएको छ कि चुनाव ताकाको उनीहरुको राष्ट्रियताको नारा सबै सत्तामा जाने भर्याङ मात्र रहेछ, त्यो सबै भोट बटुल्ने तरिका मात्र रहेछ र आज एकपछि अर्काेगरी बाहिर आएको छ ।

सहमहामन्त्री डा.महतले नेपाली काङ्ग्रेसको जागरण अभियानले अब यिनै कुरा गाउँ गाउँमा पुगेर जनतालाई बुझाउनुपर्छ, काँग्रेसमा अब सशक्त रुपमा जागरण ल्याउनुपर्छ भने । यो सरकारबाट वर्षदिनमै जनता आजित भइसकेकोले अब देशमा काँग्रेस सशक्त हुुनुको विकल्प छैन– उनको भनाई थियो ।

नेपाली काङ्ग्रेसका हरेक कार्यकर्ताहरु जबसम्म यो सरकार सत्तामा रहन्छ, त्यतिन्जेल देशमा समृद्धि र स्वतन्त्रता सम्भव छैन भन्ने निष्कर्षमा पुगिसकेको तर देशैभरि पुगेर जनतालाई बुझाउन नसकेको उनको भनाई थियो । उनले ले यो सन्देश लिएर गाउँ गाउँसम्म पुग्न सबै कार्यकर्तालाई आग्रह पनि गरे ।

उनले काङ्ग्रेसका कार्यकर्ताहरुलाई एकताबद्ध भएर लाग्न पनि आग्रह गरे । नेपाली काँग्रेसका साथीहरुले यो सरकारको सर्वसत्तावादविरुद्ध लाग्ने बेला भएको छ उनले भने । हामी आफै बलियो छौँ तर पनि काङ्ग्रेसले काङ्ग्रेसकै विरोध गर्ने र विपक्षमा लाग्ने प्रवृत्तिका कारण हामीले मार खाएका छौँ, यो कुरालाई अब बेलैमा मनन् गरौँ, जागरणमा लागौँ र काङ्ग्रेसलाई नयाँ उर्जा दिउँ– उनको भनाई थियो ।

उनले काङ्ग्रेस आफै एक भएर अघि बढ्न सकेमा आगामी निर्वाचनमा बहुमत ल्याउन काङ्ग्रेसलाई कसैले पनि रोक्न नसक्ने जिकीर गरे । कम्युनिष्टका फोस्रा नारा र आश्वासन जनताले भोगिसकेका, देखिसकेका छन्, त्यसैले अब काङ्ग्रेसले एक भएर देशलाई नेतृत्व दिन अघि बढ्नुपर्छ, उनले भने ।