अष्ट्रियन इतिहासमा पहिलो पटक महिला चान्सलर

प्रथम महिला चान्सलरको काम दैनिक कार्य सञ्चालन गर्ने तथा तोकिएको मितिमा चुनाव गराउने





  • सागर सुवेदी (Sagar Subedi/Austria)

पछिल्लो समय युरोपियन मुलुक अष्ट्रियाको राजनीति मौसमजस्तै बदलिइरहेको छ । सत्तासाझेदार फ्रिडम पार्टीका प्रमुख तथा उपचान्सलर हेनिज क्रिस्टियान स्ट्राखेको २०१७ को संसदीय चुनावअगाडि गोप्य तवरले लिइएको भिडियो र उक्त भिडियोमा बोलिएका आपत्तिजनक शब्दका कारण उप-चान्सलर तथा फ्रिडम पार्टी भियना प्रमुखले नैताकताको आधारमा राजीनामा दिएसँगै राजनीतिक ज्वारभाटाको रूपमा अष्ट्रियन राजनीति तरङ्गित भइरहेको छ ।

भएको के थियो ?

अष्ट्रियन संसदीय निर्वाचन २०१७ भन्दा केहीअघि फ्रिडम पार्टीका प्रमुख हेनिज क्रिस्टियन स्ट्राखे तथा उनकै पार्टीका भियना–प्रमुख छुट्टि मनाउन स्पेनको इबिजा भन्ने ठाउँमा गएका रहेछन् । भिडियोमा देखिएअनुसार उक्त दिनको सम्वादमा कसरी मेडिया र पैसा प्रयोग गरेर चुनाव जित्न सकिन्छ अनि कस्तो कस्तो ठाउँमा लगानी गर्दा जनतालाई भ्रमित पारेर जनमत आफूतर्फ आकर्षित पार्न सकिन्छ भन्ने छलफल भएको देखिन्छ ।

(नवनियुक्त प्रथम महिला अष्ट्रियन चान्सलर सथामा अष्ट्रियान राष्ट्रपति)

फ्रिडम पार्टी अलिक राष्ट्रवादी पार्टी भनि उनीहरू आफै प्रचार पनि गरिरहन्छन् तर यो भिडियोको छलफलमा प्रस्ट देखियो कि कुनै रसियन धनाढ्य महिलाबाट रकम लिएर योजनाअनुरुप नै जनतालाई मेडियाको प्रयोग गरी पार्टीको हितमा प्रयोग गर्न सकिने बार–बार दोहोऱ्याउँछन् । यस्तै, अष्ट्रियन पिपल्स पार्टीका चान्सलर (तत्कालीन परराष्ट्रमन्त्री क्रुज) लाई पनि नराम्रै शब्दले सम्बोधन गरेको देखिन्छ । जब उक्त भिडियो बाहिर आयो, अष्ट्रियन नागरिक तथा मेडियामा एकप्रकारको भुइँचालो नै आयो ।

उक्त विवादास्पद भिडियो त्यतिबेला सार्वजानिक गरियो जतिबेला युरोपियन संघको चुनाव ढोकामै आइसकेको थियो । उक्त भिडियोको कारण पार्टीलाई ठुलो क्षति नभए पनि सरकार अनि चान्सलर सिबास्टियान क्रुज र उनको पार्टीलाई नागरिकहरूको ठूलो दबाब पैदा भयो । भिडियो भाइरल हुने बित्तिकै स्वतन्त्र नागरिकको एउटा ठूलो समूह चान्सलर कार्यालयअगाडि स्वतःफुर्त जम्मा भएर फ्रिडम पार्टीका प्रमुख स्त्राखेको तत्काल बर्खास्तगी अनि नयाँ निर्वाचन घोषणाको माग गर्दै थिए भने उक्त भिडियोमा बोलिएका कतिपय शब्दका कारण चान्सलर क्रुज पनि पत्रकार सम्मेलनमा आफै भन्दै थिए– ‘यो अब अति भयो !’ लगत्तै चान्सलरले नयाँ निर्वाचनको पनि घोषणा पनि गरिहाले ।

उप–चान्सलरको राजीनामा स्वीकार गरेलगत्तै चान्सलर क्रुजले नागरिकहरूको एक ठूलो समूह मेडियाकर्मी अनि मेडिया हाउसको एक ठुलो समूह उप–चान्सलरको फ्रिडम पार्टीबाट प्रतिनिधित्व गर्ने गृहमन्त्रीको पनि बर्खास्तीको माग गरे । उक्त मागमा चान्सलर क्रुजले सहमति जनाए र गृहमन्त्रीको बर्खास्तगीको लागि राष्ट्रपतिसँग अनुरोध गरे । राष्ट्रपति भान देर बालेंनले पनि सदैव जसो विवादित बनिरहने गृहमन्त्रीलाई सजिलै बर्खास्त गरिदिए । जब राष्ट्रपतिले गृहमन्त्रीलाई बर्खास्त गरेर सर्वोच अदालतका पूर्वन्यायाधीशलाई गृहमन्त्री नियुक्ति गरे, तब फ्रिडम पार्टीका अरु मन्त्रिपरिषदका सदस्यले सरकार छोड्ने निर्णय गरी सरकारबाट बाहिरिए । जब उनीहरूले सरकार छोडे तब चान्सलर क्रुज अल्पमतमा परे । चान्सलर अल्पमत सरकारको चान्सलर त बने तर प्रतिपक्षी दलका एक नेता पिटर पिल्जले चान्सलरविरुद्ध विश्वासको मत लिनको लागि संसदमा अविश्वासको प्रस्ताव दर्ता गरे । उक्त अविश्वासको प्रस्ताव युरोपियन संसदीय चुनावको पूर्वसन्ध्यामा थियो ।

(राष्ट्रपति आलेक्सान्द्रा भान देर बालेन् र निवर्तमान चान्सलर सिबास्टियन कुर्ज)

यो सबै हुँदै गर्दा युरोपियन संसदको लागि निर्वाचन भयो । निर्वाचनमा चान्सलर क्रुजका पार्टी अष्ट्रियन पिपुल्स पार्टीको तर्फबाट ओथमार कारासको नतृत्वमा चुनावमा होमिएको थियो तर ओथमार कारसले अघिल्लो निर्वाचनमा पाएको मतभन्दा सम्पूर्ण मतको लगभग ७.५ प्रतिशत बढि मत ल्याएर अष्ट्रियाबाट युरोपियन संसदमा प्रतिनिधित्व गर्ने पक्का भए पनि अष्ट्रियन संसदमा चान्सलर क्रुजले विश्वासको मत पाउन सकेनन् र उनले कान्सलरबाट हात धुनु प¥यो । तत्काल राष्ट्रपति भान देर बालेंनले संवैधानिक सङ्कट नआओस् भनेर अष्ट्रियन पिपुल्स पार्टीका अर्थमन्त्रीलाई चान्सलर नियुक्त गरे । यसरी छिटो चान्सलर परिवर्तन भएको पनि अष्ट्रियन इतिहासमै पहिलोपटक भएको यहाबाट प्रकाशन हुने पत्रपत्रिकाले लेखिरहेको देखिन्छ ।

किन त फेरि नयाँ चान्सलर ?

अष्टियन राष्ट्रपति सिधै जनताको सिधा मतले निर्वाचन भएर आउँछन् । यसको मतलव नेपालमा जस्तो कोही बहुमत भएको दलले आफूले चाहेको व्यक्तिलाई टीका लगाएर दिएको पद जस्तो हुदैन यहाँको राष्ट्रपति । तर राष्ट्रपतिको संवैधानिक अधिकार राष्ट्रलाई आवश्यक परेको अवस्थामा अष्ट्रियन संविधानले प्रष्ट दिएको छ । कुनै संवैधानिक जटिलता उत्पन्न भएमा निर्णायक राष्ट्रपति हुने संवैधानिक परिपाटी हुने रहेछ । येही संवैधानिक बाटोलाई समाएर राष्ट्रपतिले फ्रिडम पार्टीबाट प्रतिनिधि गर्ने गृहमन्त्रीलाई बर्खास्त गरे भने पिपुल्स पार्टीका अर्थमन्त्रीलाई चान्सलर नियुक्ति गरे । तर संविधानले ब्यवस्था गरेबमोजिम जब कुनै पार्टी सम्बन्धित व्यक्तिले सरकार बनाउन नसक्ने भएपछि राष्ट्रपतिले स्वतन्त्र विज्ञ समूहबाट सरकार निर्माण गर्ने ब्यवस्था रहेछ, र यो ब्यवस्थामा राष्ट्रपति सबैभन्दा शक्तिसाली हुने रहेछन् । राष्ट्रपतिले जसलाई चाहे उसैलाई निर्वाचन नभएसम्मको लागि चान्सलर तथा मन्त्री नियुक्ति गरी मन्त्रीमण्डल गठन गर्दा रहेछन् ।

सोही संवैधानिक ब्यवस्थाअनुरुप राष्ट्रपति भान देर बालेनले संवैधानिक अदालतका प्रधानन्यायाधीश ब्रिगिटे बियलेइनलाई संघीय गणतन्त्र अष्ट्रियाको चान्सलर (प्रधानमन्त्री) नियुक्त गरेका छन् । योसँगै अष्ट्रियामा प्रथमपटक महिला चान्सलर बनेको इतिहास बनेको छ । अब नयाँ चान्सलर तबसम्म काम गर्न पाउने छन् जबसम्म नयाँ निर्वाचनबाट नयाँ सरकार आउँदैन ।

प्रतिक्रिया