भक्तपुर नगरपालिकाका विद्यार्थीलाई पाँच लाखसम्म शैक्षिक ऋण

भक्तपुर नगरपालिकाका विद्यार्थीलाई पाँच लाखसम्म शैक्षिक ऋण


भक्तपुर नगरपालिकाले आर्थिक अवस्थाकै कारण कुनै पनि विद्यार्थीले पढाइबाट वञ्चित हुनु नपरोस् भन्दै प्रतिविद्यार्थी पाँच लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था गरेको छ ।

भक्तपुरको व्यासीस्थित वासु माध्यमिक विद्यालयमा शुक्रबार आयोजित शैक्षिक सत्र २०७६ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीको स्वागत, छात्रवृत्ति तथा पुरस्कार वितरण एवम् विविध सांस्कृतिक कार्यक्रममा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनील प्रजापतिले सो जानकारी दिएका हुन् । पढ्ने चाहना हुँदाहुँदै आर्थिक कारणले कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले यस्तो व्यवस्था मिलाएको उनको भनाइ छ ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा विषय पढ्न छात्रछात्राहरूलाई आकर्षित गर्न नगरपालिकाको तर्फबाट छात्रवृत्ति प्रदान गर्दै आएको पनि बताए ।