फैसलाको ३५ वर्षपछि मृत्युदण्डको सजाय

फैसलाको ३५ वर्षपछि मृत्युदण्डको सजाय


व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठजना किशोरीलाई बलात्कारपश्चात् हत्या गरेको भन्दै उनलाई मृत्युदण्ड दिइएको हो ।

फ्लोरिडा कारागार व्यवस्थापन विभागका अनुसार स्थानीय समयअनुसार बिहीबार साँझ ६ः५५ बजे लङलाई मृत्युदण्ड दिइएको थियो । पछिल्लोपटक एक महिलाको हत्या गरेकामा दोषी पाइएपछि लङलाई सन् १९८५ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

अनुसन्धानका क्रममा उनले अरू सात किशोरी वा महिलाको हत्या गरेको स्वीकार गरेका थिए । साथै पीडितहरूलाई उनले पटकपटक बलात्कारसमेत गरेको अनुसन्धानमा खुलेको थियो ।

दुई बच्चाका बाबु लङले हिंसात्मक गतिविधि सन् १९८० को दशकको शुरुमै थालेका थिए । बलात्कार र हत्या गर्दै फरार रहने गरेका उनलाई अन्ततः प्रहरीले गिरफ्तार गरेको थियो । लङसहित यसै वर्ष अमेरिकामा आठजनालाई मृत्युदण्ड दिइएको छ ।