जितपछि मोदीले भने, ‘हामी सबै एक नयाँ भारत चाहन्छौँ’

जितपछि मोदीले भने, ‘हामी सबै एक नयाँ भारत चाहन्छौँ’


आफ्नो जितपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएकोप्रति भारतीय जनतालाई धन्यवाद दिएका हुन् ।

बीबीसीका अनुसार बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए । भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने, ‘हामी सबै एक नयाँ भारत चाहन्छौँ । म नतमस्तक भइ धन्यवाद भन्न चाहन्छु ।’

‘आउने दिनहरूमा म खराब मनसाय वा खराब नियतले कुनै काम गर्ने छैन । काम गर्दै जाँदा केही गल्ती पनि हुन सक्छ । तर खराब नियतले केही गर्ने छैन । तपाईँहरूले ममाथि यत्रो भरोसा जनाउनुभएको छ, म आफ्नो लागि केही गर्ने छैन ।’

मतगणना हुँदै गर्दा लोकसभाको ५४३ सीटमध्ये भाजपाले करिब ३०० सीट जित्ने प्रक्षेपण गरिएको छ । उसको गठबन्धनले ३४० भन्दा धेरै सीट जित्न सक्छ । भाजपाले यसअघि भएको निर्बाचनमा भन्दा धेरै मत प्राप्त गर्ने जित्ने देखिएको हो ।