कोरिया भाषा परीक्षा जेठ २५ र २६ मा

कोरिया भाषा परीक्षा जेठ २५ र २६ मा


रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदै छ । परीक्षार्थीको सहजताका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । उनका अनुसार काठमाडौंमा २१, ललितपुरमा सात र पोखरामा चारवटा परीक्षा केन्द्र तोकिएको छ । आवेदकको परीक्षा केन्द्रबारे यही जेठ १९ गते विस्तृत विवरण प्रकाशन गरिने शाखाले जनाएको छ ।

एक दिनमा दुईवटा सत्रमा गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो दिन बिहान ९ देखि १० बजेसम्म परीक्षार्थीलाई अभिमुखीकरण गरिनेछ । १० देखि १०ः२५ बजेसम्म पढाइ र १०ः२५ देखि १०ः५० सम्म सुनाइ परीक्षा लिइनेछ । दोस्रो सत्रमा मध्याह्न १२ः३० देखि १३ः३० सम्म अभिमुखीकरण, १३ः३० देखि १३ः५५ सम्म पढाइ र १३ः५५ देखि १४ः२० सम्म सुनाइ परीक्षा हुनेछ ।

अभिमुखीकरणका क्रममा परीक्षार्थीलाई मर्यादित रूपमा परीक्षामा सहभागी हुन आग्रह गरिनेछ । परीक्षाको मर्यादा उल्लंघन गर्ने परीक्षार्थीलाई सार्वजनिक अपराध मुद्दा चल्ने भएकाले मर्यादित ढंगबाट परीक्षामा सहभागी हुन निर्देशक खनालले सबैमा आग्रह गरे । गत वर्षको परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै सरकारले ५० परीक्षार्थीमाथि सार्वजनिक अपराध मुद्दामा कारबाही गरेको थियो ।

बीसको दरखास्त रद्द

शाखाले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका २० जनाको दरखास्त रद्द गरेको छ । परीक्षा आवेदन भर्दा तोकिएको मापदण्डविपरीत विवरण भर्ने व्यक्तिको दरखास्त रद्द गरिएको निर्देशक खनालले जानकारी दिए । दरखास्त रद्द हुनेमा दुई महिला रहेका छन् । दुई महिलाको उमेर बढी भएकाले दरखास्त रद्द गरिएको हो । कोरियाले १८ देखि ३९ वर्ष उमेर समूहका युवालाई मात्र इपिएसमार्फत कोरिया लैजाने गरेको छ । अन्य उम्मेदवारले गलत विवरण भरेकाले उनीहरूको दरखास्त रद्द गरिएको हो ।

सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुँदै छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुपालन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।

कोरिया सरकारले ईपीएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । दुई सरकारबीच स्थापना गरिएको सरकारी संयन्त्रबाटै नै नेपालीले दक्षिण कोरिया जाँदै आएका छन् । एक दशकका अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा चार लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएका छन् । सन् २०१८ मा भाषा परीक्षा उत्तीर्ण गर्ने सात हजार ९९६ जना कोरिया गइसकेका छन् ।

हालसम्म कोरियामा ५८ हजार ७०९ नेपालीले रोजगारीको अवसर प्राप्त गरेका ईपीएस शाखाले जनाएको छ । ईपीएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महिनासम्म कोरियामा कामको अवसर पाउनेछन् । त्यस्तै सोही अवधिमा एकपटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन् । त्यस्तै कोरिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकलगायत सामाजिक सुरक्षासमेत प्राप्त गर्नेछन् ।

सन् २०१९ को ईपीएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ९० अंक हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी कुल ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५–२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।

भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् । क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालिम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ११० अंकको हुनेछ । भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशित गरिनेछ ।
अशोक घिमिरे (रासस)