‘वैदेशिक रोजगारीबाट फर्केका युवा सहुलियत कर्जा लिन बैंकमा जानू’

‘वैदेशिक रोजगारीबाट फर्केका युवा सहुलियत कर्जा लिन बैंकमा जानू’


वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ । बोर्डले एक सूचना जारी गर्दै सहुलियत कर्जा लिन सूचीकृत भएका युवालाई आफूले पेश गरेको व्यावसायिक कार्ययोजनासहित पायक पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको हो ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई विदेशमा सिकेका सीप र दक्षताको प्रयोग गरी स्वदेशमै स्वरोजगार बन्न सहयोग गर्ने उद्देश्यले सहुलियत कर्जा उपलब्ध गराउन लागेको हो ।

सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७६७ युवाले बोर्डमा आवेदन दिएका थिए । बोर्डले गत मङ्सिर १३ गतेदेखि पुस मसान्तसम्म आवेदन सङ्कलन गरेको थियो । बोर्डले तोकिएको मापदण्ड पूरा गरेका १७ हजार ७३७ पुरुष र ८९३ महिलालाई सरल कर्जाका लागि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसमक्ष सिफारिश गरेको थियो ।

सरल कर्जाका लागि सिफारिशमा परेकामध्ये सबैभन्दा बढी मलेसियाबाट फर्केका युवा रहेका छन् । सरल कर्जा माग गर्नेमा मलेसियाबाट फर्केका ६ हजार ४०८, साउदीबाट फर्केका चार हजार ३९२, यूएईबाट फर्केका दुई हजार ६१७ जना रहेका छन् । त्यस्तै जापानमा रोजगारी गरेर फर्केका ३९ जनाले समेत सरल कर्जा माग गरेका छन् ।

सरकारले आव २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित रु १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।