आफ्नैबाट यसरी लुटिन्छन् सहकारीकर्मीहरू !

आफ्नैबाट यसरी लुटिन्छन् सहकारीकर्मीहरू !


खाने बानी परेकाहरूले कहीँ पनि बाँकी राख्दैनन् र आफ्नालाई समेत छोड्दैनन् भन्ने कुराको दृष्टान्त नेपाल बचत तथा ऋण सहकारी सङ्घ (नेफ्स्कुन) का वरिष्ठ उपाध्यक्ष परितोष पौडेल बनेका छन् । सहकारीका प्रतिनिधिहरूलाई विदेश भ्रमण गराउने नाममा समेत अतिरिक्त कमाइ गर्न थालेपछि पौडेल यसरी ‘दृष्टान्त’ बनेका हुन् ।

देशभरिका बचत तथा ऋणको कारोबार गर्ने एकल उद्देश्यका सहकारी संस्थाहरू नेफ्स्कुनमा आबद्ध छन् र नेफ्स्कुनले आफ्ना सदस्यहरूलाई समय–समयमा विभिन्न देशहरूको अवलोकन भ्रमणमा लैजाने गर्दछ । यो समाचार सम्प्रेषण भइरहँदा नेफ्स्कुनको एउटा टोली स्विटजरल्यान्डको भ्रमणमा छ । भ्रमण दलको नेतृत्व परितोष पौडेलले नै गरिरहेका छन् । तर, भ्रमण दलका सदस्यहरूलाई आफूहरू परितोषबाट कसरी ठगिनुपरेको छ भन्ने तथ्यबोध छैन ।

प्राप्त जानकारीअनुसार यस्तो प्रकारको भ्रमणको संयोजन गर्ने जिम्मा सङ्घले परितोष पौडेललाई लगाएको छ र, विगत चार वर्षदेखि नै परितोषले यस्ता भ्रमण कार्यक्रमको संयोजन गर्दै आएका छन् । अवलोकन भ्रमणमा जान चाहनेहरूले रजिस्ट्रेसन शुल्क, हवाईटिकट र भिसाशुल्क (होलिडे प्याकेज) बापतको एकमुष्ट रकम बुझाउनुपर्ने हुन्छ र, उक्त रकम परितोषको जिम्मेवारीमा रहन्छ । परितोषले ‘ग्राहक’ देखाएर ट्राभल एजेन्सीसँग बार्गेनिङ गर्ने, निरन्तर बिजनेस दिने भनी प्रलोभन दिने र एजेन्सीबाट प्रतिट्रिप तीन हजारदेखि पाँच हजार अमेरिकी डलरसम्म कमिशन असुल्ने गरेका छन् ।

त्यति मात्र होइन, आफ्नो भ्रमण खर्च पनि ट्राभल एजेन्सीले नै व्यहोर्ने गरी परितोषले सौदाबाजी गर्ने गरेको बुझिएको छ । यसपटकको भ्रमणमा ट्राभल एजेन्सीबाट पाँच हजार डलर असुले पनि यसअघिको भ्रमणमा भने उनलाई कमिशनबापत तीन हजार डलर मात्र मिलेको थियो । भ्रमणमा जान चाहनेहरू आफैँले खर्च व्यहोर्नुपर्ने भए पनि आफूले चाहेको ट्राभल एजेन्सीबाट टिकट लिने छुट कसैलाई पनि दिइँदैन । सधैँ परितोषले नै तोकेको ट्राभल एजेन्सीबाट मात्र टिकट लिने र भ्रमण व्यवस्थापन गराउने गरिन्छ । उनले आफूलाई दिइने अतिरिक्त लाभ र अन्य सुविधाका आधारमा ट्राभल एजेन्सी निर्धारण गर्ने गर्दछन् ।

यसरी परितोष पौडेललाई लाखौँ कमिशन र निःशुल्क भ्रमण गराउनु परेकोले एजेन्सीले भ्रमणकर्ताहरूबाट ज्यादा रकम असुल्ने गरेको पाइएको छ । तर, आफूहरूको भ्रमण खर्च कसरी बढेको छ र आफ्नै सहकर्मीबाट कसरी लुटिनुपरेको छ भन्ने विषयमा सहकारीकर्मीहरू भने अहिलेसम्म अनभिज्ञ रहेका छन् ।