‘असन्तुष्ट’हरुको जमात बढेको नेता नेपालको स्वीकारोक्ति

‘असन्तुष्ट’हरुको जमात बढेको नेता नेपालको स्वीकारोक्ति


गत वैशाख २६ गते संसदमा दर्ता गरिएको मिडियासम्बन्धी विधेयकका विषयमा पार्टीमा छलफल नभएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले खुलासा गरेका छन् । पार्टीमा छलफल विना नै विधेयक संसदमा दर्ता गरिएको हुँदा विवाद सिर्जना भएको उनको भनाई छ ।

प्रेस सङ्गठन दाङको आयोजनामा आज (६ वैशाख) आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले विधेयकलाई लिएर पत्रकारले असन्तुष्टि जनाइरहेकाले पत्रकारको हितविपरीत भए सच्याइने आश्वासन दिए ।

पछिल्लो समय सञ्चार संस्थामा देखिएको ‘मनपरी’लाई भने सच्याउन आवश्यक रहेको धारणा पनि उनले खुलस्त राखे ।

‘मनपरी लेख्नेलाई नियन्त्रण गर्न जरुरी छ, तर सञ्चार क्षेत्रलाई नै असर पुग्ने गरी विधेयक आउदैन, पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएको विकृतिलाई रोक्नका लागि पत्रकारका नेता र राज्यका निकाय अग्रसर हुनुपर्छ ।’ नेता नेपालले बताए ।

देशको पछिल्लो अवस्थाका बारेमा कुरा गर्दै उनले भने, ‘जहाँसुकै बर्बाद भयो, भत्कियो, काम भएन, विकास भएन भन्नेको जमात बढेको छ, तर काम गरेको देख्ने प्रवृत्ति छैन ।’ उनले प्रतिपक्षलाई पनि कहिलेकाहीँ सकारात्मक चिन्तनको विकास गरी जनतामा सही सन्देश लैजान आग्रह गरे। सत्तापक्षको विरोध गर्ने नाममा मनपरी बोल्ने र गलत सन्देश लैजाने परिपाटी ठिक नभएको उनको भनाइ थियो ।

उनले प्रतिपक्षी नेता कार्यकर्ताले राम्रोलाई राम्रो भन्दैमा प्रतिपक्षको अस्तित्व समाप्त नहुने उल्लेख गर्दै सत्य र यर्थाथ बोल्नेको उचाइ झनै बढेर जाने तर्क गरे ।