बलात्कारी प्रहरीलाई कारवाहीको माग गर्दै प्रदर्शन

बलात्कारी प्रहरीलाई कारवाहीको माग गर्दै प्रदर्शन


पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन् ।

एक महीनाअघि प्रहरीद्वयले १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना बाहिर आएपछि बलात्कारजस्तो घृणित तथा अपराधजन्य कार्य गरेकाले दोषीलाई हदैसम्मको कारवाही माग राख्दै दबाब दिन स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।

बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको छ । प्रहरी जवानलाई सम्बन्धित कार्यालयले निलम्बन गरेपछि अनुसन्धान गरी मुद्दा प्रक्रिया अघि बढाइएको हो । निलम्बन पर्नेमा दङ्गा नियन्त्रण प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानद्वय डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीय प्रेम खड्का र दाङ गडवा गाउँपालिका–४ का २३ वर्षीय पाटेश्वर यादव छन् ।

उनीहरु दुवैलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी बताए । घटना गत वैशाख १ गतेको हो । गण नजिकैको जङ्गलमा घाँस काट्न गएका एक किशोरी र एक युवतीमाथि प्रहरी जवानद्वयले बलात्कार गरेको आरोप छ । घटना भएलगत्तै पीडित युवतीले केही नभनेको र केही दिनअघि मात्र जानकारी दिएकाले प्रहरी कहाँ उजुरी दिएको आफन्तले बताएका छन् ।