नेपाल : मुखमा राम राम बगलीमा छुरा ?!

(सन्दर्भ : बेलायतमा २५६३औँ बुद्ध जयन्ती)



  • प्रकाश केसी, लण्डन

लण्डनको केन्द्र मानिने ट्राफाल्गर स्क्वाएरमा बेलायतवासी नेपालीले बुद्धको २५६३औँ जन्म जयन्ती मनाएका छन् । बुद्ध फाउण्डेसन यूके र कपिलवस्तु समाज यूकेले यस वर्ष नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर लण्डनमा बुद्ध जयन्ती मनाएको हो ।

भिजिट नेपाल–२०२० को अभियानलाई सोही जयन्तीको सन्दर्भमै गाभिएको थियो । केही सय नेपालीको जमातले लण्डनको ट्राफाल्गर स्क्वायरमा एक किसिमले चटकेले आफ्नो प्रस्तुति बजारको चोकबजारमा देखाएको जस्तो गरेर मनाएको यसपालिको बेलायतको बुद्धजयन्तीले खासगरी यहाँको परिप्रेक्ष्यमा धेरै प्रश्न, धेरै विरोधाभास अनि असामन्जस्यताहरू देखाएको छ, जसलाई नजरअन्दाज गर्न पक्कै गर्न सकिँदैन ।

बुद्धको जन्मकोदिनको उपलक्ष्यमा खुशियाली मनाउनको लागि नेपालमा पहिलोपटक सन् १९५१ को मे महिनाको २२ तारिखदेखि आधिकारिक रुपमा नेपालको क्यालेण्डरमा बुद्ध जयन्ती भनी राष्ट्रिय विदाको रुपमा दर्ता गरिएको थियो । नेपालमा गणतन्त्रको स्थापनापछि मात्र (वास्तवमा मान्ने भए) व्यापक रुपमा बुद्ध जयन्ती मनाउन थालिएको हो र आम रुपमा सोहीपश्चात् जनजाति मूलमा बुद्ध धर्मप्रतिको रुची चुलिएको हो । सोभन्दा अगाडि हिन्दू धर्मको एक अध्यायको रुपमा हेरिने बुद्ध धर्म गणतन्त्रपश्चात् एक अलग धर्मको रुपमा विद्यमान हुन थाल्यो, त्यसैको फलस्वरुप नेपाली राष्ट्रिय गीतमा पनि बुद्ध अटाएनन्, किनकि बुद्ध एक धर्मको रुपमा स्थापित हुन गएको मानियो ।

२५६३ वर्षअगाडि जन्मिएका मानिने बुद्ध एक राजकुमार थिए । हामी सबैले पढेको या हामी सबैलाई पढाइएको तथ्य यही थियो । गणतन्त्रपश्चात् धेरै परिभाषा तथा जानकारीहरूलाई पुरानो तथ्य मान्दै त्यसलाई सच्याउने कामहरू भइरहेका छन्, सोही क्रममा पहिलो शहिद, पहिलो कवि, आदिवासी, धर्म, पहिरन तथा भाषाहरू परिरहेका छन् । सोही क्रमलाई यथावत राख्ने भए के पनि भन्न सकिन्छ भने सिद्धार्थ गौतम एक राजकुमार थिए, जो आफ्नो सुख–सयल त्यागेर ज्ञानको खोजीमा जङ्गल पसे । श्रीमती विवाह गरेर ल्याएपछि तिनलाई त्यागेर गैरजिम्मेदारीको नमुना पेस गर्दै जङ्गलमा पलायन भएका राजकुमार सिद्धार्थ गौतमको वास्तवमा अहिले जन्मजयन्ती मनाइन्छ । तर सिद्धार्थ गौतमलाई, कट्टर अनुयायीहरूका अनुसार जन्मनासाथ मृत्यु वरण गरेर फेरि बुद्धको रुपमा जन्मिएको मानिएका पनि छन् ।

यी वास्तवमा दन्य कथा मात्रै हुन्, कति अन्धविश्वासी हुने भन्ने व्यक्ति व्यक्तिमा भर पर्ने कुरा हुन् । वास्तवमा गयाको वृन्दावनमा गएर वोधीको रुखमुनि तपस्या गरेर ज्ञान प्राप्त गरेपछि मात्र सिद्धार्थ आखिरमा गौतम बुद्ध भएका हुन्, या तब उनको हालातलाई ज्ञानी मानिएको हो । सोही बुद्धको जन्मस्थलको बारेमा मुख्य रुपमा नेपाल र नेपाली परिवेश अनि केही मात्रामा भारतमा चर्चा चलेका छन् । नेपालमा त पछिल्लो समय, जहिलेबाट हरेक व्यक्ति जो सामाजिक सञ्जालको प्रयोग गरी नागरिक पत्रकार बनेका हुन्छन् ले सूचना प्रवाह गर्ने जो होड राखेका हुन्छन् का सक्रियतामा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने एक प्रकारले राजनीतिमूलक अभियान नै चालेका छन् । बुद्ध नेपालमा जन्मिएका होइनन्, न त भारतमा नै जन्मिएका हुन् । २५६३ वर्षअगाडि संसारमा भारत तथा नेपाल थिएन, स–साना राज्यहरू थिए । दक्षिण एसियाको सो भागलाई भारतवर्ष भनिन्थ्यो । त्यही भारत वर्षको एक सानो राज्य कपिलवस्तु भन्ने ठाउँमा माता मायादेवीको कोखबाट सिद्धार्थ गौतमको जन्म भएको हो, जो कालान्तरमा नेपालको हुन गयो । त्यसर्थ सिद्धार्थ गौतम नेपालमा जन्मिएका होइनन्, तर उनी जन्मेको स्थानचाहिँ नेपालको हुन गएको हो । बुद्धत्व प्राप्त गरेर गौतम बुद्ध बनेपछि गयामा जन्मेका हुन् ।

वास्तवमा बुद्ध कहाँ जन्मिएका हुन् भन्ने मुद्दा मूल होइन । उनले जीवनलाई हेर्ने दृष्टिकोण महत्वपूर्ण हुन् । उनले देखाएको मार्गको अनुशरण गर्ने ध्येय नै मूल हुनुपर्ने हो । नेपालको पछिल्लो आधिकारिक तथ्यांकअनुसार नेपालको कूल जनसंख्या अर्थात् लगभग ३ करोडको ९ प्रतिशत मात्र वौद्ध धर्मावलम्बीहरू छन् । मूलतः वौद्ध धर्मावलम्बीहरू भनिए तापनि त्यसैमा पनि नेवार वुद्धिष्ट, मगर वुद्धिष्ट, गुरुङ वुद्धिष्ट, तामाङ लामा बुद्धिष्ट, वा टिवेटियन बुद्धिष्ट आदिले विविध छन् । संसारभरिका कूल जनसंख्याको लगभग १० प्रतिशतले बुद्ध धर्म तथा तिनको सिद्धान्तलाई अनुशरण गर्ने बताइएको छ, जसमध्ये सबैभन्दा बढी क्याम्बोडियामा वौद्ध धर्मलाई मानिन्छ र त्यसपछि थाइल्याण्ड, म्यान्मार, भुटान, श्रीलंका, लाओस, मंगोलिया अनि चाइनामा मानिन्छ, तर नेपाल जहाँबाट यो धर्मको थालनी भएको बताइन्छ, जहाँ बुद्ध जन्मेका हुन् भनेर संसारलाई चिनाउन नेपालीहरू लागी परेका छन्, सो देश बुद्धलाई धर्मको रुपमा, शक्तिको रुपमा र सिद्धान्तको रुपमा मान्ने मुख्य दश देशहरूभित्र पनि पर्दैन । लुकाउन नसकिने यो तथ्य अनेकौंमध्ये एक विरोधाभास तथ्य हो ।

२५६३औं वर्षको इतिहास बुद्धको नामसँग जोडिएको छ । शान्तिका दूतको रुपमा विश्वमा चिनिएका बुद्ध र यिनको सिद्धान्तलाई अनि यिनको जन्म जयन्तीलाई युनाइटेड नेसनले पनि सन् २००२ बाट आधिकारिक विदाको रुपमा लिने गरेको छ । बुद्धको मुख्य सन्देशको रुपमा प्राणीको हिँसा नगर्ने, चोरी नगर्ने, लैंगिक भेदभाव नगर्ने, असत्य नबोल्ने अनि मादक पदार्थ सेवन नगर्ने भन्ने भावनालाई कदर गर्ने व्यक्तित्वहरू यो समयमा आफैमा भगवान हुन् । हामी हिन्दूहरूमा सीधा र सादा व्यक्तिलाई गाई भनेजस्ता ती गाईहरू हुन् । वास्तवमा यो नै अशल र अनि आदर्श जीवन शैली हो ।

बौद्धिष्ट भीक्षुहरू तिनका पहिरनमा तिनीहरू गाई जस्ता नै देखिन्छन्, यो कुरो अर्कै हो कि, यिनै बौद्ध धर्मलाई आधार बनाएर चाइनामा कम्फु नामको अध्यामिक शैलीको मार्शल आर्टको जन्म गरियो, एक प्रकारले हतियारको उत्पत्ति गराइयो । यो कुरा अर्कै हो कि, टिवेटियन मुभमेण्टमा टिट फर ट्याट शैलीमा तिनै टिबेटीयन भिक्षूहरूलाई समाचारमा देखियो, तिनै धर्मावलम्बीहरूलाई म्यान्मारमा रोहिन्गियाहरू माथिको अत्याचारमा संलग्नता राखिएको देखियो । लण्डनमा बसोबास गर्ने कान्तिपुर एफएमका सम्वाददाता रुपेश सिलवाल भन्दछन्…हामीले बुद्धको जन्मस्थलको बारेमा होइन, उनको उपदेशलाई, उनको सत्यवचनलाई व्यापक गराउनुमा विशेष ध्यान दिनु जरुरी छ । बुद्धको जन्मस्थल नेपाल हो, भनिरहनु पर्दैन, उनको विचार र सिद्धान्तको जन्मस्थल हो नेपाल भनेर संसारलाई जिताउनतिर नलागे बुद्ध वर्न इन नेपाल भन्ने पम्प्लेट लण्डनको बीचोबीच टाँसेर केही फरक पर्दैन ।

…वास्तवमा हो, लण्डनमा नेपाली दूतावासको संलग्नतामा चौकको बीचोबीच बुद्ध जयन्ती मनाइयो । अन्यहरूजस्तै बेलायतका लागि नेपाली राजदूत डा. सुवेदी…यो नेपाली शीर उचाली, संसारमा लम्किन्छ……भन्ने गीत कुम हल्लाई–हल्लाई नाचे, एक हुल नेपालीहरू, लवेदा सुरुवाल र ढाका टोपीमा सजिएर उनीसँगै कुम हल्लाउन पुगे । नेपाली मात्रका मिडियाहरू विश्वव्यापी भएझैं फेसबुकमा प्रत्यक्ष प्रसारण गर्न व्यस्त भए र वरपर हिँडिरहेका, बस तथा कारहरूमा यात्रा गरिरहेका यात्रूहरूले उक्त रमिताको भरपुर मज्जा लिए । आखिर के गयो त सन्देश अनि कहाँ पुग्यो त उक्त सन्देश ? बुद्ध तथा उनको जयन्ती यो पालि निमित्त घटना मात्र भयो, उक्त घटनामा भिजिट नेपाल २०२०को नारा लगाइयो । हुलका हुल नेपालीहरू, बेलायती रहनसहन, नीति नियमअनुसार यहाँको कानूनवमोजिम नागरिक बन्ने कसम खाएकाहरूले यो नेपाली शीर उचाली, संसारमा लम्कन्छौं भन्ने गीतमा कुम हल्लाए । वफादारी, इमान्दारीको हवाला दिने भूपू गुर्खाहरूले बेलायतको नागरिकसरहको अधिकार आफूले पाउनुपर्दछ भनेर अझै आन्दोलनरत छन्, तिनीहरूको एक समूहले पनि कुम हल्लाए । जे गरे पनि हुने भएको नेपालबाट आएका नेपालीहरूले यहाँ पनि सोही सोही गरे, रमाइलो नै भएको छ ।

बेलायतस्थित नेपाली दूतावासमा बेलायतस्थित नेपाली समुदायहरूसँगको सरसल्लाहपछि राजदूत सुवेदीले बेलायतको तर्फबाट विभिन्न लडाइँहरूमा भाग लिई बहादुरीका साथ वीरगति प्राप्त गर्ने र जीवित हालातमा बहादुरी देखाउने १३ जना गुर्खाका तस्वीर ससम्मान राष्ट्रिय हलमा टाँसेको छ । बताइएअनुसार, सो तस्वीरले नेपालको गौरवान्वित इतिहासको महिमा बोल्छ रे, सो तस्वीरले नेपाल र बेलायतको गौरवान्वित सम्वन्धको गाथा गाउँछ रे र सो तस्वीरले हामी सबै नेपालीहरूको शान व्यक्त गर्दछ रे ।

यसैबीच मूलधारको नेपाली राष्ट्रिय राजनीति पार्टीमध्येका केहीले गुर्खा भर्ती खारेज गर्नुपर्ने माग राखेका छन् र त्यसको खुलेर विरोध पनि गरेका छन्, तथापि आउँदा वर्षबाट नेपाली युवतीहरू पनि सोझै बेलायती सेनामा भर्ना गरिने भएका छन्, जसलाई भर्खरै दूतावासमा नेपालीहरूलाई बेलायत अर्को गुण लगाएको बताइएको छ । अब आयन्दा बेलायती सेनामा भर्ना हुने नेपाली नागरिकहरू सोँझै बेलायती नागरिक हुन पाउने प्रावधान जो उल्लेख छ र यी सबैलाई नेपाल सरकारको प्रतिनिधि संस्था नेपाली दूतावासले प्रशस्ती गरेको छ, जसलाई निश्चय नै राजदूत सुवेदी महत्वकांक्षी कदम मानिएको छ, उनलाई आफ्नो ४ वर्षे अवधिमा यहाँ सबै खालका नेपालीहरूमा लोकप्रिय भएर वापस गई त्यसैलाई क्यास गरी माथिल्लो ओहोदामा जो पुग्नु छ ।

तर माथिको जो कृयाकलाप तथा कार्यक्रमहरू गुर्खाहरूका नाममा जसरी दूतावासमा गरियो, राखियो र जसरी आम नेपालीहरूको हकमा भनी लण्डनको ट्राफाल्गर स्क्वायरमा गई बुद्ध जयन्तीमा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने भनाइमा अडान दिइयो, मा द्वैध चरित्रको प्रदर्शन भएको लाग्दछ । बुद्धको नाममा शान्तिको प्रवर्तकको रुपमा नेपाललाई चिनाउन लागी पर्ने समूहका साथै गुर्खाहरूको नाममा एक सशक्त हतियारको निकासी गर्ने देश नेपाल हो भनेर चिनाउन लागीपर्ने दूतावास अनि दूतावासको मार्फत् नेपाल हास्यको पात्र भएको लाग्दछ ।

भिजिट नेपाल २०२० को नारा राख्दैमा नेपालमा पर्यटक भित्र्याउन सकिँदैन । त्यसको लागि नेपालमा मूलधारमा नै कामहरू हुनुपर्दछ । नेपालमा देखाउन सकिने ठाउँहरूको रक्षा तथा प्रवद्र्धन गरिनु पर्दछ । पर्यटकहरूलाई अतिथि देवो भवः मान्ने प्रवृति आम नेपालीमा हुनु जरुरी छ । नेपाल छिर्ने मूल ढोका अर्थात् एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नासाथ छर्लङ्गिन्छ नेपालको स्वरुप, त्यसपछि शुरु हुन्छ घूलोले फुङ्ग उडेको सडकमा विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरूको महंगो पहिरनमा आइसक्रिम चाट्दै हिँड्नेहरूको विकसित रुप, जेब्रा क्रसिङमा हात उठाउँदै बिन्ती गर्दै सडक क्रस गर्न खोज्ने आमनागरिकहरूको हाल, धूलो, धूँवा अनि भत्किएर मलिन तथा भारतको एक सानो र सस्तो प्रान्त लाग्ने शहर काठमाडौं अनि लगायतका शहरहरू…. न हामीसँग आफ्नो नितान्त आफ्नो परिचय छ, न हामी कुनै एक धर्म र आस्थामा पक्का छौं, न हामी बोली र बचनमा खरो छौँ, न हामी बहादुर छौं, न त वफादार नै, हामी मौकामा चौका हान्ने दाउमा लालायित छौं । के छ र हामीमा जो हामी अझै वीच चौकबाटोमा कुम हल्लाएर नाच्न सक्छौं….यो नेपाली शीर उचाली, संसारमा लम्किन्छ, जूनकिरीझैं ज्योति बाली अन्धकारमा चम्किन्छ….!!

प्रतिक्रिया