धुलिखेलको ‘जनप्रतिनिधिका दुई वर्ष’ सार्वजनिक

धुलिखेलको ‘जनप्रतिनिधिका दुई वर्ष’ सार्वजनिक


धुलिखेल नगरपालिकाले जनताबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेको दुई वर्ष पुगेको अवसरमा ‘जनप्रतिनिधिका दुई वर्ष’ नामक पुस्तक सार्वजनिक गरेको छ ।

निर्वाचनबाट निर्वाचित भएर जिम्मेवारी सम्हालेपछि दुई वर्षभित्रमा नगरपालिकाभित्र के–के काम गरे भन्ने विषयलाई लिएर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका अध्यक्ष उद्धव केसीले निदाएर देखेको सपना काम नलाग्ने उल्लेख गर्दै धुलिखेल नगरपालिकाको नेतृत्वले वास्तविक सपना देखेर विकासको काममा अगाडि बढेको बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका अशोक ब्याञ्जूले भने, ‘हामीले निर्वाचित भएपछि जनताका बीचमा केही काम गरेका छौँ, ती कामको पारदर्शिता, उत्तरदायी र जवाफदेहिताको हिसाबले यसलाई पुस्तकमा समेटेर सबै नागरिकसम्म पु¥याउने उद्देश्यले अभिलेखका रूपमा तयार गरेका हाँै ।’ पुस्तकमा १२१ योजना समेटेर प्रकाशित गरिएको छ ।

प्रमुख ब्याञ्जूले अन्तर्राष्ट्रिय लगानी योजनाअन्तर्गत धुलिखेल मेडिसिटी अस्पतालका लागि सात करोड ४० लाख डलर प्रस्ताव गरिएको र ड्रिमल्यान्ड परियोजना धुलिखेलका लागि चार करोड ३० लाख डलर प्रस्ताव गरिएको बताए । त्यससँगै नेपालमा पहिलोपटक मोबाइल एप्समार्फत सबै प्रकारको जानकारी लिन सकिने व्यवस्थाको शुरुआत गरेको छ ।

प्रहरी कार्यालयलाई १० टेलिभिजन सेट हस्तान्तरण

धुलिखेल नगरपालिकाले जिल्ला प्रहरी कार्यालय धुलिखेलका लागि १० वटा टेलिभिजन सेट हस्तान्तरण गरेको छ । नगरप्रमुख अशोक ब्याञ्जूले प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्कालाई ३२ इन्चका १० एलइडी टेलिभिजनको सेट हस्तान्तरण गरेका हुन् । नगरप्रमुख ब्याञ्जूले कैदीबन्दीलाई र प्रहरी जवानलाई सूचना ग्रहण गर्न र मनोरञ्जन लिनका लागि टेलिभिजन सेट प्रदान गरिएको बताए ।

rss