२००० साल लाग्नेताकाको नेपाल

(इतिहास)





नयाँ शताब्दी शुरु हुनुभन्दा १३/१४ वर्ष अगावै देशमा यस्तो गरिनेछ र उस्तो गरिनेछ । देशको आर्थिक मापदण्ड यहाँ पुग्नेछ र उहाँ पुग्नेछ भनी फलाक्ने चलन त्यसबखत नहुँदा २००० सालको शताब्दी सरले नेपाललाई झ्याप्पै छोप्यो– सालसालै आउने जाने संवत्सरले जस्तै । नयाँ शताब्दी शुरु हुनुभन्दा अघि यस्तो हुनेछ र उस्तो हुनेछ भनेर भट्याउनुपर्ने हो त्यसबखतको राणा सरकारले । ऊ थियो पूर्ण परिवारमुखी र कुम्भकर्णजस्तो ।

तर, काकताली परेझैँ, नयाँ शताब्दी शुरु हुँदा नेपालमा सर्वप्रथम देशव्यापी औद्योगिक सर्भे र को–अपरेटिभ सोसाइटीको श्रीगणेश भयो– लामो यात्रा शुरु गर्नुअघि साइतको पोको घरबाट अल्लिपर सारेझैँ गरी । यो नयाँ शताब्दी शुरु भएपछि, नेपालमा नचिताएको त्यत्रो राजनीतिक परिवर्तन होला, ६/७ वटा आर्थिक विकासका पञ्चवर्षीय योजना कार्यान्वयन होलान् र २०५७ सालभित्रमा नेपालको आर्थिक मापदण्ड अरू एसियन राष्ट्रको हाराहारीमा पुऱ्याउने र नेपालीहरूको आधारभूत आवश्यकता पूर्ति गर्ने दृढसङ्कल्प होला भन्ने कुरा त २००० साल लाग्नेताका नेपालीहरूले स्वप्नमा पनि देखेका थिएनन्, न त चलन थियो अल्ली परको भाग हेर्ने राणा सरकारको । त्यसैले २००० शुरु हुँदा नेपालको सामाजिक, राजनीतिक, प्रशासनिक र आर्थिक अवस्था अहिलेको दाँजोमा निकै फरक थियो । हुनत कुरा फगत ४४ वर्षअघिको मात्र हो, तर पनि त्यतिञ्जेलसम्म पनि नेपाल निकै पछाडि थियो– सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा । २००० साल लाग्नेताका हामी कस्ता थियौँ भन्ने अवस्थाको एक झलक यहाँ खिच्न खोजिएको छ ।
दुई हजार साल लाग्नेताका नेपालमा चार श्रेणीका मानिस थिए– विशिष्ट, मध्यम, निम्नमध्यम र निम्न । विशिष्ट श्रेणीमा पर्दथे– राणा परिवार, साहेबज्यू, गुरुपुरोहित, चौतरिया र मुख्य राजा (मुस्ताङ्गे, जाजरकोटे, बझाङ्गी, सल्यानी र जुम्ली) हरू । नेपालको अति प्राचीन सामन्ती व्यवस्थाको रूप यथावत् भए पनि रङ बदलिन थालेको थियो– सामन्तहरू हरतरहबाट खस्कँदै जान थालेकाले ।

मध्यम श्रेणीमा, रोलवाला राणाजीका साखै मामा, भानिज, ज्वाइँ, साला, जेठान, फुपाजु, जङ्गी–निजामतीका उच्चस्तरीय कर्मचारी (मेजर, मीरसुब्बासम्म), अरू बाईसे–चौबीसे राजारजौटा, ठूल–ठूला मठ र मन्दिरका सन्तमहन्त, पुजारी, बत्तीस कोठी महाजन, नम्बरी पण्डित, प्राध्यापक, हेडमास्टर, हेडपण्डित, प्रिन्सिपल, इन्जिनियर, डाक्टर, राजवैद्य, नवग्रहहरू, वरिष्ठ बिर्तावाला, जमिनदार, श्री ५ का धामी, चार–पाँच लाख रुपैयाँभन्दा बढी ठेक्कापट्टा लिने ठेकेदार इत्यादि पर्दथे ।

भत्ता, खुआ, मानोचामल खाने नयाँ–पुराना भारदार, सत्र भाइ राणाजीका अलि परका कुटुम्ब, राजपत्राङ्कित कर्मचारी, स्कूलका मास्टर, दारोगा, पण्डित, वैद्य, ओभरसियर, सानातिना जमिनदार, ठुल्ठूला नाइके, भाइनाइके, साना ठेकेदार, निजामतीका डिट्ठा, मुखिया, जङ्गीका सुबेदार, कोते, खुद्रे साहुमहाजन, थरी, मुखिया, जिम्मावाल, राई, गिरी, पगरी, पटवारी, द्वारे, पुजारी, ठूलाठालूहरू पर्दथे निम्नमध्यम वर्गमा ।

बाँकी रैतीहरू पर्दथे निम्न वर्गमा । तिनीहरूमा चुने रैती भन्ने पनि चलन थियो । यस्ता रैतीहरू हुँदा हुन् पञ्चानब्बे प्रतिशत जति ।

यो श्रेणी विभाजन आर्थिक स्थिति, परम्परा, दर्जा, नाता–गोता, धर्म, व्यवसाय, चालचलन र व्यवहारमा आधारित थियो । निकै वर्ष यतादेखि चल्दै आएको यो श्रेणी विभाजन खुब कसिएको थियो र एक वर्गका मानिसलाई अर्कोमा उक्लन निकै धौ पर्दथ्यो । तल्लो वर्गका मानिसको आर्थिक स्थिति एकाएक धुमधामसँग सप्रँदैमा उसले उपल्लोमा सजिलोसँग चढ्न सक्ने त्यसबेला कुनै गुञ्जायस थिएन । अछूतहरू (च्यामे, पोडे, सार्की, दमाईं, कामी, गाइने, भाँड) सदा अछुतै थिए । छोइछिटो हाल्न नपर्ने (कसाई, सुचीकार, भोटे, छिपा, धोबी, कुसुले, मुसलमान) मानिसहरू जतिसुकै पैसावाल भए पनि उपल्लो वर्गका नजरमा निचै गनिन्थे, उनीहरूले निम्नमध्यम वर्गमा उक्लने त कुरै पर जावस्, उनीहरूसँग बस–उठ, सहवाससम्म पनि गर्न पाउँदैनथे । कृस्तानको नेपालमा बिउ पनि थिएन, एकाध लैनका अङ्ग्रेजहरूलाई पनि धेरैले झ्यास्सै छुँदैनथे, कतिले अङ्ग्रेजसँग हात मिलाउन बाध्य भएमा पनि पछि हात धुन्थे– म्लेच्छेसँग छोइयो भनेर । मुसलमान र अरू भारतीय मूलका मानिसलाई पनि मोग्लानिया भनेर सकभर पन्छाउने चलन थियो ।

(त्यसबखतको नेपाल, भीमबहादुर पाँडे)

प्रतिक्रिया