विदेशी पर्यटकलाई लक्षित गरी एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’

विदेशी पर्यटकलाई लक्षित गरी एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’


विश्वका विभिन्न कुनाबाट बिदा मनाउन वा व्यवसायिक कामको लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन सक्नेछन् ।

एनसेल प्रा. लि.ले ०७६ वैशाख ३१ देखि लागु हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको छ । यसअन्तर्गत नेपाल भ्रमणमा आउने विदेशी पाहुनाले रु ११० (करसहित) मा सजिलै ट्राभलर्स सिमको स्टार्टर प्याक खरिद गर्न सक्ने छन् । यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधिअनुसार विभिन्न भोल्युमका कम्बो प्याकहरुबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिमसहित रु ३० को मेन ब्यालेन्स र तीन दिनको लागि मान्य हुने ३०० एमबी डेटा प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने मेन ब्यालेन्स एनसेल नेटर्वक भित्र कुरा गर्न प्रयोग गर्न सकिनेछ ।

‘ट्राभलर्स सिम’ अन्तर्गत स्टार्टर प्याक सुचारु भएपछि पर्यटकहरुले आफ्नो आवश्यकता अनुसार रु ४९० देखि रु १,९६० सम्मका विभिन्न समयसिमा रहेका भ्वाइस तथा डेटा बण्डलिङ्ग गरिएको कम्बो प्याकहरु खरिद गर्न सक्नेछन् । यो योजनामा अन्तर्गत कम्बो प्याकमा लाइट, मिडियम, हेभि र सुपर गरी चार वटा विकल्पहरु रहेका छन् ।

पर्यटकले ७ जिबी डेटा र २० मिनेट अन नेट टक टाइम रहेको लाइट प्याक कर सहित मात्र रु ४९० मा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गरेको दिन देखि ७ दिन सम्म मान्य रहनेछ । अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले मिडियम तथा हेभि प्याक लिन सक्नेछन् । मिडियम प्याक अन्तर्गत ग्राहकले कर सहित रु ९८० मा १४ जिबी डेटा तथा ३० मिनेट अन नेट टक टाइम प्राप्त गर्नेछन् र यो १४ दिनको लागि मान्य रहनेछ । त्यस्तै हेभि प्याक अन्तर्गत कर सहित रु १,४७० मा २१ जिबी डेटा र ४० मिनेट अन नेट टक टाइम पाइने छ । यो २१ दिनको लागि मान्य रहनेछ ।

नेपाल भ्रमणमा रहेको बेला भ्वाइस तथा डेटा भोलुम बढि चाहिने ग्राहकले कर सहित मात्र रु १,९६० मा सुपर प्याक सुचारु गर्न सक्नेछन् । यो प्याक अन्तर्गत ग्राहकले २८ दिन समयसिमा रहेको २८ जिबी डेटा र ५० मिनेट अन नेट टक टाइम पाउनेछन् ।

‘ट्राभलर्स सिम’ योजनाको कम्बो प्याक ग्राहकले एस्ट्रिक्स १७१०५ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् ।

शुरुमा यो सिम एनसेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरुमा उपलब्ध हुने र पछि बिस्तारै एनसेलका सबै प्वाइन्ट अफ सेल्सहरुबाट पनि लिन सकिने कम्पनीको भनाई छ । यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटोकपी बुझाउनु पर्ने पनि जनाइएको छ ।