‘अन्तर्वार्ता प्रकरण’ले सामाजिक सञ्जाल तरङ्गित

‘अन्तर्वार्ता प्रकरण’ले सामाजिक सञ्जाल तरङ्गित


समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग एभेन्युज टेलिभिजनले अन्तर्वार्ता लिने क्रममा अन्तर्वार्ताकार र मन्त्री यादवबीच एकाएक उत्पन्न असमझदारी र विवादले तीव्र तरङ्ग पैदा गरेको छ । एकतिर सो प्रकरणसँग जोडिएका पात्रबारे पक्ष र विपक्षमा सामाजिक सञ्जाल तातेको छ भने राजनीतिक दलहरु समेत वक्तव्यवाजीमा उत्रिएका छन् ।

यस क्रममा एभेन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड भएपछि बहस, विवाद र वक्तव्यबाजी चर्किएको हो ।

सञ्चारकर्मीहरु पनि यस प्रकरणमा दुई ध्रुवमा विभक्त देखिएका छन् । धेरैले एभेन्युजका सञ्चारकर्मी सुशील पाण्डेको शैलीको आलोचना गरेका छन् भने उनको समर्थनमा छिटफुट प्रतिक्रिया देखिएको छ ।

समाजवादी पार्टीका एक अध्यक्ष समेत रहेका बाबुराम भट्टराईले चाहिँ आफ्नो हैसियतभन्दा तल ओर्लिएर सञ्चारकर्मीमाथि टीकाटिप्पणी गरेका भन्दै उनको आलोचना गरिएको छ । ट्वीटमार्फत उपेन्द्र यादवको पक्षमा माहोल बनाउन खोज्दा उनले सञ्चारकर्मीमाथि तल्लो तहमा उत्रिएर भाषा प्रयोग गरेका छन् । उनले ट्वीटरमा ‘सञ्चारकर्मीका नाममा रहेका कुपात्रलाई बेलैमा नंग्याऔँ’ जस्ता शब्द प्रयोग गरेका छन्, जो डा. भट्टराईको व्यक्तित्वलाई सुहाउँदो मान्न सकिन्न ।

यसै प्रकरणसँग सम्बन्धित डा. भट्टराईकै अर्को ट्वीटचाहिँ तुलनात्मक रुपले नरम भएपनि नम्र भने नरहेको ठानिएको छ ।

यस प्रकरणसँग जोड्दै एभेन्युज टिभीको पर्सास्थित कार्यालयमा आक्रमण भएपछि उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालले सञ्चारमाध्यममा अन्तर्वार्ताका क्रममा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि गरिएको व्यवहारलाई लिएर उत्तेजित नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

सो पार्टीले एक विज्ञप्ति जारी गर्दै अन्तर्वार्ताका क्रममा भएको दुःखद घटनालाई लिएर कुनै पनि अवाञ्छित गतिविधि नगरी संयमित रहन कार्यकर्तालाई निर्देशन दिएको हो ।

अन्तर्वार्ताका क्रममा अध्यक्ष यादवको मानमर्दन एवं अपमानित हुने गरी पत्रकार आचारसंहिता विपरीत सोधिएका प्रश्न र सञ्चारकर्मीको अभद्र एवं पूर्वाग्रही प्रस्तुतिप्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष यादवलाई मिडियामैत्री पात्र दर्शाउँदै विज्ञप्तिमा भनिएको छ- ‘मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आउनुभएका अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सधैं सम्मान गर्दै आएको छ ।’

पत्रकारिताको आचरण विपरीतका यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन सञ्चार गृह, सञ्चारकर्मी र प्रेस काउन्सिललगायत निकायलाई सो विज्ञप्तिमार्फत् अपिलसमेत गरेको छ ।

उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एभेन्युज टिभीको कार्यालयमा भएको तोडफोडप्रति आफ्नो गम्भीर ढंगले ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मादरा जारी विज्ञप्तिमा कुनै पनि कारणले जो कसैबाट सञ्चारमाध्यमप्रति गरिएको उच्छृङ्खल कार्य अत्यन्तै निन्दनीय भएको उल्लेख गरिएको छ ।

वर्तमान सरकार बनेयता कहिले स्वयम् राज्यबाट त कहिले विविध समूहबाट नेपाली प्रेसप्रति प्रताडना बढ्दै गएको तथ्य दुःखद रहेको प्रष्ट्याउँदै प्रवक्ता शर्माले अगाडि भनेका छन्- ‘एकातर्फ प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने विधेयक सरकारले ल्याउनु र अर्कोतर्फ मिडिया हाउसमाथि भौतिक आक्रमण हुनु दुवै नै नेपाली प्रेसलाई निरुत्साहित गर्ने र नियन्त्रित गराउन चाहने प्रवृत्तिका उपज हुन् ।’

यसैबीच प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री यादवसँग आइतबार (२९ वैशाख) राति लिइएको अन्तर्वार्ताका क्रममा अन्तर्वार्ताकारले पत्रकार आचारसंहिताको ख्याल नगरेको र शिष्टतालाई ध्यान नदिइएको ठहर गर्दै उक्त टेलिभिजनसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी दिएका छन् ।