आईपीएलको सनसनीपूर्ण फाइनलमा मुम्बईले बाजी माऱ्यो

आईपीएलको सनसनीपूर्ण फाइनलमा मुम्बईले बाजी माऱ्यो


आईपीएलको १२औँ संस्करणको रोमाञ्चक र सनसनीपूर्ण फाइनलमा मुम्बई इन्डियनले बाजी मारेको छ । फाइनल खेलमा मुम्बईले चेन्नई सुपर किङ्गलाई १ रनले पराजित गर्दै चौथोपटक आईपीएलको ट्रफीमाथि कब्जा जमाएको हो । यो विजयसँगै कप्तान रोहित शर्माले आफ्नो नेतृत्वमा चारपटक आईपीएलको च्याम्पियन बन्दै नयाँ कीर्तिमानसमेत बनाएका छन् ।

चेन्नईमाथि रोमाञ्चक विजय हासिल गरेपछि एकै सिजनमा एक टिममाथि चारपटक विजय हासिल गर्ने मुम्बई दोस्रो टोली बनेको छ । मुम्बईले यो संस्करण चेन्नईविरुद्ध चार खेलमा विजय हासिल गरेको होे । आईपीएलमा यस्तो घटना योसमेत दोस्रोपटक भएको हो । योभन्दा अघि सन् २०१८ को ११औँ संस्करणमा चेन्नईले सनराइजर्स हैदरावादविरुद्ध चार खेलमा विजय हासिल गरेर कीर्तिमान बनाएको थियो । आईपीएलको इतिहासमा एकै संस्करणमा सातौँपटक दुई टोली चारपटक आपसमा भिडेका छन् ।

हैदरवादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा मुम्बईले टस जितेर पहिले ब्याटिङ गरेको थियो । खराब ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४९ रनमा सीमित भएको थियो । मुम्बईका लागि किरोन पोलार्ड सर्वाधिक रन बनाएका थिए ।

एक सय ५० रनको विजय लक्ष्य पाएको चेन्नईले सुझबुझका साथ व्याटिङ गरे पनि विजय हासिल गर्न असफल भयो । चेन्नईका लागि सेन वाटसनले ८० रनको महत्वपूर्ण पारी खेल पनि उनले आफ्नो टिमलाई च्याम्पियन बनाउन सकेनन् । अन्तिम ओवरमा वाटसन आउट भएपछि खेलको पासा पल्टिएको थियो । खेलको अन्तिम बलमा चेन्नईलाई विजयको लागि २ रन चाहिएको थियो । तर, अनुभवी बलर लसिथ मलिङ्गाले आफ्नो अन्तिम बलमा शार्दुल ठाकुरलाई एलबीडब्लू आउट गरेपछि मुम्बईले १ रनले खेल जितेको थियो । चेन्नई २० ओभरमा सात विकेट गुमाउँदै १ सय ४८ रनमा सिमित भयो ।

आईपीएलको १२औँ संस्करणमा सर्वाधिक रन बनाउने सनराइजर्स हैदरवादका डेबिड बार्नरले अरेन्ज क्याप जिते । उनले यो सिजनमा सर्वाधिक ६ सय ९२ रन बनाएका थिए । त्यस्तै यो संस्करणमा उत्कृष्ट बलिङको प्रदर्शन गर्दै सर्वाधिक विकेट लिएका चेन्नईका इमरान ताहिरले पर्पल क्याप जितेका छन् । ताहिरले प्रतियोगिता अवधिभरि सर्वाधिक २६ विकेट लिएका थिए । ब्याटिङ र बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमस दश–दश लाख भारतीय रुपैयाँ प्राप्त गरेका थिए ।

आईपीएलको १२औँ संस्करणमा पहिलेका संस्करणको तुलनामा पाँच करोड वृद्धि गरिएको थियो । आईपीएलको पहिलाका संस्करणको पुरस्कार राशि ५० करोड थियो । यसपटक बीसीसीआईले यसमा थप पाँच करोड रुपैयाँको वृद्धि गरेको थियो । जसअनुसार विजेता, उपविजेता र नम्बर तीन र चार स्थान प्राप्त गर्ने टोलीलाई नगदको पुरस्कार प्रदान गरिएको थियो ।

आईपीएलमा विजयी टोली मुम्बईले २० करोड नगदसहित आईपीएलको ट्रफी र उपविजेता टिम चेन्नई १२ करोड ५० लाख प्राप्त गरेका थिए । त्यस्तै तेस्रो नम्बरमा रहेको दिल्ली क्यापिटलले १० करोड ५० लाख र चौथो स्थान प्राप्त गरेको सनराइजर्स हैदरावादले आठ करोड ५० लाख नगद प्राप्त गरेका थिए ।