प्रचण्ड-सीताको विवाहोत्सव विवादास्पद व्यापारीको दरबारमा !

प्रचण्ड-सीताको विवाहोत्सव विवादास्पद व्यापारीको दरबारमा !


कसैले वैवाहिक जीवन आरम्भ भएको पचास वर्ष पुगेको अवसरलाई उत्सवका रूपमा मनाउन चाहन्छन् भने त्यो स्वाभाविक र सामान्य मानिन्छ । तर, नेकपाका सहअध्यक्ष प्रचण्डको पचासौँ ‘वर्षगाँठ’ भने विभिन्न कारणले असामान्य र अस्वाभाविक मान्नुपर्ने भएको छ ।

वैवाहिक जीवन शुरु भएको पचासौँ वर्षमा प्रचण्डले पत्नी सीतासँग फेरि एकपटक विवाह रच्ने भएका छन् । वैशाख २६ गते ललितपुरको सुनाकोठीमा आयोजना गरिने भव्य विवाह महोत्सवमा सहभागी बन्नका लागि प्रचण्डले विभिन्न राजनीतिक दलका नेता, उच्च तहको व्यापारिक घरानाका व्यक्ति, उच्चपदस्थ कर्मचारी, साहु–महाजन, आफन्त र साथीहरूलाई निम्तापत्र बाँडेका छन् ।

लामो समयदेखि बिरामी परिरहेकी पत्नी सीतासँग पुनर्विवाह गर्दा शुभ हुने भनी ज्योतिषीहरूले सुझाव दिएपछि प्रचण्डले विवाह रचेको बताइन्छ । यसरी वैवाहिक उत्सव मनाइनु या ज्योतिषीको सल्लाहअनुसार पुनः विवाह गर्नु आफैँमा धेरै ठूलो र बहुचर्चायोग्य घटना नहुन सक्छ, प्रचण्डको विवाह उत्सव जहाँ जसरी हुँदै छ त्यसलाई चाहिँ स्वाभाविक मान्न सकिने अवस्था छैन ।

प्रचण्डले ललितपुरको सुनाकोठीस्थित विवादास्पद व्यापारी नीरजगोविन्द श्रेष्ठको दरबारमा वैवाहिक समारोहको आयोजना गरेका छन् । अठार रोपनी क्षेत्रफलमा रहेको उक्त दरबारमा प्रचण्ड अरू बेला पनि ‘आराम फर्माउन’ जाने गर्दछन् । कुनै समय उपेन्द्र महतोको व्यापारिक साझेदार रहेका नीरजगोविन्द केही वर्षदेखि प्रचण्डको व्यापारिक साझेदारका रूपमा पनि चर्चित छन् । वर्षमा केही समय बेलारुसमा र केही समय काठमाडौं बस्ने नीरजगोविन्दको नाममा प्रचण्डले एनसेल कम्पनीमा समेत एक समय शेयर राखेको बताइन्छ ।

एनसेलमा प्रचण्डको समेत शेयर रहेको पुष्टि कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने स्थिति छैन । तर, विभिन्न सूत्रहरूबाट प्राप्त सूचनाअनुसार नीरजको नाममा प्रचण्डले एनसेलमा शेयर राखेका थिए । प्रचण्ड र नीरजबीचको घनिष्टताले पनि उनीहरू सामान्य मित्रवत् सम्बन्धमा मात्र सीमित रहेको देखाउँदैन ।

ज्ञातव्य छ, सर्वोच्च अदालतले एनसेलबाट करिब सत्तरी अर्ब रुपैयाँ राजस्व (कर) उठाउन आदेश दिएको दुई महिना बितिसकेको छ । तैपनि सरकारले अहिलेसम्म एनसेलबाट कर उठाउन कुनै ठोस तत्परता लिएको छैन ।