छात्रा भलिबलमा न्यु डायमण्ड च्याम्पियन

छात्रा भलिबलमा न्यु डायमण्ड च्याम्पियन


प्रथम प्यारामाउन्ट कप विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगितामा न्यु डायमण्ड च्याम्पियन बनेको छ । वैशाख २१ गते शनिबार भएको फाइनल खेलमा न्यु डायमण्डले आयोजक प्यारामाउन्टलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा २१–२३ ले पछि परेको न्यु डायमण्डले खेलमा फर्कंदै लगातार चार अंक जोडेपछि २५–२३ को सेटमा आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेटका न्यु डायमण्डले आयोजकलाई २५–१७ र २५–१४ मा रोक्दै च्याम्पियन बन्न सफल भयो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी न्यु डायमण्डकी बाल्मिका आचार्यले सर्वोत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले आर्कषक ट्रफी र नगद २ हजार हात पारिन् ।

त्यस्तै उत्कृष्ट स्पाइकरको उपाधि प्यारामाउन्टकी सृष्टि खड्कीले जितिन् । आयोजक प्यारामाउन्टकै अनिषा श्रेष्ठ उत्कृष्ट सेटर चुनिइन् । न्यु डायमण्डकी रश्मिता दुराले उत्कृष्ट डिफेन्स, रिया कुँवरले उत्कृष्ट सर्भरको उपाधि हात पारे । उत्कृष्ट प्रशिक्षकको उपाधि न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपलसमेत रहेका प्रशिक्षक कुमार राईले हात पारे । विजेताले नगद १ हजार पनि प्राप्त गरेका थिए ।

त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा आयोजकको बी टिमले परोपकार नेपाललाई २५–२३, २१–२५, २५–२३, १९–२५ र १५–१० को सेटमा हरायो । उपाधि विजेता टिम न्यु डायमण्डले नगद २० हजार, उपविजेता आयोजकले १५ हजार, तेस्रो हुने आयोजक बीले १० हजार र चौथो हुने टिमले फियर प्ले अवार्डका साथै नगद ५ हजार प्राप्त गरे । विजेता टिम तथा खेलाडीलाई नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, आयोजक प्यारामाउन्ट स्कुलका प्रिन्सिपल गोकर्ण लिम्बूलगायतले पुरस्कृत गरेका थिए ।