‘धर्मराएको घलेगाउँ सानो दुःखले बौरिएको होइन’

– प्रेम घले (अध्यक्ष, घलेगाउँ ग्रामीण पर्यटन समिति)

२०१४ सालमा लमजुङको दुर्गम गाउँमा जन्मिएका प्रेम घले कुनै एक समय लाहुरे बन्न भौताँरिदै भारत पुगेका थिए । त्यहाँ लाहुरेहरूको दर्दनाक पीडा देखेर २०३५ सालमा पुनः आफ्नै गाउँ फर्किएका उनी गाउँमा कुनै विद्यालय नभएकोले विद्यालय खोल्ने अभियानमा लागे । ०३५ सालमा घले उत्तरकन्या प्राथमिक विद्यालय खोलेर आफैं शिक्षक भई काम गर्न थाले । दत्तचित्त लगाएर १० वर्षसम्म शिक्षक पेशामा गुजारेपछि पेशाबाट राजीनामा दिएर उनी ०४६ सालको जनआन्दोलनसँगै राजनीतिमा प्रवेश गरे । यससँगै ०४९ सालमा गाविस अध्यक्षमा निर्वाचित घले जनताको आर्थिक विकास गरे गाउँ बन्छ भन्ने अभियान लिएर गाउँलेको काम गर्दै अघि बढ्न थाले । फलस्वरुप घले २०५४ मा पुनः गाविस अध्यक्षमा निर्वाचित हुन पुगे । स्याङ्जाको सिरुबारीस्थित पर्यटकीय गाउँबाट पाठ सिकेर लम्जुङको ‘घलेगाउँ’लाई सार्क राष्ट्रमै नमुना बनाउन सफल भए उनी । घलेगाउँ ग्रामीण पर्यटन समितिका अध्यक्ष समेत रहेर गाउँमा भेँडीगोठ, चियाबगान र सर्लक्क मिलेको गाउँलाई पर्यटकीय केन्द्र बनाउने योजना बनाए । फलस्वरुप आज घलेगाउँ विश्वभर नै विख्यात हुन पुगेको छ । क्व्होलासोंथर गाउँपालिकाका प्रमुख समेत रहेका उनै घलेसँग गरिएको कुराकानी :

० हिजोआज के गर्दै हुनुहुन्छ ?
– गाउँपालिकाको प्रमुख भएपछि अलि ब्यस्त नै बनाएको छ । जनताको काम गर्न आएपछि ब्यस्त नै भएको छु । जनताको समस्या समाधान र गाउँको विकासमा चासो दिएको छु ।

० घलेगाउँलाई कत्तिको समय दिनुभएको छ नि ?
– पहिलेको तुलनामा अलि कम नै छ । किनकि पहिले पूरै ध्यान त्यतै लगाउन समय हुन्थ्यो, अहिले चाहिँ जनप्रतिनिधि चुनिएकोले आफ्नो गाउँलाई मात्रै समय दिएर बस्न मिल्दैन । अहिले क्व्होलासोंथर गाउँपालिकाकाका सबै वडाको विकास जनताको समस्या समाधान, कार्यक्रमको ब्यस्तताले घलेगाउँलाई खासै समय दिन पाएको छैन । पर्यटन समितिका पदाधिकारीहरूले समय दिनुभएको छ, जसले मेरो अभाव महसुस हुन दिएको छैन ।

० घलेगाउँ सार्क राष्ट्रकै नमुना पर्यटकीय गन्तब्य बन्नुपूर्व कस्तो अवस्थामा थियो ?
– सुन्दर र मनोरम दृश्यले भरिपूर्ण घलेगाउँको गुरुङबस्ती सुरुको अवस्थामा निकै गरिव गाउँको रुपमा थियो । शुरुका दिनहरूमा गाउँमा कुनै आर्थिक उन्नति नभएका कारण गाउँका ७५ प्रतिशत जनताहरू वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता थियो । जसले गर्दा गाउँ युवाविहीन बन्न पुगेको थियो । गाउँमा बाँकी रहेका वृद्ध बा–आमाहरूले प्रशस्तै उत्पादन गरेका खाद्यान्नहरू बढि भई कुहिने अवस्थामा पुग्थे । तर उनीहरूलाई त्यस्ता वस्तु बेचेर पैसा आउँछ भन्ने ज्ञान वा सोच थिएन । वरपर कतै विद्यालय नभएका कारण पूरै गाउँ अशिक्षित थियो । अशिक्षाका कारण सिङ्गै गाउँ परम्परागत शैलीमा रुमालिन पुग्यो ।

० गाउँमा ग्रामीण पर्यटनको अवधारणा चाहिँ कहिले र कसरी भित्रियो ?
२०४९ सालमा पहिलोपटक म गाविस अध्यक्षमा निर्बाचित भएँ । म युवा भएको कारणले गाउँमा भएका सबै समस्याहरू राम्रोसँग बुझ्ने मौका पाएँ । मैले बिस्तारै गाउँलाई बसाइसराइँबाट बचाउने र गाउँमै आर्थिक उन्नती गरी वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्यामा घटाउने योजनामा लागे । गाउँ बाक्लो र झुण्ड भएका कारण फोहोर अलि बढि हुन्थ्यो त्यसैले शुरुमा मैले शौचालय निर्माण गर्ने अभियान चलाएँ जसले गर्दा गाउँभर शौचालयको निर्माण भयो । गाउँमा गुरुङहरूको परम्परागत कला, संस्कृतिहरूलाई जगेर्ना गर्ने र घलेगाउँमा रहेको प्रकृतिलाई पर्यटकहरूमाझ देखाउने मेरो शोख थियो र त्यसैअनुरुप मैले काम गर्दै अघि बढे फलस्वरुप गाउँलेको सहयोगमा मैले २०५४ सालमा घलेगाउँमा ग्रामीण पर्यटनको अवधारणा ल्याएँ ।

० घलेगाउँलाई यो अवस्थामा ल्याउन कस्ता कामहरू गर्नुपऱ्यो ?
– घलेगाउँ प्राकृतिक छटाले भरिपूर्ण स्थल हो । १० वटा जिल्लालाई राम्रोसँग नियाल्न सकिने यस पर्यटकीय गाउँलाई सार्क राष्ट्रकै नमुना बनाउन सबैसँग हात फैलाउनु पऱ्यो । घलेगाउँ निकै शान्त, मनोरम गाउँ भएकाले मेरो मनमा पर्यटकीय गाउँ बनाउने इच्छा जाग्यो र जिल्लाका पर्यटन ब्यवसायी, उद्योग बाणिज्य संघ, पर्यटन बोर्डलगायतका सरोकारवाला निकायसँग समन्वय गरेपछि मलाई सफलता मिलेको हो । मैले गाउँ र यहाँको वासिन्दालाई पर्यटन ब्यवसायी बनाउनको लागि कृषि विकास बैंकबाट ऋण लिएर होमस्टे सुधार गरेँ । यसका अलवा होमस्टे सञ्चालक र गाउँका अन्य ब्यक्तिहरूलाई पर्यटनसम्बन्धी तालिमको व्यवस्था मिलाएँ । साह्रै दुःखका साथ काम गरेको हुँ । शुरु–शुरुमा गाउँमा होमस्टे शुरु गर्दा मलाई पागलको संज्ञा पनि दिए । तैपनि मैले गाउँलेलाई बिस्तारै समझाएँ, बुझाएँ । शुरुवाती २-४ वर्ष निकै गाह्रो पऱ्यो । तर अहिले गाउँलेको सोचमा परिवर्तन आएको छ । विदेश हानिएकाहरू गाउँ फर्किएका छन् । होमस्टे चलाउने र कृषि उपज उत्पादन गर्नेलाई फुर्सद नै छैन ।

० गुरुङहरूको आदिम थलो घलेगाउँमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई कसरी मनोरञ्जन गराउनुहुन्छ ?
– गुरुङ भाषाको गीत नै हाम्रो खास पहिचान हो । यसका अलवा आमा समुहको न्यानो स्वागत, गुरुङ जातिको संस्कृतिको रुपमा लिइएको घाँटु नाच, कृष्णचरित्र र स्थानीय खानाको स्वाद नै पर्यटकलाई लोभ्याउने हाम्रा प्रमुख आधार हुन् । गुरुङहरूको आदिम थलोको रुपमा लिइएको घलेगाउँमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई यहाँका आमा समुह, बाबा समुह, युवा क्लवले स्वागत गर्छन् । फूलको माला र सेतो अक्षतासहितको स्वागत र विदाईले पर्यटकलाई एकदमै खुसी तुल्याइदिन्छ । यसका साथै पर्यटकहको रोजाईअनुसारका नाचगान गरी मनोरञ्जन गराउने गरिन्छ ।

० तपाई त घलेगाउँको योजनाकार, अभियन्ता सबै हुनुहुन्छ । के छन् घलेगाउँप्रति तपाईका भावी योजनाहरू ?
– मेरो अठोट अनि त्याग–तपस्याको उदाहरण हो यो । म हिजो पनि घलेगाउँको प्रचारप्रसार र स्तरीकरणमा तल्लिन थिएँ, आज पनि छु र भोली पनि हुनेछु । घलेगाउँलाई विश्वविख्यात बनाउन मैले पाँच वर्षको योजना बनाएको छु । आगामी पाँच वर्षभित्र आवश्यक पूर्बाधारको निर्माण गरी घलेगाउँलाई सुनको टुक्रा बनाएरै छाड्छु । सार्क राष्ट्रकै नमूना पर्यटकीय गाउँमा विख्यात घलेगाउँलाई विश्वमै परिचित गराउने तयारीमा लागेको छु । घलेगाउँमा दिन–प्रतिदिन सयौको संख्यामा पर्यटकहरूको ओइरो लाग्न थालेपछि पूर्वाधारको खाँचो पर्दै गएको छ । हामी त्यसको व्यवस्थापनमै तल्लीन छौँ ।

० अहिले घलेगाउँमा कतिवटा घरमा होमस्टे सञ्चालन गरिएको छ ? त्यहाँ होमस्टेको मापदण्डहरू पूरा भएका छन् त ?
– घलेगाउँमा पर्यटकहरूलाई राख्नको लागि होमस्टे सञ्चालन गरिएको छ भन्दा मलाई अहिले निकै गर्व लाग्छ । साँच्चिकै भन्नुपर्दा यो लमजुङको मात्रै नभएर सार्क राष्ट्रकै इज्जत हो । १ सय १५ घर रहेको घलेगाउँमा शुरुमा हामीले १२ घरमा मात्रै होमस्टे सञ्चालन गरेकोमा अहिले त्यसको संख्या बढाएर ३४ पुऱ्याएका छौँ । मापदण्डको कुरा गर्नुपर्दा घलेगाउँमा सञ्चालित सबै होमस्टेहरू सफा र दोहोरो हावा खेल्ने खालका रहेका छन् । होमस्टेका सबै कोठाहरू साढे ६ फिट अग्ला रहेका छन् । प्रत्येक कोठामा दुईवटा मात्र आरामदायी बेड राखिएको छ । यसका साथै ब्यवस्थित शौचालय र छुट्टै नुहाउने कोठाको ब्यवस्था समेत गरिएको छ । पछिल्लो समययता घलेगाउँको होमस्टे एउटा गुरुको रुपमा समेत प्रस्तुत हुन पुगेको छ । यहाँ दैनिकजसो अन्य जिल्लाका पर्यटन ब्यवसायीहरू केही सिक्नको लागि आउने गर्दछन् ।

० घलेगाउँका सबै घरहरूमा होमस्टेको ब्यवस्था छैनन् । होमस्टे सञ्चालन नभएका घरहरूलाई त्यस क्षेत्रको पर्यटन विकासमा कसरी सहभागी गराउनुभएको छ नि ?
– घलेगाउँमा रहेका सबै घरमा होमस्टे सञ्चालन गर्नु राम्रो पनि होइन । होमस्टे सञ्चालन गरिएका ३२ घरबाहेकका घरपरिवारहरू आफै विभिन्न खालका वस्तु तथा सेवा उत्पादन गर्ने गर्दछन् । जसको घरमा होमस्टे छैन उनीहरूले ३२ घरलाई चाहिने स्थानीय मदिरा, आवश्यक तरकारी, मासु, रंगीबिरङ्गी फूल, राडी, पाखी, बख्खु, गलैँचा लगायतका वस्तुहरू उत्पादन गरी बिक्री गर्ने गर्दछन् । यति मात्रै नभएर उनीहरूलाई गाउँमा आएका पाहुनाको स्वागत अनि नाचगानमा ब्यस्त बनाइएको छ । सबैले होमस्टे सञ्चालन गरे भने पर्यटकलाई के खुवाउने, कसले स्वागत गर्ने ? त्यसैले ३४ घरले पर्यटक राख्छन् भने अन्यले बस्तु उत्पादन गरी होमस्टे भएका घरलाई बिक्री गर्छन् र आफ्नो जीविका चलाउँछन् ।

० घलेगाउँ पुगेका पाहुनालाई खुवाउने स्थानीय परिकारहरू के–के छन् त ?
– एकपटक घलेगाउँमा पुगेर फर्केका जुन कुनै पर्यटक पनि स्थानीय खानाको स्वाद सम्झेर फेरि दोहोऱ्याएर घलेगाउँमै आइपुग्ने गर्दछन् । घलेगाउँमा आउने पाहुनाको लागि लोकल कुखुराको मासु, ढिंडो, सिस्नोको खोले अनि स्थानीय चिया महत्वपूर्ण मानिन्छ । मंसिरदेखि माघ महिनासम्म घलेगाउँ पुग्ने पर्यटकहरू बिशेष गरी क्याम्प फायर गरी लोकल कुखुराको मासु पोलेर खान मन पराउँछन् । त्यसैले होला यी तीन महिनामा आन्तरिक पर्यटकहरूको ओइरो नै लाग्ने गर्दछ । अर्कोतिर यहाँ खानाको परिकारभन्दा पनि नजिकैबाट विभिन्न हिमाललाई नजिकैबाट नियाल्न सकिने हुँदा घलेगाउँ आउने पर्यटक प्रकृति हेर्दैमा अघाउने गर्दछन् ।

० घलेगाउँ ‘एक्याप’ क्षेत्रभित्र पर्दछ । एक्यापले त्यस पर्यटकीय क्षेत्रका वासिन्दाहरूलाई कस्तो खालको सेवा उपलब्ध गराएको छ त ?
– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र रहेको घलेगाउँमा एक्यापले पर्यटनसम्बन्धी तालिम दिनुका साथै अन्य भौतिक संरचनाको विकासमा सहयोग गर्दै आएको छ । पर्यटन विकासका लागि स्वच्छ खानेपानी, बाटो निर्माण, गाइड, कुकिङ तथा नेतृत्व विकास जस्ता तालिम दिँदै आएको छ । एक्यापले घलेगाउँ र भुजुङमा चिया वगानको विस्तार गरेको छ । स्थानीयवासी र एक्यापको सहकार्यमा पश्चिमाञ्चलकै इलाम बनाउने उद्देश्यले भुजुङ र घलेगाउँमा चिया बगानको निर्माण गरिएको छ ।

० घलेगाउँलाई साँच्चिकै घलेगाउँ बनाउन अहिलेसम्म कति बजेट खर्च गर्नुपऱ्यो होला ?
– खर्चको कुनै लेखाजोखा नै छैन र राख्दिनँ पनि । वैदेशिक रोजगारी र बसाइँसराइको रोगले ध्वस्त बन्न लागेको घलेगाउँलाई मैले मेरो जीवन नै दिएको छु । म यसलाई कसरी हिसाब गरुँ ? घलेगाउँलाई म चीनको तिब्बत जस्तै तुल्याएर आर्थिक विकासको नमुना गन्तब्य बनाउने छु । हरेक वर्ष २५ देखि ३५ हजार पर्यटक घलेगाउँ आउने गरेका छन् । अब मेरो टार्गेट भनेको १ लाख पुऱ्याउने हो । पाँच वर्षको मेरो योजना सफल भएपछि वार्षिक १ लाख पर्यटक भित्र्याउने योजना बनाएको छु ।

० हरेक वर्ष हजारौँ स्वदेशी तथा विदेशी पर्यटकहरू घलेगाउँ पुग्ने गर्दछन् । तर घलेगाउँसम्म पुग्ने सडक स्तरोन्नती गर्ने कामचाहिँ के भइरहेको छ ?
– लमजुङका दर्जनबढि पर्यटकीय गाउँसम्म पुग्ने सडकमा भन्दा घलेगाउँसम्म पुग्ने सडकमा सवारीसाधनको चाप बढि छ । सदरमुकाम बेसीशहरबाट २४ किलोमिटरको दुरीमा रहेको यो सडक स्तरोन्नतीको पर्खाइमा छ । सडक निर्माणको लागि म अहोरात्र खटिरहेको छु । सार्क राष्ट्रमै प्रख्याति कमाएको यस पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे गर्न नेपाल सरकारले आश देखाइदिएको छ । मलाई लाग्छ, बेसीशहरदेखि घलेगाउँसम्मको सडक छिट्टै कालोपत्रे हुन्छ ।

० एउटा गाउँलाई सार्क राष्ट्रमै चिनाउने क्रममा तपाईंलाई कुनै बाधा अवरोध पनि आयो कि ?
– १०वर्षे जनयुद्धले घलेगाउँको ग्रामीण पर्यटनलाई नराम्ररी प्रभावित बनायो । गाउँ नै परिवर्तन गरायो भनेर तत्कालीन नेकपा माओवादीबाट मलाई जनकार्वाहीसम्मको धम्की पनि नआएको होइन, तर म विचलित भइनँ । किनभने, मलाई आफ्नै गाउँले दाजुभाइहरूले साथ दिएका थिए । २०५७ सालसम्म आइपुग्दा गाउँमा पूर्वाधार विकास शुन्यमा थियो । त्यतिबेलादेखि नै घलेगाउँमा महोत्सवको आयोजना गरी गुरुङहरूको पहिचानका लागि महोत्सवको आयोजना गऱ्यौँ । तत्पश्चात नेपाल पर्यटन बोर्डले घलेगाउँको भ्रमण गरी नेपाल पर्यटन वर्ष २००३ घोषणा गरेपछि तीव्र रुपमा प्रचारप्रसार हुन थाल्यो र २०६४ सालमा तत्कालीन पर्यटनमन्त्री पृथ्वीसुब्बा गुरुङले घलेगाउँलाई सार्क राष्ट्रकै नमुना गाउँ घोषणा गरेका थिए ।

० अहिले त घलेगाउँ नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ भएको छ नी होइन ?
२०५६ सालबाट सुरु भएको ग्रामीण पर्यटन प्रवर्द्धनका प्रयासबाट घलेगाउँ अहिले नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ रुपमा अघि बढेको छ । २०७५ पुस देखि हामीले गाउँलाई हामीले स्मार्ट भिलेजको शुभारम्भ गरेका हों । यसको पूर्वाधार विकासका लागि गण्डकी प्रदेश सरकारबाट २९ लाख ४६ हजार रुपैया बजेट विनियोजन भएको छ । क्व्होलासोंथर गाउँपालिकाले १५ लाख बजेट छुट्याएको छ । अपुग ३० लाख बजेट तारा गाउँ विकास समितिलाई माग गरेका छौँ । स्मार्ट भिलेजको अभियानअन्तर्गत गाउँका १ सय २५ घरमध्ये हामीले ८० प्रतिशत घरमा पुराना छानो हटाएर नयाँ रातो रंगको टीन लगाएका छौँ । घलेगाउँ भनेपछि अहिले संसारले चिनेको छ । घलेगाउँबाट सिकेर धेरै गाउँका वासिन्दाले पर्यटन प्रवर्द्धनका कार्यक्रम गरी होमस्टे सञ्चालन गरेका छन् । यो घलेगाउँको देन हो ।

० महोत्सवको पनि आयोजना गर्नुभएको छ होइन ?
– हो हामीले हरेक वर्ष घलेगाउँ महोत्सवको आयोजना गर्दै आएका छौँ । यहाँका वासिन्दाले पर्यटन प्रवर्द्धनका कार्यक्रम गरेको २० वर्ष पुगेको छ । यसैको अवसरमा हामी २०औँ घलेगाउँ महोत्सव मनाउने तयारीमा छौँ । हामी ठूलो तडकभडक गरेर महोत्सव मनाउँदैनौँ । महोत्सव मनाउने हाम्रो छुट्टै तरिका छ । पर्यटकलाई सदैव स्वागत गर्ने घलेगाउँवासीले महोत्सवलाई चाडपर्वको रुपमा मनाउँदै आएका छौँ । त्यसैले ‘प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरवास, घलेगाउँ समृद्धिको आधार–स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवर्द्धन, ग्रामीण पर्यटन विकासको पूर्वाधार’ भन्ने नारासहित यही वैशाख २३, २४ र २५ गते २०औँ घलेगाउँ महोत्सव आयोजना गरेका हौँ ।

० के–के छन् त महोत्सवका आकर्षण र उद्देश्य ?
– हामी आफ्नै कला संस्कतिको जगेर्नामा जोड दिन्छौँ । गुरङहरूको आफ्नै कला संस्कति छ । महोत्सवमा हामीले गुरुङ संस्कृति (घाँटु, सोरठी, सेर्का, घ्याब्रे, कृष्णचरित्र लगायतका पौराणिक नृत्य प्रदर्शन गर्छौं । यस्तै, गुरुङ खाना महोत्सव, मनोरम प्राकृतिक दृश्यालोकन, स्थानीय तथा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुति, पौराणिक हास्तकला सामग्री प्रदर्शनी, लोकल कृषि उपजको प्रदर्शनी, हिमाल दृश्यवलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन संग्रहालय, स्वर्गभूमि रंगाशाला, क्व्होइँबो धीं पार्क, नमूना चिया बगान, तिजे उत्तरकन्या मन्दिर, पौराणिक भेडीगोठ, होमस्टे सम्बन्धी कार्यशाला गोष्ठी महोत्सवका आकर्षण रहेका छन् । यस्तै हामीेले महोत्सवमार्फत घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न, पौराणिक लोक संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा विकास, प्राकृतिक स्रोतसाधनको सदुप्रयोग गर्ने, पौराणिक हास्तकला सामग्री तथा स्थानीय कृषि उपजको जगेर्ना गर्ने, ग्रामीण पर्यटनको प्रचारप्रसार, पर्यटनबाट समृद्धि सम्भव छ भनी सन्देश फैलाउने, घलेगाउँलाई ‘स्मार्ट भिलेज’को रुपमा चिनाउने हाम्रा उद्देश्य रहेका छन् ।

० अन्तमा थप केही… ?
– विगतमा जस्तो घलेगाउँ आउन कठिन छैन । अहिले सदरमुकाम बेसीशहरबाट सजिलै घलेगाउँ आउन सकिन्छ । देशका प्रमुख शहरहरू काठमाडौं, पोखरा, नारायणगढ लगायतका स्थानबाट लमजुङ सदरमुकाम बेसीशहर हुँदै घलेगाउँ आउन सकिन्छ । हामी पर्यटकलाई सकभर अर्गानिक र स्थानीय परिकारका साथ स्वागत गर्दछौँ ।

प्रतिक्रिया