कार्लमार्क्सको ‘पुँजी’ पढेर सम्झेको कुरा

मैले बुझेको कम्युनिज्म सिद्धान्त केवल ‘अर्थ’ अर्थात् ‘धन’मा आधारित छ । त्यसैले नेपालको कम्युनिस्ट शासकहरू टुँडिखेलबाट नि उत्पादन नै गर्न खोज्छन् । सरकारका हरेक सेवा तथा कार्य आर्थिक नाफा घाटामा मूल्याङ्कन गर्छन् ।

  • स्वयम्भूनाथ कार्की

जनमतसङ्ग्रहभन्दा पहिलेदेखि नै मलाई कम्युनिस्टका प्रकाशन, नेकाका प्रकाशन पढ्न कुनै सङ्घर्ष गर्नुपरेन । कता पाइएला भनेर खोज्नु पनि परेन, पुलिसले भेट्ला भनेर लुक्नु पनि परेन । तत्कालीन कानुनअनुसार २१ वर्षमा मात्र मतदान गर्न पाइन्थ्यो । जनमतसङ्ग्रह उमेर पुग्नेबित्तिकै गरेको पहिलो मतदान थियो । अहिलेको मतदान गर्ने उमेर अर्थात् १८ वर्षदेखि नै यी पुस्तकहरू पढ्न उपलब्ध गराउने धेरै थिए, कपाल पाकेकादेखि समवयसम्म । कुनै कुरा कसैले भनेको भरमा मात्र नमान्ने भएकाले आफ्नो विचारधारामा तान्न यस्ता सामग्रीहरू उपलब्ध गराइन्थ्यो । प्रतिबन्ध गरिएका भनिएका भारतीय पत्रिकाहरू सबैजसो मसम्म आइपुग्थे । त्यो ल्याउनेले कति र के गर्नुप¥यो भन्ने कहानी त्यसबेला सुनिएन ।

त्यसैक्रममा हिन्दीमा अनुदित र प्रगति प्रकाशन मस्कोबाट प्रकाशित कार्लमाक्र्सको पुँजीका तीनै भाग पनि पढ्न पाएको थिएँ । पादटिप्पणी (फुटनोट), अन्त्यटिप्पणी (इन्डनोट) भरमार भएका यी पुस्तक छिचोल्न झन्डै दुई वर्ष लागेको थियो । कतिपय शव्दावलीहरू न त्यसबेला बुझियो न अहिले नै । तर, कम्युनिज्म सिद्धान्त यिनै तीन ठेलीमा आधारित भनेर भनिएकाले भरसक बुभ्mने प्रयत्न गर्दा कुनैकुनै पृष्ठ कैयौँचोटि पनि पढियो । चार दशकपछि पनि त्यसका मूलभूत केही कुराहरू सम्झनामा छ ।

त्यसबेला मैले बुझेको कुरा के थियो भने कम्युनिज्म सिद्धान्तले मानवजीवनको आवश्यकता केवल बास, गाँस र कपास मात्र हो भन्छ । यसले सम्पन्नताको परिकल्पना गर्दैन, तर आवश्यक बास, गाँस र कपासको निरन्तरता हुनुपर्छ भन्छ । यो सबै २४ घन्टाको दिनमा आठ घन्टाको श्रमको मूल्यमा । बाँकी १६ घन्टा आधा आराम र आधा मनोरञ्जनमा खर्च गर्ने परिकल्पना हो । भौतिक निर्माण नै विकास हो भन्ने सोच राख्छ । अनि श्रम, मनोरञ्जन र आराममा प्रयुक्त हुने साधनबाहेक अरू कुनै पनि संसाधन पुँजी समुदाय हुँदै शासकको अधीनमा मात्र हुनुपर्छ भन्ने धारणा हो ।

साम्यवादको परिकल्पनामा पुग्न सबै व्यक्ति समान हुनुपर्छ । समान वितरण भनेको कसैसँग पनि काम, मनोरञ्जन अनि आरामको निमित्त कुनै अभाव हुन नदिनु हो । त्यसका साथै कसैसँग अतिरिक्त जम्मा हुन पनि नदिनु हो । पुँजीको लेखाइ त्यतिखेरका दार्शनिक, अर्थशास्त्री, कारखाना मालिकहरूको आलोचना अनि उनीहरूको प्रश्नको उत्तरको शैलीमा छ । त्यसमा राजनीतिक अर्थशास्त्रको रूपमा पुँजीवादी उत्पादन प्रणालीको दोष अनि समाजवादी उत्पादन प्रणालीको गुणको व्याख्या छ । ज्यादाजसो पुँजीवादी उत्पादन प्रणालीको मिनमेख निकालिएकोले समाजवादी उत्पादन प्रणालीबारे अवधारणा भने छ, तर रूपरेखा प्रस्ट छैन । यो कुरा कम्युनिज्म अभ्यास गर्ने विभिन्न मुलुकहरूले समाजवादी उत्पादन प्रणालीको आ–आफ्नो किसिमको प्रयोग गरेबाट प्रस्ट हुन्छ । लेनिन, माओ, चे ग्वेभरा आदिले प्रयोग गरेको कम्युनिज्म माक्र्सकै सिद्धान्तमा आधारित मान्दा देखिएको फरक यसको प्रमाण हो ।

पुँजीको अध्ययनको मेरो नतिजा यस्तो रह्यो । यसमा पुँजीवादी उत्पादन प्रणाली मात्र अस्तित्वमा छ भन्ने सोच भएकोले मध्यमवर्गीय उत्पादन प्रणाली र त्यसको असरबारे विवेचन छैन । दुई वर्गको परिकल्पना छ पुँजीपति र सर्वहारा । पछि कम्युनिस्ट पार्टीको घोषणापत्र लेख्दा पनि मध्यमवर्गीय उत्पादन प्रणालीमा जोडिएका किसान, साना उद्योगी–व्यापारी अदिलाई ‘बुर्जवा र सर्वहारा’ खण्डमा खतर्नाक वर्ग, समाजको फोहोर आदि नाम दिएको छ । कसैको उचित ज्याला भनेकोे आठ घन्टाको श्रमले उसको आवश्यकता पूरा हुनु हो । कुनै वस्तुको मोल भनेको त्यसको कच्चा पदार्थ, कारखाना खर्च र मजदुरको श्रम मात्र हो । त्यसमा पुँजीले थपिने ब्याज, भाडा, लगानीको प्रतिफल हुन्न । त्यसैले हरेक नाफा अतिरिक्त मूल्य हो जो केवल श्रमको शोषणबाट मात्र सम्भव छ ।

अब कसैले यसमा विज्ञान देख्न सक्छन्, मेरो सीमित बुद्धिले त यहाँ कुनै विज्ञान देखेन । पुँजी लेख्दा महत्वहीन देखिएको वा देख्न नसकिएको मध्यमवर्गीय उत्पादन प्रणाली जसमा मालिक आफैं श्रमिक पनि हुन्छ, छुटेको छ । किसान न बुर्जुवामा पर्छन् न सर्वहारामा । यसअनुसार बुर्जुवा त्यो हो जो केवल पुँजीको बलले शोषण गरेर मात्र जीवनयापन गर्छ, सर्वहारा भनेको त्यो हो जोसँग शारीरिक श्रमबाहेक बेच्ने अन्य केही हुन्न । त्यसैले घोषणापत्रसम्म आउँदाआउँदै त्यो वर्ग मार्क्सको सोचमा खतरनाक वर्ग भयो । स्वतन्त्र र साना किसानको अस्तित्व चे ग्वेभराले बुझे । त्यसैले क्युवा, कोलम्बिया आदि स्थानमा जमिन खोसेर बाँडियो । नेपालका कम्युनिस्टहरू खतर्नाक वर्ग भनिएका थप साना उद्योगी–व्यापारी पनि जोड्दै छन् । त्यसैले उदाहरण बन्न नै आफैं नै यस्ता किसान, उद्योगपति, व्यापारी बन्दै छन् ।

मैले बुझेको कम्युनिज्म सिद्धान्त केवल ‘अर्थ’ अर्थात् ‘धन’मा आधारित छ । त्यसैले नेपालको कम्युनिस्ट शासकहरू टुँडिखेलबाट नि उत्पादन नै गर्न खोज्छन् । सरकारका हरेक सेवा तथा कार्य आर्थिक नाफा घाटामा मूल्याङ्कन गर्छन् । मूल्याङ्कन पुँजीका ठेली अनुकूल हो भने नेताको धन सञ्चय ‘चे’को विस्तार हो । तर, यो विस्तार भद्दा विस्तार हो । जसरी कोलम्बियामा जमिन वितरण गरिएको थियो त्यसै गरेर उद्योग–व्यापार वितरण गरेको भए चे-पथ हुन सक्थ्यो कि ?

प्रतिक्रिया