नरकयात्रीको बुई चढेर स्वर्ग पुग्ने सपना !


  • देवप्रकाश त्रिपाठी

राजनीतिक परिवर्तनको अगुवाइ गर्नु र आर्थिक एवम् भौतिक रूपले देशलाई समृद्ध तुल्याउनु उस्तै हो कि भन्ने जोकसैलाई लाग्न सक्छ । विपन्नता, अभाव र असन्तुष्टिको जगमा राजनीतिक परिवर्तनको सङ्घर्ष अघि बढ्ने हुँदा जसले राजनीतिक परिवर्तनको नेतृत्व लिएको हुन्छ मुलुक समृद्धिको द्वार पनि तिनकै नेतृत्वमा खुल्छ भन्ने विश्वास हुनु अस्वाभाविक होइन ।

राजनीतिक परिवर्तनको आन्दोलन केवल साधन परिवर्तनका मुद्दामा मात्र अल्झिएको हुँदैन, जनताको सेवा, सुविधा र देशको समृद्धिको सपना पनि त्यस्तो आन्दोलनको अभीष्ट हुने गर्दछ । तर, विश्व इतिहासको अवलोकन गर्दा तस्बिर अर्कै भेटिन्छ । माओ त्से तुङले राजनीतिक परिवर्तनको अगुवाइ गरे, त्यसको तीन दशकपछि सत्तामा आएका देङ सियाओ पिङलाई चिनियाँ आर्थिक क्रान्तिको सम्पूर्ण जस (यस) जान्छ । मोहन दास करमचन्द गान्धीको नेतृत्वमा राजनीतिक परिवर्तन पाएको भारतले चार दशकपछि आर्थिक उन्नतिको द्वार खुलेको र त्यसको प्रारम्भिक नेतृत्व पीभी नरसिंह राव र मनमोहन सिंहबाट भएको हो । मोहम्मद जिन्नाको नेतृत्वमा सात दशकअघि जन्मेको पाकिस्तानमा आर्थिक उत्थानको थालनी भर्खरै सत्तामा आएका इमरान खानले गर्छन् कि भन्ने आशा राखिँदै छ । स्वतन्त्र रसियाको जन्म मिखाइल गोर्वाचेव र बोरिस यल्तसिनहरूले गराएका थिए, आर्थिक उन्नतिको जगाधार राख्नेमा भ्लादिमिर पुटिनको नाम लिइन्छ ।

यस पृष्ठभूमिमा नेपालको समुन्नति नहुनुमा राजनीतिक परिवर्तनका अगुवाहरू नै सत्ता राजनीतिमा हावी भइरहनुलाई मान्न सकिन्छ । वि.संं. २००७, २०४६ र २०६३ को राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तनको नेतृत्व पनि तिनैले लिन खोजे, जसलाई सङ्घर्ष, विद्रोह र यातनाबाहेकको अनुभव र ज्ञान थिएन–छैन । २००७ सालको राजनीतिक क्रान्तिका अगुवाहरू राजनीतिबाट विस्थापित भइसकेका भए पनि २०४६ र २०६३ को परिवर्तनमा मुख्य भूमिका निर्वाह गर्नेहरूमध्येकै वरिपरि देश घुम्न विवश छ । उनीहरू आफैँ भूमिका परित्याग गर्न चाहँदैनन्, कार्यकर्ता र जनतामा नेतृत्व बदल्ने जाँगर र जागरण पनि पैदा हुन सकेन । त्यसैले जेल बसेको, प्रहरी यातना भोगेको, होटेलमा खाना खाएर पैसा तिर्न नसकेको, डेराभाडा बुझाउन नसकेर घरमालिकको आँखा छल्दै स्टोभ र बिछ्यौना लिएर भागेकोजस्ता अनुभव संगालेकाहरूको हातमा नेपाली राजनीतिको लगाम परिरहेको छ ।

आफ्नो निजी जीवनका सबै विधा (पढाइ, व्यवसाय, व्यापार, जागिर आदि) मा असफलसिद्ध भइसकेकाहरूका हातमा देश जिम्मा लगाएर हामी देशको सफलता र समृद्धि खोज्दै छौँ । जो मानिस आफ्नो जीवनको सबै विधामा असफल रहे तिनले देशचाहिँ कसरी सफल बनाउन सक्लान् ? प्रश्न यसरी उठाउनुपर्ने भएको छ ।

संयुक्त राज्य अमेरिकालगायतका पश्चिमी मुलुकहरूमा आफ्नो जीवनमा सफल व्यक्तिलाई मात्र नेतृत्वका लागि जनताले विश्वास गर्ने गर्दछन् । अमेरिकाको राष्ट्रपति निर्वाचनअघि पार्टीको उम्मेदवार चयन प्रक्रिया यति रोचक र संवेदनशील हुन्छ कि अमेरिकी जनताको सहभागिता र विश्व जनसमुदायको चासो त्यसैमा केन्द्रित रहन्छ । ‘प्रेसिडेन्सिएल प्राइमरिज’का नाममा उम्मेदवार छनोट प्रक्रियालाई पार्टीहरूले देशव्यापी बनाउँछन् । पार्टी कार्यालयमा सदस्यहरूको नामावली रहन्छ र तिनैमध्येका कसैले राष्ट्रपतिको उम्मेदवार बन्न चाहे भने पार्टीमा आफ्नो नाम दर्ता गराउन सक्छन् ।

त्यसरी उम्मेवार बन्न चाहनेहरूको नाम प्राप्ति भइसकेपछि पार्टीले सबै सदस्यलाई भेला गराएर उम्मेदवार प्रस्तुत गर्छ । उम्मेदवारी दाबी गर्ने व्यक्तिहरू मञ्चमा खडा हुन्छन् र आफ्नो जीवनको सफलताका विवरण प्रस्तुत गर्छन् । व्यापारी हुन् भने उनले आफ्नो व्यापारिक सफलताको कथा सुनाउँछन् । आफूले तिरेको कर, आफूले दिएको रोजगारी र आफूले गरेको समाजसेवाबारे अवगत गराउँदै आफू एक सफल व्यक्ति भएको सिद्ध गर्ने प्रयास व्यक्तिबाट हुन्छ । उद्यमी हुन् भने त्यसैगरी आफ्नो सफलताका रोचक तथ्यहरू प्रस्तुत गर्दै समग्रमा आफू एक सफल व्यक्ति भएको प्रमाणित गर्ने कोसिस गर्छन् । त्यस्तै वकिल, चिकित्सक, पत्रकार, कलाकार आदि पेसागत समुदायका व्यक्ति रहेछन् भने आफू आफ्नो पेसामा कसरी सफल छन् भन्ने पुष्टि गर्न खोज्छन् । उम्मेदवार आफैँ पुग्न नसकेका ठाउँहरूमा ककसमार्फत पनि सबै उम्मेदवारका बारेमा सुन्ने र सुनेका आधारमा मतदानमार्फत उम्मेदवार रोज्ने कार्य सम्पादन गरिन्छ ।

यसरी आफ्नो पेसा, व्यवसाय या कुनै कर्ममा सफल रहेको विवरण पेस गर्नुको एक मात्र उद्देश्य अमेरिकी जनतालाई विश्वास दिलाउनु हो । जो व्यक्तिगत जीवनमा सफल छ उसले मात्र देशलाई पनि सफल बनाउन सक्छ भन्ने विश्वास अमेरिकी जनतामा छ । त्यसैले सम्भावित उम्मेदवारहरूमध्ये सबैको सफलताको व्यहोरा सुनिसकेपछि सफलहरूमध्येका एक व्यक्तिलाई मतदान प्रक्रियाद्वारा उनीहरू छनोट गर्ने गर्छन् । निर्वाचित हुँदै जाँदा जो सर्वाधिक राज्यहरूको छनोटमा पर्छ उही व्यक्तिलाई सम्बद्ध पार्टीबाट उम्मेदवार बनाइन्छ । उम्मेदवार छनोट कार्य अत्यन्त पारदर्शी ढङ्गले सम्पन्न गरिन्छ र कसैको दबाब या प्रभावबाट सामान्यतया यो प्रक्रिया मुक्त रहन्छ । यसरी अमेरिकी जनता सफलहरूमध्ये आफ्नो क्षेत्रका सफलतम व्यक्तिलाई उम्मेदवारका रूपमा रोज्छन् र जुनसुकै पार्टीबाट विजयी बने पनि अमेरिकामा एउटा सफल व्यक्ति नै राष्ट्रपति चयन हुन पुग्छन् ।

किशोरवयदेखि नै राजनीतिमा लाग्दा पढ्न नसकेको, उद्यम–व्यवसाय गर्ने स्थिति नरहेको र गर्न खोजे पनि कसैले (या बैंकले) ऋणमा नपत्याएको, प्रहरी हिरासतमा पटकपटक परेर कठोर यातना भोगेको, कुन्नि कति समय जेल बसेको, कति वर्षदेखि जुत्ता र कोट बदल्न नसकेको, समयमै वैवाहिक जीवन सुरु गर्न नपाएको र बालबच्चाको विद्यालय शुल्कसमेत आफूले तिर्न नसकेकोजस्ता दुःख र असफलताको कथा–व्यथा सुनाएर उम्मेदवारी माग्ने र जीवनमा असफल रहेकाहरूमध्ये कुनै एक असफललाई मतदान गरी विजयी बनाउने कार्य हामीबाट हुँदै आएको छ । अर्थात् जीवनको सबै विधामा असफल मानिसलाई मतदान गरी ‘देश असफल बनाउने’ जिम्मेवारी हामीले सुम्पँदै आएका छौँ ।

तर, हाम्रो कथाव्यथा बेग्लै छ, विश्वका अल्पविकसित, नकारात्मक, विपन्न र सभ्य हुन बाँकी मुलुक जहाँ प्रजातन्त्र छ त्यहाँ पार्टी नेताले इच्छाएका व्यक्ति उम्मेदवार बनाइन्छन्, जनताचाहिँ नेताले मन पराएकाहरूमध्येकै एकलाई मतदान गरी निर्वाचित गर्न बाध्य हुन्छन् । पछिल्लो समयमा नेपाल र नेपालजस्तै दरिद्र मानसिकताका मुलुकमा नेतासँग निश्चित मूल्यमा टिकट (उम्मेदवारी) खरिद गर्ने र जनतासँग मत खरिद गर्ने संस्कार र परम्परा बस्न खोज्दै छ । उम्मेदवार बन्न चाहने दुई प्रकारका व्यक्ति देखिन्छन्, एकथरी जोसँग जीवनमा दुःख र असफलताका दर्जन रामायण छन् । किशोरवयदेखि नै राजनीतिमा लाग्दा पढ्न नसकेको, उद्यम–व्यवसाय गर्ने स्थिति नरहेको र गर्न खोजे पनि कसैले (या बैंकले) ऋणमा नपत्याएको, प्रहरी हिरासतमा पटकपटक परेर कठोर यातना भोगेको, कुन्नि कति समय जेल बसेको, कति वर्र्षदेखि जुत्ता र कोट बदल्न नसकेको, समयमै वैवाहिक जीवन सुरु गर्न नपाएको र बालबच्चाको विद्यालय शुल्कसमेत आफूले तिर्न नसकेकोजस्ता दुःख र असफलताको कथा–व्यथा सुनाएर उम्मेदवारी माग्ने र जीवनमा असफल रहेकाहरूमध्ये कुनै एक असफललाई मतदान गरी विजयी बनाउने कार्य हामीबाट हुँदै आएको छ । अर्थात् जीवनको सबै विधामा असफल मानिसलाई मतदान गरी ‘देश असफल बनाउने’ जिम्मेवारी हामीले सुम्पँदै आएका छौँ । आफ्नो जीवनमा पूरै असफल मानिसलाई देश सफल बनाउने जिम्मेवारी सुम्पनुपर्ने नियतिबाट हामी गुज्रिएका छौँ ।

क्रान्ति, विद्रोह, विध्वंस र सङ्घर्षको ज्ञान र अनुभव भएका, तर देश बनाउन कहाँबाट कसरी शुरु गरिनुपर्छ भन्ने ज्ञान–चेत नभएका मानिसको सामना हामीले विक्रमसम्वत २००७ सालको परिवर्तनयता गर्दै आएका छौँ । सत्तामा पुगेपछि पनि केवल क्रान्ति र विध्वंसको धङधङी (ह्याङओभर)बाट मुक्त हुन नखोज्नेहरूको चपेटाबाट मुलुकलाई बाहिर ल्याउन नसकेसम्म देशले स्थिरता र समृद्धि प्राप्त गर्न नसक्ने स्पष्ट भइसकेको छ । तर, यिनलाई राजनीतिबाट मुक्त गर्नचाहिँ फेरि अर्को एउटा महाभारतको युद्ध लड्नैपर्ने बाध्यताको अवस्था देखिँदै छ ।

राजनीतिक नेतृत्व असफल, अक्षम, अदूरदर्शी र इमानविहीन रहेको अगुवा राजनीतिजीवीहरूको व्यवहार तथा तिनको कार्यपरिणामले पुष्टि गरिसकेको छ । २०६३ को परिवर्तनयता राजनीतिक दलहरूबीच द्विपक्षीय र बहुपक्षीय रूपमा करिब आठ सय बुँदाका सम्झौता भएका छन्, ती कुनै पनि बुँदा जनताले दैनिक जीवनम भोग्नुपरेका समस्यासँग प्रत्यक्ष सरोकार राख्ने प्रकारका रहेनन्, छैनन् । राजनीतिक साधन र दलविशेषका नेताहरूको स्वार्थ सिद्धिसँग सम्बन्धित विषयमा मात्र राजनीतिजीवीहरूबीच सहमति या विमति रहँदै आएको छ ।

विद्रोह र विध्वंस गर्न सक्ने, तर देश बनाउन ठ्याम्मै नसक्ने नेताहरूको हातमा मुलुकको वागडोर रहेसम्म हामीले प्राप्त गर्ने भनेको गरिबी, तनाव, अस्थिरता र द्वन्द्व मात्र हो, जुन पाइरहेका पनि छौँ । यिनले राजनीति बुझ्नुलाई मात्र चेतनशील, अवसर पाउनु भनेकै उच्च राजनीतिक जिम्मेवारी प्राप्त गर्नु र नेतृत्व विकास भन्नाले राजनीतिक पदको स्तरोन्नति भनेर आममानिसलाई बुझाएका छन् । त्यसले गर्दा देशले धान्नै नसक्ने गरी राजनीतिजीवीहरू उत्पादन भइरहेका छन् । यस्तै अवस्थालाई निरन्तरता दिइरहने हो भने हामीले बुझ्नुपर्छ– देश कहिल्यै बन्नेछैन । फराकिला सडक बन्न सक्छन्, भव्य भवनहरू निर्माण हुन सक्छन्, उत्तर कोरिया र कङ्गोजस्ता मुलुकमा पनि ठूला घर र फराकिला सडक देख्न पाइन्छ । तर, भव्य घर र सडक मात्र समृद्धिका प्रतीक होइनन्, हुन सक्दैनन् । देशमा शान्ति, स्थिरता र सुरक्षाका साथ नागरिकमा स्वतन्त्रता, सुख, खुसी र सभ्य व्यवहारको समष्टि नै वास्तविक समृद्धि हो ।

असफल नेतृत्व र कामचोर एवम् आत्मकेन्द्रित कर्मचारीतन्त्र भएको मुलुकले समृद्धिको जग बसाउने सम्भावना रहँदैन । हामी नागरिक आफैँ परिवर्तन नभएसम्म अवस्था र व्यवस्था परितर्वन हुन असम्भव छ, अवस्था र व्यवस्था परिवर्तनबिना सुख, शान्ति र समृद्धिसँगको साक्षात्कार दुर्लभ हुनेछ । ओठमा स्वर्ग जप्दै दु्रतगतिमा नरकतर्फको यात्रामा कुदिरहेको नियति हामी भोग्दै छौँ, उल्टो यात्राले हामीलाई पु¥याउने भनेको पतन या बर्बादीसम्म मात्र हो । जहाँ पुग्न हामी निरन्तर यत्नशील छौँ !

प्रतिक्रिया