ओमानस्थित नेपाली दूतावासमा ‘पर्यटन वर्ष २०२०’बारे छलफल

ओमानस्थित नेपाली दूतावासमा ‘पर्यटन वर्ष २०२०’बारे छलफल


  • आरके श्रीवास्तव, ओमान

पर्यटन वर्ष नजिकिँदै गर्दा नेपाली राजदूतावास ओमानले यसबारे जानकारी गराएको छ । मस्कटस्थित दूतावासको बैठककक्षमा गत २५ अप्रिलका दिन ओमानको वाणिज्य, उद्योग र पर्यटन समितिका सदस्यहरूको साथमा बैठक सम्पन्न भएको र सो बैठकले नेपाल सरकारले सन् २०२० लाई पर्यटन भ्रमण वर्षको रूपमा घोषणा गरेअनुसार यसलाई सफल पार्ने निर्णय लिएको राजदूत शर्मिला पराजुली ढकालले जनाएकी हुन् ।

कार्यक्रममा राजदूत ढकालले नेपालमा राष्ट्रिय पर्यटन अभियानबारे जानकारी गराइन् भने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले नेपालको पर्यटन उद्योगको बारेमा विस्तृत प्रस्तुति दिएका थिए ।

बैठकमा पर्यटन समिति ओमानका अध्यक्ष अली सालेम अल हजरीले नेपालको पर्यटन क्षेत्रलाई कदर गर्दै नेपाल भ्रमण गर्ने चाहना प्रकट गरेका थिए । नेपाल भ्रमणका लागि विभिन्न पर्यटन क्षेत्रहरूसँग छलफल गरी द्विपक्षीय सहयोगको आधारमा पर्यटन बढाउने र नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न यथासक्य सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड द्वारा तयार पारिएको पर्यटकलाई आकर्षित गर्ने खालका भिडियोहरू पनि देखाइएको राजदूतावासले जनाएको छ ।