कमिलासहितको बेलायती ‘पार्सल’ चीन पुगेपछि…

कमिलासहितको बेलायती ‘पार्सल’ चीन पुगेपछि…


बेलायतबाट आएको एक ‘मेल पार्सल’मा एक हजारभन्दा बढी कमिला पठाएको भेटिएपछि उक्त पार्सललाई बरामद गरिएको चीनको केन्द्रीय भन्सार कार्यालयले जनाएको छ । चीनको मध्य क्षेत्रमा रहेको हुनान प्रान्तको छाङ्साबाट हालै कमिलासहित बरामद भएको पार्सलमा एक हजारभन्दा बढी ‘हार्भेस्टर एन्ट’लाई उसको खानाका लागि आवश्यक पोषणयुक्त खानासहित टेस्ट ट्यूवमा बन्द गरिएको अवस्थामा भेटिएको हो ।

चीनमा विदेशी जीवलाई पाल्ने सोख बढिरहेका समय कमिलाको उक्त प्रजातिलाई आयात गरिएको हुनसक्ने बताइएको छ ।

बरामद ‘हार्भेस्टर एन्ट्स’ मध्ये ३७ वटा एक दशमलब चार सेन्टिमिटर लामो काला तथा राता रानी कमिलाहरू रहेका र उनीहरू पनि अन्य कमिला झैँ टेस्ट ट्यूवमा खानासहित बन्द अवस्थामा भेटिएको हुनान प्रान्तको राजधानी छाङ्साका भन्सार अधिकारीहरूलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

रानी कमिलासँगै ठूलो सङ्ख्यामा ज्यामी कमिला र तिनीहरूका फुलसमेत पार्सलमा भेटिएको बताइएको छ ।

चीनमा हुलाक वा हुलाकजन्य सेवामार्फत जीवित अवस्थामा कुनै पनि जीव ल्याउन कानूनी बन्देज रहेको छ । चिनियाँ कानून अनुसार ती कमिला र पार्सललाई प्रक्रिया पुऱ्याएर नस्ट गरिने छ ।

ज्ञातव्य छ, चीनको फस्टाउँदो इ–कमर्सका कारण सर्प, साना ठूला किरा र छेपारो प्रजातीका विदेशी जीवहरूको आयात बढ्दो देखिएको छ । यसका कारण विदेशी जीव र कहिलेकाहीँ सङ्कटापन्न जीवको अवैध कारोबार गर्ने गरेको आरोप बेलावखत चीनमाथि लाग्ने गरेको छ ।