म्यानमारका ६ हजार कैदीलाई आम माफी

म्यानमारका ६ हजार कैदीलाई आम माफी


म्यानमार सरकारले नयाँ बर्षको अवसरमा झण्डै ६ हजार कैदीलाई आम माफी दिने भएको छ । तेस्रो चरणअन्तर्गत उनीहरूलाई देशको परम्परागत नयाँ वर्षको अवसरमा आम माफी दिन लागिएको हो ।

तेस्रो चरणअन्तर्गत आम माफी पाउने कैदीमा लागुऔषध दुर्व्यसनी, जातीय द्वन्द्व बढाउनेहरू र केही अन्य राजनीतिक बन्दी पनि रहेका म्यानमारको राष्ट्रपति कार्यालयका प्रवक्ता उ जाव ह्तायलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपतिको आदेश अनुसार यसअघि पहिलो र दोस्रो चरणमा नौ हजार ५५१ जनालाई विना शर्त आम माफी दिइएको छ । त्यतिबेला आम माफी पाएका मध्ये १६ जना विदेशी रहेका छन् ।

त्यसैगरी अहिले तेस्रो चरणमा ६ हजार ६४८ जनाले आम माफी पाएको अधिकारीहरूले जनाएका छन् । सबै गरेर अहिले सम्म आम माफी पाउनेको संख्या १६ हजार ४९९ पुगेको समाचारमा जनाइएको छ ।