पूर्वउपराष्ट्रपति बिदेनद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

पूर्वउपराष्ट्रपति बिदेनद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा


आउँदो निर्वाचनका लागि अमेरिकामा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भएको छ । यसैक्रममा अमेरिकाका पूर्वउपराष्ट्रपति जोए बिदेनले आगामी निर्वाचनमा आफूले राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२० मा टक्कर दिनका लागि अहिलेसम्म देखिएकामध्ये डेमोक्र्याटतर्फका उनी एक सशक्त नेता मानिन्छन् । अत्यन्त अनुभवी र चिरपरिचित तथा लोकप्रिय ७६ वर्षीय नेता विदेन पछिल्ला मत सर्वेक्षणहरुमा पनि अगाडि देखिएका छन् ।

ट्वीटरमार्फत साढे तीन मिनेटको भिडियो सार्वजनिक गर्दै उनले आधारभूत रुपमा राष्ट्रका लागि आफू फरक उम्मेदवार भएको दाबी गरेका छन् ।

‘देशको खास महत्व, विश्वमा हाम्रो उपस्थिति, हाम्रो लोकतन्त्र यी र यस्तै विषयले अमेरिकालाई अमेरिका बनाएको छ, यही नै हाम्रो आधार हो,’ ट्वीटरमा बिदेनले लेखेका छन् । आफूले अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको कारण यही भएको उनले प्रष्ट्याएका छन् ।

पूर्वराष्ट्रपति बाराक ओवामाको कार्यकालमा आठ वर्षसम्म उपराष्ट्रपति भएर काम गरेका विदेनले देशको नेतृत्व तहबाट देशको सेवाका लागि अवसर दिन आह्वान गरेका छन् ।