बिएमसीलाई टक्कर दिँदै ‘एनडिएच मसला’

बिएमसीलाई टक्कर दिँदै ‘एनडिएच मसला’


नेपाल मसलामा आत्मनिर्भर बन्न सकेको छैन । स्वदेशी उद्योगहरुले नेपाललाई आवश्यक मसला उत्पादन गर्दै आए पनि विदेशी ब्राण्डका मसला आयातको दर बढ्दा स्वदेशी उद्योगहरु मारमा छन् । नेपालमा प्रत्येक साता ७ करोड भारतीय रुपैयाँ बराबरका मसला आयात हुँदै आएको छ ।

स्वदेशी उत्पादनले मुलुकभित्रको माग धान्न सक्ने भएपनि आयातीत मसलाका कारण स्वदेशी मसलाहरु छाँयामा परेका छन् । नेपालमा विदेशी ब्राण्डका मसलासँग प्रतिस्पर्धा गरी आयातमा प्रतिस्थापन गर्ने उद्धेश्यले एनडिएच मसला उद्योगले आफ्नो सेवा मुलुकभर विस्तार गरेको छ । उद्योगले अहिले गुणस्तर र सेवामा ध्यान दिदैं विभिन्न ५० ब्राण्डका मसला उत्पादन गर्दै आएको उद्योगका संचालक कमल सिंहले बताए ।

‘मसला क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने सोचका साथ हामीले सातवटै प्रदेशमा विक्रि केन्द्र स्थापना थालेको छौं ।’ उनले भने, ‘कम्पनीले भविष्यमा अझ आधुनिकता अपनाउँदै प्राकृतिक स्वाद र गुणस्तर कायम राख्दै अन्य मसलाको समेत उत्पादन थाल्ने लक्ष्य लिएको छ ।’ उद्योगले बेसार तथा अदुवा प्रशोधन उद्योग समेत शुरु गरेको छ ।

सरकारी सहयोग समेत पाएको उद्योगले विदेशमा पनि आफ्ना उत्पादन निर्यात शुरु गरेको छ । गतबर्ष उद्योगबाट अस्ट्रेलियामा २७ लाखको मसला निर्यात भएको थियो । पछिल्लो समय आयात बढेका कारण मुलुकभित्रका उद्योगबाट उत्पादित सामाग्रीको प्रयोग गर्न सरोकारवाला निकायलाई उद्योगले अनुरोध पनि गरेको छ । राज्यले स्वदेशी उद्योगलाई अनुदान, सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने हो भने स्वदेशी मसला उद्योगले आन्तरिक मागलाई धान्न सक्नेछन् । जसका कारण व्यापार घाटामा कमी आउनेछ ।