‘चीनसँग यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुन्छ’

‘चीनसँग यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुन्छ’


परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक राजकीय चीन भ्रमणपछि नेपाल–चीन द्विपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास दिलाएका छन् ।

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको स्पष्ट पारे । उनले भने,‘उहाँको भ्रमणपछि नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध थप नयाँ उचाईमा पुग्छ ।’

उनले अघि थपे,‘राष्ट्रपतिको यो भ्रमणले सदियौंदेखि रहँदै आएको नेपाल–चीन सौहार्दपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने छ । चीनको विकाससँग नेपालको विकासलाई जोड्ने विभिन्न माध्यम र उपायहरुको खोजी गर्नेछ ।’ मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले भ्रमणको दौरान दुईपटक सम्बोधन गर्ने कार्यक्रम रहेको पनि सुनाए । उनले भने,‘बेल्ट एण्ड रोड ईनिसिएटिभ फोरम, जहाँ सयभन्दा बढि राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सहभागी हुन्छन्, त्यसमा उहाँले दुईपटक सम्बोधन गर्नुहुनेछ । पहिलो उहाँले उद्धघाट्न सत्रमा उच्चस्तरीय भेलामा सम्बोधन गर्नुहुनेछ, र दोस्रो चिनियाँ राष्ट्रपति सि जिनपिङले सञ्चालन गर्ने राउण्ड टेबलमा सम्बोधन गर्नुहुनेछ ।’

मन्त्री ज्ञवालीले अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग द्धिपक्षीय औपचारिक वार्ता गर्ने र त्यही दिन विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर गर्नेपनि जनाए । उनले भने,‘त्यो दिन प्रोटोकलमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।’ त्यस्तै, मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले चीनको प्राचिन शहर र चिनियाँ राष्ट्रपतिको गृहनगरसमेत रहेको सियानको भ्रमण गर्ने कार्यक्रम रहेको समेत जनाए । उनले राष्ट्रपति भण्डारीले चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको र भ्रमणको दौरान प्रान्तीय गभर्नरसँग भेटवार्ता गर्नेपनि जनाए । चीनसँग जोडिएर नेपालले जसरी लाभ लिनुपर्ने थियो त्यो भने लिन नसकेको विगत मन्त्री ज्ञवालीले कोट्याए ।

उनले भने,‘अब भने हामी चीनसँग सार्थक रुपमा आर्थिक लाभ लिनेगरि अघि बढ्छौं ।’ आफू यसअघि चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँगको भेटवार्तामा नै नेपाल–चीन विकासको ‘फ्रेमवर्क’ तय भैसकेको पनि ज्ञवालीले सुनाए । उक्त ‘ट्रान्स हिमालयन मल्टि–डाईमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सिमा वारपार रेल, सडकहरु, बन्दरगाहाहरु, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषयहरु पर्ने उनले सुनाए ।

मन्त्री ज्ञवालीले भने,‘त्यसमा हामीले अहिले छलफल सुरु गरेका छौं । फण्डिङ मोडालिटी, लगानीको ढाँचा के हुनेछ ? कति अनुदानमा र कति सफ्ट लोनमा निर्माण होलान्, कति चिनियाँ लगानीकर्ताको प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत आउलान्, कति संयुक्त लगानीको रुपमा आउलान् ? कति बहुपक्षीय वित्तिय संस्थाबाट ऋण सहयोगबाट आउलान्, कुन–कुन परियोजना कुन मोडालिटीमा गर्ने भन्नेबारे अहिले हामी एकदमै सघन छलफलमा छौं ।’ उनले आफूहरुले अघि सारेका सबै योजनाहरु र त्यसभित्र केरुङ–काठमाडौं रेल उच्च प्राथमिकतामा रहेको सुनाए । उनले भने,‘त्यसको प्रि–फिजिविलिटी अध्ययन सकिएको छ । सम्भवत हामी फिजिविलिटी अध्ययन र यसको निर्माण कार्य सुरु गर्न सक्नेगरि निश्कर्षमा पुग्न सक्छौं भन्ने मलाई विश्वास छ ।’

त्यस्तै, कोशी, कालगण्डकी र कर्णाली आर्थिक कोरिडोर जसभित्र सडक र विभिन्न उत्पादनका पकेटहरु र त्यहाँको जनताको जीवनस्तर माथि उठाउने कुराहरुलाई पनि आफूहरुले अगाडि बढाएको मन्त्री ज्ञवालीले विश्वास दिलाए ।

मन्त्री ज्ञवालीले योग्य जनशक्तिको निर्माण गर्नु अहिलेको आवश्यकत्ता रहेको सुनाउँदै त्यसको लागि प्राविधिक र वैज्ञानिक शिक्षामा केन्द्रित रहेको बहुआयामिक विश्वस्तरीय विश्वविद्यालय बनाउन चाहेको पनि सुनाए । उनले भने,‘त्यो विश्वविद्यालयमा बिआरआई परियोजनाअन्तर्गत सय वटा त्यस्ता विश्विद्यालयहरु बनाउने सोच पनि छ । त्यसमा नेपालले त्यो ढंगले सहकार्य गर्न चाहेको छ ।’

राष्ट्रपति भण्डारीको यो भ्रमणमा चीनसँग सन् २०१६ मा भएको यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्न लागेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भने,‘त्यो प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालका उत्तरी नाकाहरु उपयोग गरेर चीनको जुनसुकै बाटो प्रयोग गरेरपनि हामीले चीनका चारवटा समुन्द्री बन्दरगाह र तीन वटा सुख्खा बन्दरगाहा प्रयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछौं । र, त्यसले हाम्रो पारवहन सुविधालाई विविधता बनाउन र एकपक्षीय निर्भरता अन्त्य गर्न एउटा ठूलो भूमिका खेल्नेछ ।’ यसका अलवा अन्य थुप्रै समझदारीपत्रहरुमा हस्ताक्षर गर्न लागेको र उपयुक्त समयमा जानकारी गराईने उनले विश्वास दिलाए ।

मन्त्री ज्ञवालीले आगामी मे महिनामा तातोपानी नाका खुल्ने जानकारी गराए । उनले भने,‘उताबाट तिव्र रफ्तारमा काम भैरहेको छ । उताको सुख्खा बन्दरगाहाको करिब–करिब ९८ प्रतिशत काम सम्पन्न भैसकेको छ । नेपालले कस्टम, क्वारेन्टाईन र ईमिग्रेशनलगायतका सुविधाहरु राख्दैछ । मितेरी पुल अन्तिम चरणमा पुगेको छ ।’

आफूहरुको मुख्य विदेश नीति नै सबैसँग मित्रभाव राख्ने र कसैसँग पनि वैरभाव नराख्ने रहेको सुनाउँदै मन्त्री ज्ञवालीले भने,‘हामी कुनै क्याम्पमा छैनौं । हामी कुनै एक कित्तामा उभिएर अर्को कित्तालाई असर पार्नेगरि हाम्रा विदेश नीतिलाई सञ्चालन गर्दैनौं । हामी सन्तुलित र सबैसँग मित्रतापूर्ण सम्बन्ध अघि बढाउँछौं ।’

आफूहरुले विदेश ऋण र अनुदान लिँदासमेत राष्ट्रिय हितलाई केन्द्रमा र सर्वोपरि ठानेरमात्रै लिने उनको भनाई छ । उनले भने,‘जहाँसम्म ऋणको कुरा छ, मेरो यसमा स्पष्ट भनाई छ । १९९० र २००० को दशकमा ल्याटिन अमेरिकाका थुप्रै देशहरुमा आर्थिक संकट आयो । अर्जेन्टिनालगायत अरु थुप्रै देशहरु ठूलो संकटमा परे । त्यहाँ त चीन लगानीकर्ता थिएन । चिनियाँ ऋणको पासोमा फसेका थिएनन् । ग्रिस अहिलेपनि संकटबाट लडिरहेको छ । अरु थुप्रै देशहरु पनि आर्थिक संकटमा छन् । यसको अर्थ के हो भने कुन वित्तिय संस्था वा देशसँग लोन लिँदा ट्रयापमा परिन्छ र कुनमा परिँदैन् ? त्यसको कुनै नियम छैन् ।