बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट सोमबार तनहुँमा एक मोटरसाइकलचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक कास्की पुम्दीभुम्दी–१ निवासी ३१ वर्षीय सन्दीप कुँवर रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते कुँवरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पोखराबाट दमौली आउँदै गरेको प्रदेश ३–०२–००१ प ६०३५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना.६ख ८४१० नम्बरको बसले पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

मोटरसाइकलमा पछाडि सवार पोखरा महानगरपालिका–७ माझफाँटनिवासी सिर्जना राउतको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको उनले बताए ।

प्रतिक्रिया