ललितपुर महानगरपालिकामा भवन अभाव

ललितपुर महानगरपालिकामा भवन अभाव


जिल्लाका विषयगत कार्यालयका कर्मचारी समायोजन भएर आइरहे पनि ती कार्यालयका भवन नहुँदा ललितपुर महानगरपालिकामा भवन अभाव रहेको छ । कर्मचारी आइरहे पनि भवन पर्याप्त नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ । महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर मातहतमा नआएको प्रवक्ता राजु महर्जनले बताए ।

उनका अनुसार विषयगत कार्यालयबाट ५८ कर्मचारी समायोजन भएर आएका छन् । महानगरपालिकामा पहिले नै झण्डै ३०० कर्मचारी कार्यरत थिए । एकातिर पहिलेबाट नै भवन अभाव रहेकामा महानगरमा नयाँ कर्मचारी आएपछि भवन अभाव अझै बढेको उनले बताए ।

उनले भने, ‘हामीले सम्बन्धित निकायसँग भवनका लागि माग गरिरहेका छौँ ।’ महानगरपालिकाको पुल्चोकस्थित मुख्य भवनबाहेक छ्याबहालस्थित समाज कल्याण भवन र पुल्चोकस्थित विपत् व्यवस्थापन भवन गरेर तीन वटा भवन रहेका छन् । ती तीन भवन मात्रै पर्याप्त नभएकाले थप भवनका लागि माग भइरहेको छ । उनले भने, ‘अरु भवन पनि मातहतमा आएपछि नै कार्यसम्पादन सजिलो हुनेछ ।’ महानगरपालिकाका दश वटा वडामा कार्यालय भवन छैनन् । तीमध्ये पाँचमा गत वर्षदेखि निर्माण शुरु भइसकेको छ ।