श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको संख्या २०७ नाघ्यो

श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको संख्या २०७ नाघ्यो


आइतबार श्रीलङ्काका चर्च तथा होटलहरूमा भएको शृङ्खलाबद्ध विस्फोटनमा परी मृत्यु हुनेको संख्या २०७ नाघेको त्यहाँका अधिकारीहरूले बताएका छन् । श्रीलङ्कन प्रहरीका अनुसार अहिलेसम्म २०७ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने यो संख्या अझै बढ्न सक्ने बताइएको छ ।

घटनामा करिब ५ सय बढी मानिसहरु घाइते भएको अधिकारीहरुले बताएका छन् । घटनामा परेर ज्यान गुमाउने मध्ये ३५ जना विदेशी समेत रहेको जनाइए पनि यसको यकिन विवरण भने आइसकेको छैन् ।

आइतबार बिहान श्रीलंकाको राजधानी कोलम्बोसहित विभिन्न शहरमा रहेका चर्च र होटलमा श्रृंखलाबद्ध विस्फोछन गराइएको थियो । बिहान कम्तीमा छ वटा विस्फोटन भएका थिए भने त्यसपछि थप दुई स्थानमा पनि विस्फोटन गराइएको उच्च अधिकारीहरुले जानकारी दिएका छन् ।

विस्फोटनबाट धेरैजसो चर्च ध्वस्त भएका छन्, कतिपयको छाना उडाइएको छ । नागरिकहरु त्रसित अवस्थामा छन् । घटनालगत्तै श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन आग्रह गरेका थिए । उनले घटना फेरि दोहोरिन सक्ने भन्दै चनाखो रहन सबैलाई निर्देशन समेत दिएका छन् ।
यस आतंकवादी हमलापछि श्रीलङ्कामा देशभरि नै लागु हुनेगरी आइतबार साँझ ६ बजेदेखि सोमवार बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो ।

यसैबीच घटनामा संलग्न रहेको आरोपमा ८ जना संदिग्धलाई त्यहाँको प्रहरीले प्रकाउ गरेको छ । त्यहाँका रक्षामन्त्रीका अनुसार अधिकांश घटनाहरू आत्मघाती आक्रमण भएका र ती सबै एउटै समूहले गराएको हुन सक्ने बताइरहँदा घटनाको जिम्मा भने कसैले नलिएको अधिकारीहरुले जानकारी दिएका छन् ।