नेकपाका तीन नेता दाङमा पक्राउ

नेकपाका तीन नेता दाङमा पक्राउ


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन नेतालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । रोल्पाका लालबहादुर वली ‘विश्व’, रोल्पाकै चुडामणि वली ‘आदर्श’ र सल्यानका चन्द्रबहादर खड्का ‘असल’लाई नियन्त्रणमा लिइएको दाङ प्रहरी प्रवक्ता डिएस्पी विनोदविक्रम शाहले जनाएका छन् ।

प्रहरीले दाबी गरेअनुसार ४८ वर्षीय विश्व रोल्पा जनसत्ता प्रमुख एवम् जिल्ला कमिटी सदस्य हुन् भने ५२ वर्षका आदर्श पार्टीका केन्द्रिय सदस्य एवम् जिल्ला जनअदालत प्रमुख हुन् । यस्तै, ४३ वर्षीय असल केन्द्रिय सदस्य तथा सैन्यविभाग प्रमुखको जिम्मेवारीमा रहेका नेता हुन् । उनीहरूलाई बा. १८ च ३१४२ नम्बरको स्कार्पिओ गाडीमार्फत दाङबाट सल्यानतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको बताइएको छ ।

पक्राउलगत्तै जिल्ला अदालतमा पेस गरिएका उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को राज्यविरुद्धको कसुर (दफा ५०) र संगठित अपराध निवारण ऐन २०७० बमोजिम मुद्दा दर्ता गरी जिल्ला अदालतबाट आइतबार (८ वैशाख) पाँच दिनको थुना म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ ।