श्रीलंकाका होटेल र चर्चमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या १३७ पुग्यो

श्रीलंकाका होटेल र चर्चमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या १३७ पुग्यो


श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटेल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ६ वटा शृंखलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३७ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ ।

मृत्यु हुनेमा नौजना विदेशी नागरिकसमेत छन् । विस्फोटका कारण अरू सयौँ व्यक्ति घाइते भएका छन् । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटेलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानीनजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च विस्फोटमा ६७ जनाको मृत्यु भएको छ ।
सेन्ट एन्थोनी विस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरूलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ ।

चर्चसहित राजधानीका तीनवटा पाँचतारे होटेलमा पनि बम विस्फोटका घटना भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका सांग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटेलमा पनि विस्फोट भएका छन् ।

मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ । बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको विस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।

विस्फोट निकै शक्तिशाली भएका कारण चर्चभित्र व्यापक क्षति भएको देखिएको छ । चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ ।

बौद्धमार्गी बहुल श्रीलंकामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरूमा विस्फोट हुँदा इसाई धर्मावलम्बीहरू इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।

दश दिनअगावै चेतावनी

श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरूमा आत्मघाती आक्रमण हुन सक्ने भन्दै अलर्ट जारी गरेका थिए ।
एएफपीका अनुसार प्रहरी प्रमुख पुजुथले अप्रिल ११ का दिन प्रहरीका वरिष्ठ अधिकारीहरूलाई गोप्य सूचना पठाएका थिए ।

‘एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ (एनटीजे) नामको समूहले प्रमुख चर्चहरू र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,’ प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ ।

एनटीजे श्रीलंकामा सक्रिय अतिवादी मुस्लिम संगठन हो र यो संगठनबारे गत वर्ष मात्र जानकारी आएको थियो । यस संगठनले गत वर्ष बौद्धमूर्तिहरूको तोडफोड गरेको पाइएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन अनुरोध गरेका छन् । उनले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिंघेले आतंकवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताएका छन् ।

नेपाली सुरक्षित
श्रीलंकामा घएको शृंखलाबद्ध विस्फोटमा कुनै पनि नेपाली नपरेको श्रीलंकास्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले जनाएका छन् । उनले भनेका छन्, कुनै पनि नेपाली अहिलेसम्म हताहती भएको जानकारी प्राप्त भएको छैन ।