विद्युत प्राधिकरणको साढे १५ अर्ब विद्युत बक्यौता उठ्न बाँकी

विद्युत प्राधिकरणको साढे १५ अर्ब विद्युत बक्यौता उठ्न बाँकी


नेपाल विद्युत प्राधिकरणको साढे १५ अर्ब रुपैयाँ विद्युत महसुल बक्यौता उठ्न बाँकी रहेको महालेखापरीक्षकको कार्यालयले ठहर गरेको छ । महालेखापरीक्षकको कार्यालयको ५६औं वार्षिक प्रतिवेदनले यतिक बक्यौता उठ्न बाँकी रहेको देखाएको हो ।

गत आर्थिक वर्ष २०७४/७५ मा प्राधिकरणको विद्युत महसुल बक्यौता १४.४४ प्रतिशतले बढेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । प्रतिवेदनका अनुसार प्राधिकरणले सबै ग्राहकबाट १५ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ उठाउन बाँकी देखिएको हो । उठ्न बाँकीमध्ये साढे ४ अर्ब रुपैयाँ सडक बत्तीको बक्यौता छ । देशभरका महानगर, उप–महानगर, नगर र गाउँपालिकाले सडक बत्तीको विद्युत बक्यौता बुझाएका छैनन् ।

विगतमा उठाउन बाँकीमध्ये ५६ करोड ७० लाख रुपैयाँ बराबरको जिम्मेवारी अन्यत्र सारेको प्रतिवेदनमा औल्याइएको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले कालो सूचीमा परेका ग्राहकबाट उठाउनु पर्ने बाँकी बक्यौताको छुट्टै विवरण नराखेको पनि प्रतिवेदनमा जनाइएको छ । कालो सूचीमा परेका र लामो समय महसुल नबुझाएका ग्राहकको बक्यौताको सूची नछुट्याउँदा पहिचान गर्न कठिन भएको महालेखाको टिप्पणी छ ।