जंगली बँदेलको तस्करी गर्दै होटेलमा बेच्दै

जंगली बँदेलको तस्करी गर्दै होटेलमा बेच्दै


जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटेलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ ।

निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालिमप्राप्त कुकुरले सवारीसाधनको जाँचमा कडाइ गरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले माडी क्षेत्रमा जंगली बँदेल समाएर अर्धचेत बनाई गाडीमा राखेर सौराहाका होटेलमा पु¥याउने गरेको सूचना प्राप्त भएको बताए ।

सौराहाका कतिपय होटेलले खुलमखुला जंगली बँदेल भन्दै बिक्री गरेको निकुञ्जलाई सूचना प्राप्त भएको उनले बताए । ढकालका अनुसार गाडीको डिक्की, धान, पराललगायतका सामग्री बोक्ने गाडीभित्र लुकाएर बँदेल ओसारपसार गरिँदै आएको छ । उनले दुई हप्ता हाराहारीको फरक पारेर निकुञ्ज हुँदै माडी जाने आउने गाडीमा कुकुरसहितको सहयोगमा सुरक्षा जाँच गरिएको बताए ।

यसैगरी मेघौली, कावासोती र बरण्डाभार क्षेत्रका सडक एवं राजमार्गमा पनि त्यसैगरी जाँच गरिएको उनले बताए । सो क्रममा यात्रुलाई सकेसम्म कम कष्ट नहुने गरी जाँच गरिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जमा सुँघेर आखेटोपहार पहिचान गर्न सक्ने कुकुर दुईवटा रहेका छन् । तिनै कुकुर हाल सुरक्षा जाँचमा प्रयोग गरिएको छ । निकुञ्जमा चोरी तस्करी गर्ने व्यक्तिको पहिचान गर्न सक्ने अन्य दुई कुकुर पनि रहेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२० को दफा २६ (३)मा बँदेल मार्ने वा घाइते बनाई तस्करी गरेमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद अथवा दुवै सजाय हुने ढकालले बताए ।