बन्दमा चलाएको भन्दै सवारीसाधनमा आगजनी

बन्दमा चलाएको भन्दै सवारीसाधनमा आगजनी


विप्लव समूहले आह्वान गरेको बन्दमा गाडी चलाइएको भन्दै अज्ञात समूहले हेटौँडा–काठमाडौं त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका– ४ दामननजिक काठमाडौंबाट हेटौँडा आइरहेको ना.२च ९०९४ नम्बरको कुखुरा ओसार्ने सवारीसाधनमा आगजनी गरी क्षति पुऱ्याएको छ ।

यसैगरी हेटौँडाबाट भीमफेदी हुँदै थाहा नगरपालिकातर्फ गइरहेको ना.४ख ७९६० नम्बरको मिनी ट्रकमा भीमफेदी गाउँपालिका–९ गोलमोडमा आगजनी गरी क्षति गरिएको छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिका–८ कमानेमा वडा कार्यालयअगाडि सडकमा राखिएको प्रेसरकुकर बम तथा हेटौँडा नारायणगढ सडकखण्डको हेटौँडा उपमहानगरपालिका–१८ को तिनताप्केमा सडकमा राखिएको प्रेसरकुकर बमलाई नेपाली सेनाको बम डिस्पोज टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बन्दका कारण जिल्लामा यातायात, कलकारखाना, शैक्षिक संस्था सञ्चालन हुन सकेको छैन ।