स्रष्टासम्मानको रजत वर्ष मनाउँदै साहित्यकला मन्दिर

स्रष्टासम्मानको रजत वर्ष मनाउँदै साहित्यकला मन्दिर


श्री लुनकरणदास गंगादेवी साहित्यकला मन्दिरले स्रष्टासम्मानको २५औं वर्ष पूरा गरेको अवसरमा यस वर्ष स्रष्टासम्मानको रजत वर्ष भव्य रूपमा मनाउने निर्णय गरेको छ । यस अवसरमा निरन्तर रुपमा सर्जक–कलाकारहरूको सम्मानमा विगत वर्षदेखि नै प्रदान गरिँदै आएका विभिन्न सात सम्मानका अतिरिक्त यस वर्षदेखि अग्रज कवि गोपालप्रसाद रिमालको नाममा थप एक सम्मान ‘गोपालप्रसाद रिमाल काव्यसम्मान’ पनि सुरु गरिएको मन्दिरले जनाएको छ ।

साहित्यकला मन्दिरले यस वर्ष उल्लिखत सम्मानहरूबाट क्रमशः आख्यानकार पद्मावती सिंह (गङ्गादेवी चौधरी स्मृतिसम्मान), अग्रज साहित्यिक इतिहास–अनुसन्धाता मोदनाथ प्रश्रित (इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान), वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारी (सरस्वतीसम्मान), लोक, आधुनिक संगीतका प्रसिद्ध साधक गणेश रसिक (नारायणगोपाल संगीतसम्मान), नेपाली चित्रकला क्षेत्रका विशिष्ट साधक किरण मानन्धर (अरनिको ललितकलासम्मान), रंगमञ्च क्षेत्रकी विशिष्ट अभिनेत्री भुवन थापा चन्द (बालकृष्ण सम रंगसम्मान), वरिष्ठ कवि दिनेश अधिकारी (गोपालप्रसाद रिमाल काव्यसम्मान) र फरक क्षमता भएकी सृष्टि केसी (नेपाल नवप्रतिभासम्मान) लाई सम्मानित गर्ने निर्णय गरेको छ ।

यी सम्मानहरूमध्ये गंगादेवी चौधरी स्मृति सम्मानका लागि नगद रु. १ लाख १ रुपैयाँका साथै प्रशस्ति–पत्र र अन्य प्रत्येक सम्मानका लागि रु. ५१ हजार नगदका साथै प्रशस्ति–पत्र रहेको छ । उक्त सम्मानहरू संस्थाद्वारा यही वैशाख २७ गते, शुक्रबारका दिन काठमाडौंस्थित अग्रवाल सेवा केन्द्रमा आयोजना गरिने विशिष्ट समारोहमाझ प्रदान गरिने बताइएको छ ।