नेपालगन्ज रंगशालाको ‘भीआईपी प्यारापिट’ मंगलबार रातिसम्म तयार हुने

नेपालगन्ज रंगशालाको ‘भीआईपी प्यारापिट’ मंगलबार रातिसम्म तयार हुने


श्रीविक्रम भण्डारी

प्रदेश ५ मा सञ्चालन भइरहेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य रंगशाला ‘नेपालगन्ज रंगशाला’को निर्माण कार्य वैशाख ३ गते मंगलबार राति १२ बजेसम्म सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले जानकारी गराएका छन् । मंगलबार राति निर्माण कार्य सम्पन्न भएपछि वैशाख ४ गते बुधबार रंगशालाको सरसफाइको कार्यक्रम रहेको छ ।


नेपालगन्ज रंगशालामा भीआईपी प्यारापिटको कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउँदै मंगलबार रातिसम्म सबै कार्य सम्पन्न हुने विष्टले दाबी गरे । नेपालगन्ज रंगशालामा हाल निर्माण भएको उक्त भीआईपी प्यारापिट अत्याधुनिक हुनुको साथै तीन हजार पाँच सय दर्शक क्षमता रहेको छ । नेपालगञ्ज रंगशालाको कुल क्षमता १० हजारको रहेको छ ।

मुख्य रंगशाला नेपालगन्ज रंगशालामा वैशाख ५ गते बिहीबार आठौँ राष्ट्रिय खेलकुदको उदघाटन समारोहको आयोजना हुँदै छ । उक्त समारोहको उदघाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी गर्ने कार्यक्रम रहेको छ । पूर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पनि राष्ट्रपति भण्डारीले उदघाटन गरेकी थिइन् ।


उदघाटन कार्यक्रम साँझ ६ बजेदेखि सञ्चालन हुनेछ । उदघाटन कार्यक्रम दुई घन्टा चल्ने राखेपका प्रेस सल्लाहकार रोहित दाहालले बताए । उदघाटन समारोह विगतका राष्ट्रिय प्रतियोगिताको भन्दा उत्कृष्ट र आकर्षक हुने प्रेस सल्लाहकार दाहालको दाबी छ ।