नेपाल सरकार र नेपाली सदीक्षा

नेपाल राष्ट्रले अङ्गीकार गरिआएको विक्रम सम्वत्अनुसार पात्रो परिवर्तन भएको छ । अर्थात्, वि.सं. २०७५ पूरा भई नयाँ वर्ष २०७६ आरम्भ भएको छ । अविरल चलिरहने समयको क्रममा पुरानो वर्ष गुज्रिएर जानु र नयाँ वर्षको आगमन हुनु अत्यन्त सामान्य वा स्वाभाविक अनि निरन्तरको प्रक्रिया हो । तथापि, पृथ्वीभन्दा कहाँ हो कहाँ दूरअवस्थित अन्य ग्रहसम्म सशरीर पुग्ने, पुग्न नसकेको ग्रहमा पनि सार्थक चियोचर्चो गर्ने हैसियत बनाइसकेको वर्तमान मानव–जीवनमा वर्ष परिवर्तनका परिघटनाले गहन अर्थ राख्दछ । बित्ने वर्ष बितिरहन्छ र आउने वर्ष पनि क्रमशः आइरहन्छन् भनी विगत र आगतलाई नजरअन्दाज गर्न मिल्दैन, सकिँदैन । आ–आफ्नो परिवेशअनुसार हरेक मुलुक तथा मुलुकवासीले नयाँ वर्षको स्वागत र बितेको वर्षको समीक्षा गर्नुको तात्पर्य निरर्थक पक्कै छैन ।

नयाँ वर्ष २०७६ को आरम्भ हुँदै गर्दा बितेको वर्ष अर्थात् २०७५ साललाई एकपटक सम्झनु असान्दर्भिक नहोला । हरेक काम–कुरा वा घटना–परिघटनालाई राजनीतिक कोण–कसीबाट दृष्टि लगाउने प्रवृत्तिको वशमा परेको नेपाली परिवेशमा त वर्ष पचहत्तरको प्रारम्भिक दिनलाई एकपटक फर्केर हेर्नैपर्ने विशेष कारण छ ।

वर्ष पचहत्तरको प्रारम्भसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना देखाएका थिए । विकासका दृष्टिले अत्यन्त पिछडिएको पश्चिम नेपालको उच्च पहाडी भूभागस्थित मनोरम रारा तालको किनारमा ठाँट र आत्मविश्वासका साथ आसन जमाएर प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने प्रतिबद्धता जनाएका थिए ।

वर्ष आरम्भका अवसरमा त्यसरी देखाइएको सपना केपी ओलीले बितेको वर्षभर नै देखाइरहे । प्रशंसा–आलोचना, विश्वास–अविश्वासबीच तमाम नेपालीले प्रधानमन्त्रीद्वारा देखाइएको सपना वा बाँडिएको आश्वासन यथार्थमा परिवर्तन भइहाल्ला कि भनी आशाको दृष्टि लगाइरहे । तर, वर्षदिनअघि भित्तामा झुन्ड्याइएको पात्रो फेरियो, नेपालीका जीवनस्तर वा दैनन्दिनी फेरिएन । आमजनताका समस्या समाधान होइन बरु बढेर गएका छन् । आर्थिक, राजनीतिक एवम् सामाजिक क्षेत्रमा बितेको एक वर्षमा सरकारले सकारात्मक शुरुवात गरेको अनुभूति गर्न सकिएन ।

आफ्ना जघन्य प्रकृतिका नकारात्मक कर्म वा कमी–कमजोरीप्रति पूरै आँखा चिम्लिने डरलाग्दो लक्षणको सिकार बन्न पुग्यो दुईतिहाइ बहुमतको शक्तिशाली सरकार ।

सरकारको आँखाले भने यसको ठीक विपरीत देखेको छ । प्रधानमन्त्री, मन्त्री, सत्तासीन दलका अधिकांश नेता–कार्यकर्ताका अभिव्यक्तिमाथि विश्वास गर्ने हो भने देशमा राम्राबाहेक नराम्रा काम–कुरा केही भएकै छैनन् । सत्ताधारीहरूले यतिबेला देशमा कुनै ‘नराम्रो’ देखेका छन् भने त्यो ‘आलोचकका आँखा’ मात्र हो । विरोधीले विरोधकै खातिर सरकारको आलोचना गरेर बदनाम तुल्याउने दुष्प्रयत्न गरेको ठहर छ ओली–सरकारका हर्ताकर्ताहरूको । बितेको वर्ष देशमा भ्रष्टाचार, तस्करी, बलात्कार, हत्याजस्ता जघन्य अपराधका यावत् घटना घटे । ऐतिहासिक स्तरका ती सन्दर्भहरूको चर्चा–परिचर्चा, विरोध–आलोचना एवम् अनुसन्धान–छानबिन र आवश्यक कारबाहीको माग हुनु स्वाभाविक नै थियो । तर, नागरिक तहबाट स्वतस्फुर्त उठेका आवाजलाई समेत सरकारले स्वाभाविक रूपमा ग्रहण गर्न सकेन । त्यस्ता मामलामा छानबिन र कारबाही त सरकारको सामान्य कर्तव्यभित्रै पर्दथ्यो, तर सरकार कर्तव्यविमुख मात्र नभई उल्टै आरोप–प्रत्यारोपमा उत्रियो ।

आफ्ना जघन्य प्रकृतिका नकारात्मक कर्म वा कमी–कमजोरीप्रति पूरै आँखा चिम्लिने डरलाग्दो लक्षणको सिकार बन्न पुग्यो दुईतिहाइ बहुमतको शक्तिशाली सरकार । आफ्ना गल्ती ढाकछोप गर्न उसले नेपाली काङ्ग्रेस नामको कथित ‘प्रतिपक्षी दल’तर्फ औँला उठायो, जो बितेको वर्षकै सबभन्दा हास्यास्पद पक्षको रूपमा चित्रण गर्न सुहाउँछ । किनकि, जुन दललाई सरकारी पक्षले ‘प्रतिपक्षी दल’को दर्जा दिएर विरोधको निम्ति विरोध गरेको आरोप लगायो, त्यो दल आफैँमा लज्जास्पद ढङ्गले निरीहताको सिकार बनिरहेको छ । प्रतिपक्षीय भूमिकामा पूरै असफल रहेको सो दल यतिबेला ‘सरकारलाई काम गर्ने मौका दिएको’ तर्क दिँदै आफ्नो लाज ढाक्ने प्रयत्न गरिरहेको छ, जब कि यस्तो निकम्मा दलतर्फ औँला देखाएर कम्युनिस्ट सरकार आफूलाई पानीमाथि ओभानो तुल्याउन खोजिरहेछ ।

यस्तै बेथिति र वेदनायुक्त हास्यकै बीच पनि नेपाली जनताले सुख, शान्ति र र समृद्धिको सदीक्षा हुर्काइरहकै छन् । नयाँ वर्षले यो चाहना साकार पार्ने प्रयत्न गरिदिनेछ भन्ने आशा गरौँ ।

यो पनि हेर्नुहोस्-

पुरानो वर्षको बिदाईसँगै जगाऔँ आशाको दियो
http://www.ghatanarabichar.com/145290

प्रतिक्रिया