फुटबलका पूर्वखेलाडी तथा राखेपका सदस्य बाँस्तोलाको निधन

फुटबलका पूर्वखेलाडी तथा राखेपका सदस्य बाँस्तोलाको निधन


नेपाली राष्ट्रिय फुटबल टिमका चर्चित गोलकिपर तथा राष्ट्रिय खेलकुदका पूर्वसदस्य शम्भु बाँस्तोलाको निधन भएको छ । बाँस्तोलाको सवारी दुर्घटनामा परेर निधन भएको हो । चैत २८ गते सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका बाँस्तोलाको उपचारको क्रममा चैत २९ गते शनिबार विराटनगरको नोबेल हस्पिटलमा निधन भएको हो ।

६० वर्षीय बाँस्तोला विराटनगरबाट खनारस्थित घर आउने क्रममा दुर्घटनामा परेका थिए । आपूmले नै चलाएको कार सडकको ड्रेनमा परेर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । दुर्घटनामा उनको ढाडमा गम्भीर चोट लागेको थियो । त्यसपछि तुरुन्तै नोबेल हस्पिटल पु¥याए पनि चैत २९ गते राति उनको निधन भएको थियो ।

एक दशक राष्ट्रिय फुटबल टिमबाट खेलेका बाँस्तोला दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ)मा नेपाली टिमले रजत पदक जित्दा नेपाली फुटबल टिमका गोलकिपर थिए । जनकपुर चुरोट कारखानाबाट फुटबलमा डेब्यु गरेका बाँस्तोलाले त्यसपछि नेपाल वायुसेवा निगमको टिमबाट फुटबल खेल्दै आफ्नो टिमलाई थुप्रैपटक च्याम्पियन बनाउन अहं भूमिका निभाएका थिए ।

राष्ट्रिय फुटबल टिमबाट खेल्दा उत्कृष्ट प्रदर्शन गरेका बाँस्तोला निडर र स्पष्टवादी पदाधिकारीको रूपमा परिचित थिए । राष्ट्रिय खेलकुद परिषदको सदस्य रहँदा बाँस्तोला खेलकुदभित्रका विकृति र विसंगति पर्दाफास गरेर चर्चामा आएका थिए । त्यस्तै, अखिल नेपाल फुटबल संघ एन्फाको लडाइँमा समेत उनले विशेष भूमिका निभाएका थिए ।

खेलकुदसँगै राजनीतिमा पनि आफ्नो पकड बनाएका बाँस्तोला ०५६ देखि ०६० सालसम्म राष्ट्रिय खेलकुद परिषदको सदस्यको रूपमा कार्यरत थिए । फुटबल मात्र नभई समग्र खेलकुदको विकासको लागि निकै चिन्तनशील बाँस्तोलाले समयसमयमा खेलकुदमा हावी भएको राजनीतिको विरोध गरेका थिए । खेलकुदजस्तो रचनात्मक ठाउँमा राजनीति गर्न नहुने बाँस्तोलाको स्पष्ट धारणा थियो ।

बाँस्तोलाको असामयिक निधनप्रति खेलकुदका विभिन्न संघसंस्था तथा शुभचिन्तकहरूले गहिरो समवेदना प्रकट गरेका थिए । स्वर्गीय बाँस्तोलाका श्रीमती, एक छोरी र दुई छोरा छन् ।