टेबलटेनिसमा स्यान्टु र नविता सिङ्गल्स च्याम्पियन

टेबलटेनिसमा स्यान्टु र नविता सिङ्गल्स च्याम्पियन


‘आठौँ’ राष्ट्रिय खेल प्रतियोगिता अन्तर्गत ४०औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल प्रहरीकाद्वय स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ च्याम्पियन भएका छन् । सिङ्गल्सको पुरुषमा स्यान्टु तथा महिलामा नविता च्याम्पियन भएका हुन् ।

सातौँ राष्ट्रिय खेलकुदमा पनि दुवैले सिङ्गल्स उपाधि जितेका थिए । च्याम्पियनद्वयले मिक्स डबल्समा पनि स्वर्ण जितेका थिए ।

दाङको घोराही कभर्डहलमा भएको पुरुष फाइनलमा स्यान्टुले आफ्नै क्लबका प्रदीप रोकालाई ११–१, ११–५, ११–६ र ११–५ को सोझो सेटमा पराजित गरेका थिए । सेमिफाइनलमा स्यान्टुले एपीएफका शिवसुन्दर गोथेलाई ४–० तथा प्रदीपले एपीएफका विलोश श्रेष्ठलाई ४–२ ले हराउँदै उपाधि भीडन्त पक्का गरेका थिए । पराजयसँगै शिव र विलोशले तेश्रो स्थानमा रहे ।

महिला उपाधि भिडन्तमा नविताले प्रहरीकै आफ्नै नन्द एलिना महर्जनलाई ११–७, ११–५, ७–११, ११–९, ९–११ र १२–१० को सेटमा हराइन् । आर्मीका रविना महर्जन र दीक्षा तामाङले तेश्रो स्थानमा चित्त बुझाए । सेमिफाइनलमा नविताले दीक्षालाई ४–० तथा एलिनाले रविनालाई ४–२ ले निराश पारेका थिए ।

विजेतालाई प्रदेश सांसद अमर डाँगीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चैत २७ गतेदेखि सुरु प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷एपीएफ) बाट १ सय ६० खेलाडी सहभागी थिए । विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।