सुन्दरीजल–वाग्द्वार क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न महोत्सव

सुन्दरीजल–वाग्द्वार क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न महोत्सव


–पूर्णप्रसाद मिश्र
वाग्मतीको उद्गमस्थल वाग्द्वारलाई चिनाइ यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सुन्दरीजल–वाग्द्वार पर्यटन महोत्सव आयोजना गरिएको छ । गोकर्णेश्वर नगरपालिकाले वाग्द्वारमा स्नान मेला लाग्ने वैशाख १ गतेको अवसर पारेर नगरपालिकाको वडा नं १ स्थित देउरालीमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा हजारौँको सहभागिता थियो ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका एवं काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोकको सीमा नजिकमा रहेको वाग्मतीको उद्गमस्थल वाग्द्वारबाट निस्किएको पानी गोकर्णेश्वर महादेव मन्दिर हुँदै राजधानी प्रवेश गर्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट निस्किएपछि गङ्गा नदीमा नमिसिएसम्म वाग्मतीकै नामले प्रसिद्ध छ । यसैले यो स्थानको महत्व रहेको स्थानीयवासीको भनाइ छ ।

कार्यक्रमको उद्घाटन गर्दै पूर्वखेलकूदमन्त्री एवं सांसद राजेन्द्रकुमार केसीले प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दरीजल–वाग्द्वार क्षेत्रको विकासमा तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताए । प्रदेशसभा सदस्यत्रय छिरिङदोर्जे लामा, रामेश्वर फुयाँल र राधा घलेले राजधानी नजिकैको पर्यटकीय महत्व बोकेको स्थललाई हालसम्मका सरकारले विकास गर्न नसकेको टिप्पणी गरे । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले स्थानीय तहसँग समन्वय नगरी वडा नं १ को मूलखर्क, ओखरेनी, चिलाउनेलगायत बस्ती सार्ने हल्ला गरिएको भन्दै आपत्ति जनाए । नगर उपप्रमुख शान्ति नेपालले निकुञ्जभित्रै बस्ती गरेर बसेका मानिससँग पनि बाहिर गएर आउँदा रु १२५ शुल्क उठाइएकोमा आपत्ति जनाए ।

कार्यक्रममा वडा नं १ का अध्यक्ष राम मानन्धर, स्थानीय पर्यटन विकास समितिका अध्यक्ष कान्छाराम तामाङलगायतले सुन्दरीजल–वाग्द्वार क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न तिनै तहका सरकारले समन्वयात्मकरुपमा काम गर्नुपर्नेमा जोड दिए ।

वाग्द्वारमा भक्तजन

वैशाख १ गते स्नान मेला लाग्ने वाग्मतीको उद्गमस्थल वाग्द्वारमा आइतबार हजारौं स्वदेशी एवं विदेशी पर्यटक तथा भक्तजनले स्नान गरेको वडा अध्यक्ष राम मानन्धरले जानकारी दिए । वैशाख १ गते स्नानका लागि वाग्द्वार पवित्र तीर्थस्थल मानिन्छ ।

वैशाख १ गतेका दिनमा त्यहाँ पुगी स्नान गरेमा पाप पखालिइ अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । वाग्मतीको वर्णन विभिन्न पुराणमा गरिएको छ । सृष्टिको शुरुमा ब्रह्माजी मृगेन्द्रशिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भएपछि शिवजीको ध्यान गरी शिवजीको वाग् अर्थात् बोलीबाट प्रकट भएकाले यस नदीको नाम वाग्मती रहेको विषय नेपाल माहात्म्यको हिमवत्खण्ड लगायतका धार्मिक ग्रन्थमा व्याख्या गरिएको वेदमा विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेल बताउनुहुन्छ ।

‘ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यहीँ भएको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट वाग्मती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्वती र वाग्मती आदि नामले पुकारिन्छ’, उनले भने ।

वाग्मती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनि अश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ भनी वरदान दिनुभएको पौराणिक मान्यता छ । यहाँ स्नान गरेमा भुक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको हो भन्ने विश्वास छ ।

वाग्मती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भक्भके बोली भएकाको बोलीमा शुद्धता आउने धार्मिक विश्वाससमेत छ । यही विश्वासका कारण पनि वैशाख १ गते हजारौँ स्नान र जल सेवनका लागि वाग्द्वारमा जाने गरेका छन् ।

शिवजीको बोलीबाट वाग्मती प्रकट भइसकेपछि अरु नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवं दान गरेमा पुण्य प्राप्त हुनेछ भनी भगवान् विष्णुले वरदान दिएको धार्मिक विश्वास छ । यसैले सूर्यग्रहण, चन्द्रग्रहण र औँसी आदि पर्वमा वाग्मतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चलिआएको हो । वाग्मती नदी भारतमा रहेको जमुना नदीसित नमिलुञ्जेल अविछिन्नरुपमा वाग्मतीकै नामले चिनिने र यसबीचमा एक हजार आठ तीर्थस्थल रहेको प्रा डा पोखरेल बताउँछन् ।

हाल चिसापानी, हेलम्बु, मेलम्ची, पाटीभञ्ज्याङ, लाङ्टाङ, झुले, जहरसिंहपौवा, नगरकोटलगायत पर्यटकीयस्थलमा सुन्दरीजलकै मार्गबाट पदयात्रा गर्ने गरिन्छ । यो पदमार्गबाट विदेशी एवं स्वदेशी पर्यटकले यात्रा गर्ने भए पनि यहाँ पूर्वाधारका विकास हुन नसकेको पर्यटन व्यवसायी नारायण श्रेष्ठले गुनासो गरे ।