किन पक्राउ परे विकिलिक्सका संस्थापक असान्ज ?

किन पक्राउ परे विकिलिक्सका संस्थापक असान्ज ?


बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ ।

इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ । प्रहरीले असान्जलाई जतिसक्दो चाँडो वेस्टमिन्स्टर मजिस्ट्रेटसमक्ष प्रस्तुत गरिने जनाएको छ ।

असान्ज सन् २०१२ को अगष्टदेखि लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिएर बसेका थिए । राजदूतावासबाट बाहिर निस्किए आफूलाई संयुक्त राज्य अमेरिका सुपुर्दगी गरिने खतरा रहेको उनले दाबी गर्दै आएका थिए ।

असान्जमाथि अमेरिकी हजारौँ वर्गीकृत सैनिक तथा कूटनीतिक केबल (पत्राचार) विकिलिक्समार्फत सार्वजनिक गरेको आरोप छ ।