भरतरपुरमा अन्तर्राष्ट्रिय स्तरको फन पार्क

भरतरपुरमा अन्तर्राष्ट्रिय स्तरको फन पार्क


चितवनको भरतपुर महानगरपालिका–४ लंकूमा जेम्स वर्ल्ड फन पार्क सञ्चालनमा आएको छ । चितवनको भेटघाट ग्रुपद्वारा प्रवद्र्धित करोडौँ लगानीको अत्याधुनिक सो फन पार्कको भोलि (चैत २८) बिहान औपचारिक उदघाटन हुने फन पार्कका अध्यक्ष महेश तिवारीले जानकारी दिएका छन् ।

फन पार्कले पार्क सञ्चालनबारे जानकारी दिनका लागि गत शनिबार गरेको पत्रकार सम्मेलनमा आउँदो वैशाख १ गतेबाट नयाँ वर्षको उपलक्ष्यमा वृहत् सुरुवात गरिने जनाइएको थियो । बताइएअनुसार यस पार्कमा एक महिनासम्म सर्वसाधारणले २५ प्रतिशत छुट पाउने छन् ।

मनोरञ्जन केन्द्र मात्र नभएर पार्कलाई बालबालिकाहरूको ज्ञानको केन्द्रको रुपमा विकास गरिएको पार्कका प्रबन्ध निर्देशक ईश्वरविकल सापकोटाले बताए । नेपालकै ठूलो यस जेम्स वल्र्ड फन पार्कमा आउने हरेक ग्राहकले विश्वका विकसित देशमा रहेका फन पार्कको जस्तै आनन्द लिन सक्ने दाबी समेत सापकोटाले गरेका छन् ।

फन पार्कभित्र ३०० वटा मोटरसाइकल र २०० वटा गाडी पार्किङ गर्ने गरी पार्किङ सुविधा उपलब्ध रहेको छ । नेपालकै ठूलो फनपार्कमा नागरिकले मिनी रेल, ट्रयाम्पोलिङ, आउट डोर प्ले ग्राउण्ड, बढी स्लाइड, मल्टी लेन रेसर, पारिवारिक स्लाइडको आनन्द लिन सक्नेछन् । त्यस्तै साहसिक रुपमा खेलको आनन्द लिन चाहनेहरूलाई फन पार्कभित्र नै १६५ फिट लामो स्लाइडको व्यवस्था गरिएको छ । चितवन क्षेत्र पोखरा र काठमाडौंको तुलनामा बढी गर्मी हुने ठाउँ भएकोले सेवाग्राहीलाई शीतलता प्रदान गर्न कमर्सियल स्विमिङ पुल र अम्ब्रेला वाटर फलको पनि व्यवस्था गरिएको छं ।

बालबालिकादेखि हरेक उमेर समूहका मानिसहरूले फनपार्कमा सेवा लिएर जीवनका तनाव र थकानहरू बिर्सिएर स्फूर्ती लिन सक्ने गरी यसको निर्माण गरिएको प्रबर्द्धकहरूको भनाई छ । जसको लागि बालकालिकाहरूका लागि मल्टिप्ले स्टेशनदेखि लिएर सबै उमेर समूहले बम्पर कार, जादुमय कार, उड्ने कुर्ची, मोनस्टर राइड, बुल राइड, वाइपआउट र मसाज चेयर जस्ता आनन्ददायक खेलहरू खेल्न सक्नेछन् ।

जेम्स वल्र्ड फन पार्क मनोरञ्जनको स्थल मात्र नभएर बालबालिकालाई केही जान्ने र बुझ्ने सिकाइको थलो पनि बनाइएको छ । बालबालिकाले डाइनोसरको जीवन प्रक्रियाका विषयमा प्रत्यक्ष जानकारी लिन सक्नेछन् । बालबालिकाका लागि नै भनेर पार्कले एङ्ग्री गोरिल्ला र टकिङ ट्रीको पनि व्यवस्था गरेको छ । पार्कमा आउने जो कोहीले आफ्नै घरको जस्तै पारिवारिक वातावरण पाउनेछन् । हरेक सेवाग्राहीको जीवनको सुरक्षाको लागि पार्कभित्र कुनै दुर्घटना भएमा दुर्घटना बिमाको व्यवस्था गरिएको छ । पार्कको प्रत्येक कुनामा सचेतनामूलक जानकारी राख्नुका साथै पार्कभित्र नै स्वास्थ्य कक्षको पनि व्यवस्था गरिएको पार्कले जनाएको छ । खेलमा भरपुर आनन्दसँगै पार्कमा आउने ग्राहकलाई विभिन्न नेपाली, चाइनिज र भारतीय खानाको स्वाद दिन भेटघाट रेष्टुरेन्टकै शाखाको पनि व्यवस्था गरिएको जनाइएको छ ।

सो फन पार्कको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने छन् भने उदघाटन कार्यक्रममा विशिष्ट अतिथिमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा नेता शशांक कोइराला रहने छन् । कार्यक्रमका लागि चितवनका झण्डै एक हजार जना विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा गरिएको फन पार्कका अध्यक्ष तिवारीले जानकारी दिए ।