सिड्नीमा बुलबुल : हाँस्दाहाँस्दै रूवाउने शानदार फिल्म

सिड्नीमा बुलबुल : हाँस्दाहाँस्दै रूवाउने शानदार फिल्म


  • राजन घिमिरे, अष्ट्रेलिया

राम्रो चलचित्रको मापदण्ड के हो ? चर्चित निर्देशक र महँगा कलाकार लिएर महँगा सेटमा छायाङ्कन गर्दैमा त्यो स्तरीय र अब्बल दर्जाको चलिचित्र कहलिने हो ? या, करोडौँ (नेपालको सन्दर्भमा) लगानी भएको, विदेशमा छायाङ्कन गरिएको भन्ने हौवा पिटाएपछि त्यो विशेष दर्जामा पर्ने हो ?

वास्तवमा राम्रो चलचित्र त्यही हो जसले दर्शकहरूको मन सहजै जित्न सक्छ । जुन चलचित्र हेरेर दर्शक सन्तुष्ट हुन्छन् र ‘वाह्’ भन्छन् ।

विषयको गहिरो अध्ययन नगरी, गुदीसम्म नपुगी पर्दामा महँगा दृश्य, दृश्यपिच्छे पात्रहरूले फेर्ने पहिरन वा बलबान हिरोको ढिस्यूँ–ढिस्यूँ रसंलग्न गरिएको चलचित्र बनाएर आत्मरतिमा कहिलेसम्म रमाउंने ? अब यी र यस्ता कृत्रिमतामा घुमेका चलचित्रहरूले न स्याबासी पाउन सक्छन् न त दर्शकहरूले नै कालान्तरसम्म यस्ता चलचित्रलाई मन र मष्तिष्कमा राखिरहन्छन् !

अब साँच्चै कल्पना र कोरा कुरा अनि पर्दामा चमकधमक मात्र देखाउने तर ‘गुदी’ भने केही पनि नहुने चलचित्रहरूले दर्शकको साथ पाउन छाडेको कुरा केही समययता एकपछि अर्कों गरेर गोलखाडी गएका निर्मातालाई सडकमा ल्याउने चलचित्रहरूको असफलताले छर्लङ्ग पारेको छ ।

अहिले समय परिवर्तन भएको छ । दर्शकहरूको सोच, धारणा र दृष्टिकोणमा पनि परिवर्तन आएको छ । कुनै समय नेपाली सिनेमा भन्नासाथ आँखा चिम्लिएर हलमा दौडने दर्शकहरू छैनन् अहिले । दर्शकहरू आफै पनि मूल्याङ्कन गर्न थालिसकेका छन् । त्यसकारण पनि अब फिल्ममेकरहरूले पर्दामा आलिशान बंगला, गीत–संगीतमा तडकभडक खर्च महँगा पहिरनहरूतिर भन्दा विशेषतः ‘कन्टेन’तिर ध्यान दिनुपर्ने अवस्था आइसकेको छ ।

पर्दामा दर्शकहरूले कृत्रिम नभएर पात्रको सजीव उपस्थिति र सम्वाद अनि अभिनय हेर्न चाहन्छन् र त्यस्ता चलचित्रलाई उनीहरूले स्वीकार्छन् भन्ने कुराको गतिलो र भरपर्दो उदाहरणसहित यतिबेला दर्शकमाझ आइपुगेको छ चलचित्र बुलबुल ।

नेपालमा यो चलचित्रले वर्तमान नेपाल र नेपालीको अवस्थालाई यसरी चित्रण गरेको छ कि सिनेमा हेर्दा दर्शकहरूले आफूलाई नै पात्रको रूपमा पाउँछन् । बुलबुलले नेपाली कथा, मर्म र साखलाई यसरी बचाएको छ कि कसैले पनि यो चलचित्र हेर्दा कृत्रिमताको आभाष गर्न पाउँदैनन् ।

यो चलचित्रले नेपालमा तारिफ पाएकै केही हप्तापछि अष्ट्रेलियाको सिड्नीबाट समेत आफ्नो उपस्थिति एवम् दर्शकको मन जित्ने कार्य आरम्भ गरेको छ । शनिबार सिड्नीमा पहिलोपटक प्रदर्शन गरिएको यो चलचित्रमा न त नायिकाले ग्ल्यामर झल्किने जिन्स पाइन्ट लगाएकी छिन् न त कमाल नै रंगाएकी छिन् । पर्दामा पात्रहरूले डेटिङका लागि महँगो होटलको रूम बुक गरेका पनि छैनन् । चलचित्रको विषयबस्तु यति वजनदार र चोटिलो छ कि चलचित्र हेर्दा हेर्दा आँशु आउँछ ।

चलचित्र २ रूपैयाँमा कुटुमा कुटु भन्दै नाचेकी अभिनेत्री स्वस्तिमाले बुलबुलमा रूवाउँछिन । निर्देशक विनोद पौडेल आफू कस्तो चलचित्र बनाउँदै छु भन्ने कुरामा स्पष्ट भएको हुँदा चलचित्रको कन्टेनमा गहिराइसम्म पुगेका छन् । यो नै सिनेमाको बलियो र वाह गर्न लायकको पक्ष हो ।

क्रेजको भरको टिकाई क्षणिक हुन्छ, सजीव अभिनय र भूमिकामा चुर्लुम्म डुब्न सक्ने कलाकार नै पछिसम्म टिक्न सक्छ भन्ने कुराको उदाहरण स्वस्तिमाले गजबकै काम गरेर देखाइदिएकी छिन् । सम्भवतः यो पुस्तामा देखापरेका नारी पात्रहरूको भीडमा स्वस्तिमा अभिनयको मामिलामा अन्यलाई पछाडि पार्न सक्छिन् भन्न सकिन्छ ।

पहिलो चलचित्रमा नै मुकुन भुसालले नायकको रूपमा यति राम्रो काम गरेका छन्, उनले परेर होइन पढेर कलाकारितामा आउँदा राम्रो हुन्छ भनेर प्रमाणित गरिदिएका छन् । अभिनयमा माष्टर्स गरेका मुकुनले अहिले यति पारिश्रमिक लिएँ, उति लिएँ भनेर मिडियामा प्रचारबाजी गर्नेहरूलाई निकै पछाडि पारेका छन् । लक्ष्मी बर्देवा, जोहेस पान्डे र दिपक क्षेत्रीको कामको तारिफ जति गरे पनि थोरै नै हुनेछ ।

सिनेमामा निर्देशकले सानो–सानो कुरामा पनि ध्यान दिँदा सुनमा सुगन्ध थपिएको छ । टेम्पो चालक महिलाको जीवनसँग गाँसिएको यो सिनेमामा देखाइएको परिवेशले दर्शकहरूको मन यसरी छुन्छ कि उनीहरू आँशु नझारी रहन सक्दैनन् । चलचित्रमा पात्रले प्रयोग गर्ने मोबाइलमा बज्ने रिङटोनको समेत चलचित्रमा महत्वपूर्ण भूमिका रहेको छ ।

‘टेम्पोको पांग्राले अब काम गर्दैन’ भनेर मिस्त्री बनेका जोहेस पाण्डेले बोलेको सम्वादले नै अन्ततः सिनेमाको कन्टेन, पात्रको मर्म र चलचित्रको उचाई समातेको छ ।

सिनेमाको कन्टेन आज प्रवासिएका नेपालाहरूको कथा र ब्यथामा मात्र सीमित छैन कि एउटा पेशा अपनाएर आफ्नो जीवनलाई अगाडि बढाइरहेकी युवतीको मन र भावनाको गहिराइसम्म पुगेको छ ।

हिरो भनेको यस्तै वा त्यस्तै हुनुपर्छ भनेर आफ्नो सिर्जना, क्षमता र दक्षता भन्दा अरूको आडमा सिनेमा बनाएर आफूमाथि विश्वास नगरी दर्शकहरूको माग र बजारमा यसको क्रेज छ भनेर त्यसको पछाडि लाग्नेहरूले यो चलचित्र हेर्दा राम्रै हुने देखिन्छ ।

निर्देशकले चलचित्रलाई यसरी बिट मारेका छन् कि दर्शकहरू सिटबाट उठ्नै मान्दैनन् । केही सिन आउँछ कि भनेर उनीहरू प्रतीक्षा गर्छन् । सलल्ल बग्दाबग्दै एकाएक समाप्तिको संकेत आएपछि दर्शकहरू भन्छन् –‘ए सकिएछ… ?!’