‘सुन तिमी…’ भन्दै चाइनिज युवतीसँग मोडलिङ

‘सुन तिमी…’ भन्दै चाइनिज युवतीसँग मोडलिङ


  • राजन घिमिरे, अष्ट्रेलिया

नेपाल रहँदा पनि उनी चलचित्र निर्माण र कलाकारिता विधामा सक्रिय नै थिए । बर्मा गए पनि कर्म सँगै भनेजस्तै प्रवासी जीवनमा पनि शिशिर जय खरेलले आफ्नो त्यो ‘प्यासन’ छोड्न सकेका छैनन् । करिव डेढ वर्ष अगाडि अष्ट्रेलियाको सिड्नी हानिएका शिशिर यहाँको ब्यस्त जीवनमा पनि कलाकारितालाई निरन्तरता दिन लागिपरेका छन् ।

यसै क्रममा शिशिरले आफ्नै लगानी र अभिनयमा सिड्नीका विभिन्न सुन्दर स्थानहरूमा छायाङ्कन गरिएको म्यूजिक भिडियो तयार पारेका छन् । ओएसीस एजुकेशनको प्रस्तुति रहेको यो गीतमा प्रताप दासको आवाज समेटिएको छ भने ‘सुन तिमी मेरो साथ नहुँदा के गर्छौ…’ बोलको यो गीतमा राजेन्द्र भट्ट मिष्टर आरजेको संगीत रहेको छ ।

शिशिरले चाइनिज मोडलसँग मोडलिङ गरेका छन् । लाटी र बन्धन नामक दुई चलचित्रका निर्माता शिशिरले नेपालमा रहँदा नेपाली चलचित्रका चर्चित चलचित्र वितरक सुनिल मानन्धरको सहयोगी भएर चलचित्र वितरण क्षेत्रमा पनि काम गरे । ‘जहाँ गए पनि आफ्नो क्षेत्रलाई बिर्सन सकिँदैन रहेछ । प्रवासको बसाईमा पनि कलाकारितालाई विभिन्न पक्षहरूबाट निरन्तरता दिने योजना बनाएको छु’, शिशिरले भने ।

लब रोमान्टिक यो गीत यतिबेला बजारमा आइसकेको छ भने गीत र भिडियोले राम्रो प्रशंसा कमाइरहेकोमा शिशिरले खुशी ब्यक्त गरे– ‘प्रवासमा गरेको कामले अरूको मन जित्दा खुशी नलाग्नु त कुरै भएन नि !’– शिसिरले थपे ।