कान्दाको कथा, विष्णुको व्यथा

कान्दाको कथा, विष्णुको व्यथा


ट्राभल एजेन्सी, होटेल–रिसोर्टजस्ता आफ्नो रुचिको व्यवसायमा जमिरहेका विष्णु गौतमले राम्रोसँग चलिरहेको आफ्नो व्यवसाय नै बन्द गरेर सामाजिक कार्यमा होमिनु पर्ला भन्ने रत्तिभर सोचेका थिएनन् । उनको ट्राभल व्यवसायले मनग्गे आम्दानी दिइरहेको थियो । भर्भराउँदा सन्ततिहरू र जीवनसङ्गिनीको साथ, राजधानीमा गतिलो घरवास । आमनेपालीको आँखाबाट हेर्दा विष्णु गौतमको जीवन वास्तवमै सुन्दर एवम् लोभलाग्दो देखिन्थ्यो । जीवनको यो सरसपूर्ण गति सरल ढङ्गले अविराम चलिरहन्छ भन्ने लाग्दथ्यो उनलाई ।

तर, विधिको विधान बेग्लै रहेछ । बग्न त उनको जिन्दगीको नदी बगिरहेकै छ, तर नितान्त बेग्लै धार पक्रिएर । उनको जीवनयात्रालाई नजिकबाट नियाल्नेहरू यतिबेला जिब्रो काड्छन्– कसरी विष्णु गौतमले आफूलाई सम्हालेर परसेवामा यस्तो समर्पित बन्न सकिरहेका छन् !? स्वयम् विष्णुको निम्ति भने यो कष्टपूर्णझैँ लाग्ने दैनन्दिनी नै यतिबेला प्यारो लाग्न थालेको छ । आफू अनेक प्रकारका समस्यामा जेलिनु नै किन नपरोस्, परसेवाबाट प्राप्त हुने अमृत–आनन्दबाट अलग रहनेबारे सोच्नसम्म पनि सक्दैनन् अब उनी । आफ्नो लागि भन्दा दीनदुःखी अरूहरूकै जीवनमा खुसी ल्याइदिने कर्ममा पसिना बगाउँदै आफ्नो मुहारमा मुस्कान ल्याउने ध्याउन्नमा हरदम लागिपरिरहेका छन् विष्णु । सामाजिक सेवाको निम्ति ‘लक्ष्मी प्रतिष्ठान’ नामक संस्थालाई उनले आफ्नो टेको तुल्याएका छन् ।

लक्ष्मी प्रतिष्ठानको विधिवत् स्थापना २०६६ पुस २ गते भएको हो, जुन दिन अकालमै जीवन गुमाएका विष्णुका जेष्ठ सुपुत्र कुमारको वार्षिक पुण्यतिथि परेकोे थियो । पुत्रवियोगको पाटो यहाँनेर खोतल्नु सान्दर्भिक नै होला, किनकि विष्णु त्यस्ता विरल बाबुमध्ये पर्छन् जसले लगभग वर्षदिनकै अन्तरमा आफ्ना होनहार दुई छोरा गुमाएका छन् । र, त्यही असैह्य वियोगको चोटले नै जीवनमा अर्काको निम्ति केही गर्ने अठोट पैदा भई पन्पिन पुगेको थियो विष्णु गौतमको हृदयमा । पुत्रवियोगको वेदनामा चेपिएर बेहाल बन्न पुगेकी जीवनसङ्गिनी लक्ष्मीलाई सान्त्वना दिनकै लागि पनि उनले संस्था दर्ता गरेर दीनदुःखीको सेवा गर्ने लक्ष्य चुनेका थिए । भौतिक रूपमा छोराहरू जीवित नभए पनि भावनात्मक रूपमा उनीहरूलाई साथमै राख्न सामाजिक कार्य गर्ने उद्देश्यका साथ लक्ष्मी प्रतिष्ठानको जन्म भएको उनी खुलासा गर्छन् ।

आज मुलुकको सर्वशक्तिमान सरकार नै जनतालाई राहत पुग्ने गरी काम गर्न नसकेर/नगरेर आलोचित बनिरहेको सन्दर्भमा कुनै व्यक्तिविशेष वा एक संस्थाविशेषले गरेको कर्मको चर्चा फगत अतिरञ्जना ठहरिन सक्छ । तर, चितवनको अति विकट स्थान कान्दा गाउँको कायापलट गर्न लक्ष्मी प्रतिष्ठान नेपालले गरेको कर्मको जति नै प्रशंसा गरे पनि अपुग हुन्छ । यो अतिसयोक्ति नभई यथार्थ हो ।

सो प्रतिष्ठानले अति पिछडिएको र राजनीतिक नेतृत्वको पनि उपेक्षाको सिकार बन्दै आएको धादिङ र चितवनको सीमामा पर्ने कान्दा (चितवन)मा ‘कुमार बलराम छात्रावास’को रूपमा आधारभूत आवासीय विद्यालय सञ्चालनमा ल्याएपछि स्थानीय चेपाङलगायत पिछडिएका समुदायमा कल्पना नगरिएको परिवर्तन आएको छ । आरम्भमा कान्दा मितेरी फाउन्डेसनसमेतको सहयोगमा अभियान सञ्चालन गरिए पनि यतिबेला लक्ष्मी प्रतिष्ठान एक्लैले जुन स्तरको काम गरिरहेको छ, त्यो साँच्चै स्तुत्य मान्नुपर्छ ।

विषालु जङ्गली च्याउ खाएर ०६७ मा एकैघरका आठजनाको ज्यान गएपछि कान्दा एकाएक चर्चामा आएको थियो । सोही घटना नै यस ठाउँको भाग्य बदल्ने टर्निङप्वाइन्ट बन्न पुग्यो, जब सहयोगको भावना बोकेर फराकिलो हात अघिसार्दै लक्ष्मी प्रतिष्ठानका अगुवा विष्णु गौतम उक्त विकट स्थानसम्म पुगेका थिए । प्रतिष्ठानले गरेका, गर्दै रहेका र भावी दिनमा गर्न लागेका कामको फेहरिस्त लामो छ । यहाँचाहिँ कान्दामा गरेको कर्मको लघु चर्चाको चेष्टा गरिएको छ ।

०६८ मा एउटै परिवारका आठजना जङ्गली च्याउ खाएर मरेको घटनापछि दुर्गम स्थान कान्दा चर्चामा आएको थियो । घटनाबाट बच्न सफल रहेका दुई बालकलाई ल्याई आफ्नो रिसोर्टमा राखेर पाल्ने उद्देश्यले विष्णु गौतम आफ्नो टिमका साथ कान्दातर्फ लागेका थिए । तर, कान्दा पुग्दै गर्दा बाटोमा उनले गरिबी, अभाव तथा दुःख–पीडाका जे–जस्ता सजीव चित्र देखे, त्यसले उनलाई स्तब्ध तुल्यायो ।

खासगरी पाँच दिनको सुत्केरी महिला भोकमा तड्पिँदै काँचो–कचिलो आरुबखडा टिप्न कोसिस गरिरहेको र विवाह गर्ने अघिल्लो दिन एक युवक आफूसँग भएको एकसरो पुरानो कपडा बिहेमा लगाउन धुँदै गरेको, तर फेर्ने कपडा नहुँदा सर्वाङ्ग नाङ्गै भेटिएको घटनाले उनको मन छोयो । बाटोखाजाको रूपमा लिएर गएको चाउचाउ, बिस्कुट ती सुत्केरी महिलालाई र शरीरमा आफूले पहिरिएको ज्याकेट नै उक्त नाङ्गो युवकलाई लगाउन दिएका गौतमले त्यति नै बेला अठोट गरे कि दुर्गममा यस्ता दर्दमा आफूसक्दो मल्हम लगाउँदै अघि बढ्ने । शहर–बजारमा सञ्चालन गरेको सामाजिक अभियान छोडेर उनले त्यसपछि दुर्गममा काम गर्न कम्मर कसे ।

आफ्नो पारिवारिक जीवनमा घटेको दर्दनाक घटनापछि शिक्षा, स्वास्थ्य, सीप विकास, महिला सशक्तिकरणको लक्ष्य लिएर सक्रिय रहेका थिए विष्णु । संसारमा दुःखपीडामा परेका बालबालिका, वृद्धवृद्धा, युवा, महिला यत्रतत्र छन्, तिनको सक्दो सेवा गरेर दिवंगत सन्तानलाई आफूसँगै भएको अनुभूति गर्ने भावना बोकी विष्णु गौतमले अभियानको आरम्भमा अनेकोट (काभ्रे)को बाल प्रतिभा निमाविको भवन निर्माण गरेका थिए । त्यही क्षेत्रको भक्रमदेवी माविमा लक्ष्मी प्रतिष्ठानले पुस्तकालय र खानेपानी योजना सम्पन्न गऱ्यो । समयक्रममा विभिन्न जिल्लामा गरी चारवटा विद्यालय भवन निर्माण भयो । रौतहट, काभ्रे, चितवनको राप्ती नगरपालिकामा आवासीय विद्यालयसहितका १६ वटा भवन निर्माण गरेको प्रतिष्ठानले हाल राप्ती नगरपालिकाको उक्त दुर्गम स्थानमा १६३ जना बालबालिकालाई निःशुल्क खाने, बस्ने र पढ्ने सुविधा प्रदान गरिरहेको छ ।

यसरी कान्दामा आधारभूत विद्यालय सञ्चालन गरेका छन् उनले । चरम भोक, रोग, अभाव वा गरिबीले ग्रस्त अनकन्टार ठाउँमा काम शुरु गरी निरन्तरता दिन विष्णुलाई आरम्भमा निकै गाह्रो भयो । अहिले पनि कठिनाइ कायम नै छ । तर, उनी गलेका छैनन् । सर्वप्रथम लक्ष्मी प्रतिष्ठानले एक ट्रक कपडा सङ्कलन गरी त्यहाँ लगेर बाँड्यो । अन्धकार मेटाउन १३३ थान सोलार, विद्यार्थीलाई ८८ जोर युनिफर्म, जुत्ता एवम् गाउँवासीलाई खाद्यान्न र ब्ल्याङ्केटहरू पनि वितरण गऱ्यो । यस कर्मका कारण स्थानीयवासीको मुहारमा पैदा भएको खुसीका किरण देखेर विष्णु गौतम भावविभोर भए । अनि त गाउँलेलाई एक–एकवटा घर पनि बनाइदिने जोस उनलाई चल्यो र ६३ वटा घर बनाइदिए, प्रत्येक घरको १ लाख ८ हजारका दरले । चाडबाडमा मासु, चामल, च्युरालगायत खाद्यान्न बाँड्न थाले । एउटा गाउँ नै यसरी पाल्न कसरी सम्भव छ भनेर साथीभाइले गाली पनि गरे । परिवारको बिचल्ली पार्ने भयो भनी दुःख प्रकट गरे । तर, उनमा बेग्लै ‘जुनून’ सवार भइसकेको थियो ।

शुरुको तीन वर्ष ट्राभल कम्पनी, रिसोर्ट बेचेर अभियानमा होमिएका गौतमलाई आफू रित्तिएपछि पनि सेवाकर्म छोड्न मन लागेन । भावावेशमा काम शुरु गरेको भए पनि रोकिन मिलेन भन्छन् उनी । सहयोग जुट्ने आशाले आफूले गर्ने गरेको कामबारे उनले सोसिल मिडियामा जानकारी दिन थाले । तथापि, आजसम्म उनीसँग विदेशी दाता छैनन्, विदेशमा बस्ने नेपालीलाई लक्षित गरेर उनले सहयोग जुटाए । ठूलो काम गर्न सानो बजेटले पुग्ने त सवाल नै रहेन । रत्तिभर फजुल खर्च नगर्दा र प्रतिष्ठानका बोर्ड मेम्बरहरूले तलब–भत्ता नलिँदा पनि २७ जना स्टाफसहितको कान्दामा सञ्चालित छात्रावाससहितको उक्त अभियानका लागि अहिले डेढ करोडभन्दा बढीको बजेट उनले जसरी पनि जुटाउनुपर्छ ।

कान्दासँग भावनात्मक रूपले यसरी जोडिन पुगेका विष्णुले स्थानीयसँग ५४ रोपनी जमिन खरिद गरी घर तथा आवासीय आधारभूत विद्यालय बनाउन शुरु गरेका हुन् । ०७२ साल असार ४ मा काम शुरु गरेकोमा अहिले १६ वटा ब्लक बनिसकेको छ त्यहाँ, बच्चाहरूको लागि ६ वटा, स्टाफ, स्टोर, लाइब्रेरी, अफिस, किचन, डाइनिङ सबै छ, तर त्यहाँ पुग्नचाहिँ सडक बाटो छैन, पैदल हिँडेरै पुग्नुपर्छ । रिक्रियसन तथा रिफ्रेसिङ स्थानको रूपमा विश्वकै ध्यान तानिएको छ, तर तानिनैपर्ने राज्यका निकायको ध्यान भने अझै तानिएको छैन ।

तामाङ र प्रजा (चेपाङ)को बाहुल्य रहेको कान्दामा स्थापित आधारभूत विद्यालयमा बस्ने, खाने, पढ्ने, खेल्नेलगायतका सुविधा उपलब्ध गराइएको छ । विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गर्ने प्रयासमा गौतमलाई सफलता हात लागिरहेको छैन, किनकि सरकारी नियमअनुसार विद्यार्थी सङ्ख्या पुगेको छैन । विषयगत शिक्षक पुग्नुपर्ने, विद्यार्थी सङ्ख्या पुग्नुपर्नेजस्ता क्राइटेरियाले बाधा पुऱ्याएको छ । सडकले जोड्न सके विद्यार्थी पनि आकर्षित हुने र अन्य हिसाबले पनि विकासले फड्को मार्ने निश्चित छ, तर ‘त्यहाँ सडक पुऱ्याउँदा आफूलाई कति नै भोट प्राप्त हुने हो र ?!’ भन्ने सोचले ग्रस्त छन् सरोकारवाला जनप्रतिनिधिहरू ।

नेपाल पहाडी र दुर्गम भेक हो, त्यसलाई नेपाल नै नमान्ने त ? नेताहरू स्वीट्जरल्यान्ड पुगेका छन्, देखे–बुझेका छन्, नेपाल त उस्तै देश रहेछ पनि भन्छन्, तर ठाउँमा पुगेर पनि विकासको पहलकदमी लिँदैनन् । एउटा सिटामोल चाहिए ५ घन्टा पैदल हिँडेर पुग्नुपर्ने अवस्था छ र पनि नेताहरू सोच्दैनन् । हाल ‘एचएफएन’को सहयोगमा लक्ष्मी प्रतिष्ठानले कान्दामा नै ‘कान्दा हेल्थ क्लिनिक’ चलाएको छ, जो एक सुखद पक्ष हो ।

यसरी पहाडी तथा दुर्गम भेगलाई उपेक्षा गरेर कहिले अघि बढ्छ देश ? कसरी हासिल हुन्छ समृद्धि ? गुनासो गर्छन् विष्णु । कान्दामा पर्यटनको सम्भावना अत्यधिक रहेकोले त्यहाँ पुग्ने सडक निर्माणको निम्ति खर्च हुने रकम पाँच वर्षमै ट्याक्समार्फत राज्यलाई फर्काइदिने ग्यारेन्टी गर्छन् उनी । उनको यो गम्भीर र दृढ आवाज सुनेर पनि नेताहरूले नसुनेजस्तो गरिरहेका छन्, किन होला ? यसको जवाफचाहिँ उनले पाउन सकेका छैनन् ।

ठूलो पारिवारिक वियोग–वेदना बिर्सिएर सामाजिक कार्यमा होमिएका विष्णु गौतम भन्छन्– ‘धेरै माथि ठोक्किएर थचारिएको पात्र हुँ, हार मानेको छैन र मान्ने पक्षमा पनि छैन । व्यक्तिगत लाभ लिने स्वार्थ नभएको कारण कुनै पक्षविशेषको हुन चाहन्न, सबैको निम्ति काम गर्ने हो, यथाशक्य गरिरहनेछु । राज्यले सुनिदिए, देखिदिए पिछडिएका नेपाली भूभाग र पछि परेका नेपाली बालबालिकाको कल्याण हुने थियो ।’

प्रस्तुति : जेपी त्रिपाठी